Connect with us
Kapilvast Forest

राम्रो विद्यालय ! कस्तो राम्रो ? कसरी राम्रो ?

२०७६, १७ असार मंगलवारमा प्रकाशित

राम्रो विद्यालय ! निकै नै जटिल छ, राम्रो छुट्याउन । भवन राम्रो, रङ्रोगन, चिटिक्क परेको बगैँचा, खाजा घर, पुस्तकालय, कम्प्युटर ल्याब, जताततै सिसी टीभी, ठूलो खेलमैदान, पौडी पोखरी, हरेक कक्षामा प्रोजेक्टर, वातानुकूलित कक्षाकोठा यस्तै यस्तै धेरै होलान् । विद्यालयका भित्ताभरि विगतमा विद्यार्थीले ल्याएको नतिजा प्रतिशत र जीपीएमा पिन टाँसिएको होला । एमफिल वा पीएचडी गरेका विभागीय प्रमुख अन्य शिक्षकका पनि शैक्षिक सफलताका विवरण पनि होलान् कतै ।
अभिभावकलाई विश्वस्त तुल्याउन कडा अनुशासनका कुरा पनि होलान् । विद्यार्थीलाई विश्वस्त तुल्याउन विदेश गएकाहरूको विवरण पनि होला कतै ! अब्बल गुणस्तर छ भन्ने दर्शाउन त अङ्ग्रेजी शब्दकोषमा भएका सबै शब्दको प्रयोग भएकै होला । सञ्चालक, व्यवस्थापक, प्रिन्सिपल, शिक्षक सबैले निकै मथिङ्गल घुमाएकै हुन्छन्, गुणस्तरका विकाउ नारा बनाउन । जसले हामीलाई भुलभुलैयामा पार्छ ।
हालै मात्र एसईईको नतिजा प्रकाशन भएको छ । हजारौँ विद्यार्थी यतिखेर एसईईको नतिजा हातमा बोकेर कक्षा ११ मा भर्ना हुन विद्यालयको खोजमा छन् र सँगसँगै उनीहरू किशोरावस्थामा प्रवेश गर्दैछन् । एउटा विद्यार्थी जो, मानव विकासको एउटा अत्यन्त अस्थिर अवस्थामा विद्यालयको खोजी गर्दैछ । उसको सबैभन्दा बढी चासो र जिज्ञासा विद्यालयका नियममा छ । अर्थात् विद्यार्थीले अलिक स्वतन्त्रता खोज्दैछ र अभिभावकको नियन्त्रणबाट अलिक पर जान खोज्दैछ तर अभिभावक भने उनीहरू बिग्रने हुन् कि भनेर चिन्तामा छन् । अनि अलि कडा अनुशासन भएको विद्यालयमा भर्ना गर्न पाए हुन्थ्यो भनेर सोच्दै पनि हुन सक्छौँ । विद्यार्थी कडा अनुशासन मन नपराउने भएको छ, अभिभावक कडा अनुशासन चाहिरहेका छौँ ।
आफूले आफैँलाई राम्रो भन्दै विज्ञापन गरिरहेका विद्यालय ! आफ्ना छोराछोरीलाई ठूलो मान्छे बनाउने सपना देखिरहेका अभिभावक, रेडियो, टेलिभिजन र पत्रपत्रिकामा उत्कृष्ट विद्यालयका विज्ञापन । यस्तै धेरै कुराले अलमलिँदा अलमलिँदै एउटा विद्यालय त छान्नु नै छ । कस्तो विद्यालय छान्ने होला त ? केही कुरा
क) विद्यालय छान्नु अगाडि कम्तीमा आफूले पढ्ने विषय त छान्नुपर्छ । विषय नछानी विद्यालय खोजी नगरौँ । सहरमा अधिकांश विद्यालय विषयअनुसार पनि राम्रो वा नराम्रो रूपमा रहेका छन् । कतिपय विद्यालय व्यवस्थापनका विषयका लागि राम्रा छन् भने कतिपय विज्ञान विषयका लागि ।
ख) विद्यालय छान्दा आफू बस्ने ठाउँबाट धेरै टाढाको दूरीमा नछानौँ । सम्भव भए त विद्यालय आउन जान गाडी चढ्न नपरोस् । चढ्नै पर्ने भए पनि आधा घण्टाभन्दा बढी नलागोस् । गाडीमा हिँड्दा लाग्ने समयलाई पढाइमा उपयोग गर्न सकिन्छ । धूलो धूवाँले गाडीमा यात्रा गर्दा थकाइ लाग्छ र विद्यालयमा अल्छी लाग्ने पनि हुन्छ । मध्यसहरमा हो हल्ला हुने, गाडीको हर्नको आवाज कक्षाकोठामा आउने नभएकै जाति । अक्सिजन समेत पर्याप्त नहुने गरी बनाइएका बन्द कोठा पनि नरोजौँ । दुईवटा फ्याल, दोहोरो हावाको आवतजावत गर्ने कक्षाकोठा वातानुकूलित कक्षाकोठाभन्दा उपयुक्त हुन्छ । एउटा कक्षाकोठामा कति जना विद्यार्थी राखिन्छ भन्ने अझ महìवपूर्ण हुन्छ । धेरै विद्यार्थी हुँदा न त शिक्षकले सबैलाई ध्यान दिन पाउँछन् न त विद्यार्थीले नबुझेको कुरा खुलस्त सोध्न पाइन्छ । हामी त समूह कार्य गराएर पढाउँछौँ भनेर गफ दिने विद्यालयको कक्षामा यताउति चलाउन नमिल्ने साँघुरा डेस्क बेञ्च राखेर ६० जनालाई पढाइन्छ । विद्यालय छान्दा बाहिर मात्र होइन, पठनपाठन हुने कक्षाकोठा पनि हेर्नुस् ।
ग) विद्यालय छान्दा तपाईंको आफ्नो स्वभाव अनुसार पनि हुनसक्छ । तपाईं आफू कसैले पढ नभने पनि पढ्नुहुन्छ वा कसैले पढ भनेपछि मात्र पढ्नुहुन्छ । अथवा तपाईं आफैँ स्वयं उत्प्रेरित हुन सक्नुहुन्छ वा बाह्य उत्प्रेरणाको खाँचो पर्छ । यसले पनि विद्यालय छनोटमा फरक पार्छ । विद्यालय तपाईंको आफ्नो क्षमतालाई बढाउने स्थानका रूपमा हुनुपर्छ । हरेक शिक्षकले तपाईंलाई व्यक्तिगत रूपमा चिन्ने अवस्था आउने हुनुपर्छ । किशोरावस्थाका विद्यार्थीमा शिक्षकले गर्ने व्यक्तिगत व्यवहारले निकै ठूलो महìव राख्छ ।
घ) विद्यालयको वातावरण आफ्नो रुचि अनुसार खोजौँ । बास्केटबल खेलमा रुचि नभए विद्यालयको बास्केटबलको खेल मैदानसँग सम्बन्ध भएन । कम्प्युटर विषय पढ्ने होइन भने ठूलो कम्प्युटर ल्याब भएको विद्यालय पनि चाहिएन । विद्यालयमा तपाईंको रुचिअनुसारका केके क्रियाकलाप हुन्छन् वा गराइन्छन् भन्ने चासो दिनुस् । अघिल्लो वर्ष पढेका कसैसँग
सोध्न पनि सकिन्छ । विद्यालयको सम्पूर्ण अवस्थाको बारेमा जानकारी लिने सबैभन्दा राम्रो उपाय अगाडिका विद्यार्थी हुन् त्यसैले सम्भव भएसम्म उनीहरूसँग बुझ्नु राम्रो हुन्छ ।
ङ) एकदमै ध्यान दिनुपर्ने पक्ष के हो भने महँगो विद्यालय सधैँ राम्रो हुँदैन र धेरै पढेका शिक्षक मात्र राम्रा नहुन सक्छन् । अनुभवीको रूपमा राखिएका उमेरले पाका शिक्षकभन्दा अनुभव कमै भए पनि २५, ३० वर्षका शिक्षकहरू नै विद्यार्थीका लागि राम्रा हुन्छन् तर यसो भनेर अनुभवी, परिपक्व शिक्षक हुनुहुँदैन भन्ने होइन, उनीहरूका विचार प्रेरणाका स्रोत र मार्गदर्शन बन्न सक्छन् । अनुभवी र नयाँ दुवै खाले शिक्षक भएको विद्यालय राम्रो होला । विचार गर्नुस्, जसले बाहिर धेरै सिँगारपटार गरेको छ, भत्रै त्यस्तै राम्रो नहुन पनि सक्छ । अति राम्रो हुनु पनि राम्रो मानिँदैन र जुन सधैँ एकनास हुँदैन । त्यसैले अति राम्रो भनेर खोजी नगरौँ । विद्यालयमा राम्रो नतिजालाई जताततै टाँसिन्छ तर कमजोर नतिजा ल्याएका विद्यार्थीको विवरण सधैँ लुकाइन्छ । परीक्षा दिएका सबैको नतिजा देखाइएको छ भने विद्यालयले धेरै झुटको खेती गरेको छैन कि भन्ने बुझ्न सकिन्छ । विद्यालय रोज्दा अभिभावकको आयस्रोत पनि ध्यानमा राखौँ । हरेक अभिभावक सकेसम्म आफ्नो बच्चालाई राम्रैमा पढाउन चाहन्छन् तर उनीहरूका बाध्यता पनि बुझौँ, त्यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर कुनै दिन पर्छ आफूलाई नै पर्ने त हो ।
च) राम्रो पुस्तकालय एउटा आधार हो । तपाईं विद्यालय हेर्न जाँदा एक÷एक पुस्तक त देखाइँदैन तर ठूलो पुस्तकालय देखाइन्छ तर त्यो ठूलो पुस्तकालयमा तपाईंका लागि काम लाग्ने र विषयका सन्दर्भ सामग्री ज्यादै कम पनि हुन सक्छन् । हरेक दिन विद्यालयमा पुस्तकालयका लागि समय छुट्याइएको छ छैन् भन्ने पनि ध्यान दिनुस् । विद्यालय जाँदा पुस्तकालय र कक्षासँगै सुरु हुने कक्षा सकिँदा पुस्तकालय पनि बन्द हुने अवस्था धेरै विद्यालयमा देखिन्छ । विद्यालयमा तपाईंले गुनासो राख्नु पाउनुपर्छ । तपाईंले राखेका गुनासा सुनुवाइ पनि होस् । गुनासो पेटिकामा गुनासो राख्न पाइयोस् । छात्राहरूका गुनासा सुन्न कम्तीमा महिला शिक्षकको व्यवस्था होस् ।
छ) विद्यालयमा कडा अनुशासनको पनि जरुरी छैन तर त्यसो भनेर कति अनुशासन नभएको पनि होइन । विद्यालयले तपाईंको व्यवहार र क्रियाकलापको निगरानी गरोस् । साँच्चीकै तपाईं कतै गलत बाटोतिर गइरहनुभएको छ भने सतर्क बनाओस् तर कुनै दिन १० मिनेट ढिलो पुग्दा गेट लागेको नहोस् । कक्षामा कुनै बेला ध्यान नदिएको बहानामा शिक्षकले बाहिर ननिकालोस् र तपाईंले रहर लागेर पालेको कपाल प्रहरीले अपराधी समाएजस्तै समाएर मुण्डन नगरोस् तर तपाईं सधैँ १० मिनेट ढिलो पुग्नुभयो भने विद्यालयले खोजी पनि गरोस् र तपाईंलाई सचेत पनि बनाओस् । विद्यालयमा यान्त्रिक व्यवहारभन्दा मानवीय व्यवहार बढी जोड दिइएको होस् ।
ज) पढाइको नाममा प्रत्येक १५ दिनमा परीक्षा नहोस् तर तपाईंले नजानेको नबुझेको कुरा सोध्न पाइयोस् । जसरी ३।४ वर्षको बच्चाले अभिभावकलाई यो किन भयो र यो कसरी भयो भनेर प्रश्नै प्रश्नले हैरान पार्छ, त्यसैगरी आफूले नबुझ्दासम्म शिक्षकलाई हैरान गर्न पाइयोस् र शिक्षक पनि तपाईंलाई नसिकाउँदासम्म सन्तुष्ट नहोस् । हरेक १५ दिनमा कुनै न कुनै अतिरिक्त क्रियाकलाप होस् । खेल मन पराउनेका लागि खेल होस् । गीत मन पराउनेका लागि गीत गाउने ठाउँ होस्, नाच्न मन पराउनेले नाच्न पाइयोस् । कथा लेख्नेले पनि लेख्न पाओस्, गजल लेख्नेले गजल सुनाउन पाओस् । तपाईंको व्यक्तित्व विकासका सबै ढोकाहरू खुला भएको होस् । हामी सबैले आत्मसम्मान र आफ्नो अस्तित्वको चाहना गर्दछौँ । विद्यालयले सबैलाई कुनै न कुनै अवसर उपलब्ध गराओस् जहाँ हरेकले आफूलाई विकास र प्रस्तुत गर्न पाउन् ।
झ) कक्षा चलेको बेला तपाईंलाई फेसबुक वा इन्स्टाग्राम चलाउन नदेओस् तर तपाईंको फेसबुक आइडी र पासवर्ड नै मागेर तपाईंका फेसबुक क्रियाकलापको निगरानी नहोस् । विद्यालयमा इन्टरनेट चलाउने कुनै खास समय र स्थान तोकिएको होस् । फेसबुकमा विद्यालयका सूचना, कार्यतालिका हेर्न पाइयोस् । विद्यालयमा भएका साथीहरूसँगको सम्बन्ध र मित्रताले पनि तपाईंको व्यक्तित्व विकास र अन्य क्रियाकलापमा प्रभाव पार्छ ।
ञ) विद्यालयले तपाईंलाई सिद्धान्तको ज्ञान मात्र होइन, आत्मविश्वासी बन्न सिकाओस् । समस्या समाधान गर्न सिकाओस् । व्यवस्थापन पढाउने विद्यालयले उद्यमशीलता पनि सिकाओस्, व्यापार पनि सिकाओस् र सँगै व्यापार गर्दा कर तिर्नुपर्छ भन्ने पनि सिकाओस् । उपभोक्ताको स्वास्थ्य र उपभोक्ताको अधिकारप्रति सचेत र जवाफदेही हुनुपर्छ भन्ने पनि सिकाओस् । विद्यालयले तपाईंको उमेर अनुसार स्वाभाविक रूपमा देखापर्ने क्रियाकलापलाई स्वीकार गरोस् । विद्यालयका शिक्षक आवश्यकता अनुसार तपाईंका लागि साथी वा अभिभावक वा शिक्षक बन्न सकुन् । अतिथिका रूपमा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका, सङ्घर्षशील व्यक्तित्वहरू ल्याइयोस् । उनीहरूका कुरा सुनाइयोस् । किताबको ज्ञानभन्दा जीवनको ज्ञान धेरै महìवपूर्ण हुन्छ भन्ने पनि बुझ्न पाइयोस् ।
ट) तपाईंले पढ्ने विद्यालय सबैभन्दा उत्कृष्ट हुनुपर्छ र तपाईं आफूले पनि सबैलाई जित्नैपर्छ भन्ने भावना पनि नराखौँ । सधैँ र सबै विषय क्षेत्रमा उत्कृष्ट हुन सकिँदैन, उत्कृष्ट हुनुपर्दैन राम्रो मात्र भए हुन्छ तर आत्मविश्वास महìवपूर्ण हो भन्ने सम्झिनुपर्छ । मार्कसिटमा आउने अङ्क वा ग्रेड मात्र जिन्दगीको तालाचाबी होइन भन्ने बुझौँ । पढाइ सबथोक त होइन तर महìवपूर्ण एकथोक हो । राम्रो खेलाडी, राम्रो गायक, राम्रो सङ्गीतकार, गीतकार, कथाकार बन्न पनि सकिन्छ । जे बन्ने हो राम्रो बन्ने हो भनेर सिकौँ । शिक्षक बने पनि राम्रो शिक्षक बनौँ, डाक्टर बनाए पनि राम्रो डाक्टर बनौँ र उद्यमी बने पनि राम्रो उद्यमी बनौँ ।
ठ) राम्रो हुनलाई राम्रै विद्यालय मात्र चाहिँदैन । प्रोत्साहन र प्रेरणाले पनि पुग्छ । राम्रो वातावरण आवश्यक पर्छ । त्यो वातावरण भौतिकले मात्र हुँदैन, मनोवैज्ञानिक वातावरण पनि आवश्यक पर्छ । विद्यालयको कम्पाउन्ड सफा नभए पनि हुन्छ, तर खाजा घर भने सफा हुनैपर्छ । असल शिक्षाका लागि राम्रो भौतिक वातावरण भन्दा शैक्षिक वातावरण आवश्यक हुन्छ ।
जसरी एउटै माटोमा फलेको कागती अमिलो हुन्छ, त्यही माटोमा फलेको सुन्तला गुलियो हुन्छ र करेला तितो हुन्छ । यी हरेक वनस्पतिका गुण फरक हुने भएकाले स्वाद फरक भएजस्तै हामी हरेक व्यक्ति फरक छौँ । हाम्रो आफ्नो फरक गुण र विशेषता छ । विद्यालयले हामीसँग भएको फरकफरक गुणको पहिचान गरिदेओस् र त्यो विकास गर्ने प्रशस्त अवसर देओस् । तपाईंले अहिले पढ्ने विद्यालय छान्नु भनेको तपाईंको भविष्यको रेखा कोर्नु हो । विद्यालयले उपलब्ध गराउने वातावरणले तपाईंको भावी जीवनको वातावरण निर्धारण गर्छ । भौतिक सुविधामा मात्र होइन, शैक्षिक वातावरणमा ध्यान दिएको राम्रो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu