Connect with us
Kapilvast Forest

कर्मचारीलाई १५ दिन बढी फाजिलमा राख्न नपाइने

२०७६, १८ असार बुधबारमा प्रकाशित

१८ असार, काठमाडौं । निजामती कर्मचारीलाई अतिरिक्त समूह (फाजिल)मा १५ दिन बढी राख्न नपाइने भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवासम्बन्धी विधेयकमा निजामती कर्मचारीलाई जिम्मेवारी नदिई पन्ध्र दिन भन्दा बढी राख्न नपाइने व्यवस्था राख्ने सहमति जुटाएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकमा फाजिलमा ६० दिनसम्म राख्न सकिने प्रसताव गरेको थियो । सांसदहरुले एक महिना, १५ दिन, ७ दिनमा झानुपर्ने संशोधन हालेका थिए । बुधबार भएको छलफलमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले १५ दिनभन्दा बढी फाजिलमा राख्न नहुने व्यवस्था गर्न सकिने बताएपछि समितिले त्यही अनुसार निर्णय गरेको हो ।

‘हाजिर गरेर घाम ताप्न दिइन्न’

मन्त्री पण्डितले आफू पहिलोपटक सामान्य प्रशासनमन्त्री हुँदा साढे चार सय निजामती कर्मचारी फाजिलमा रहेको सुनाए । ‘मैले त्यो पुरै रित्याइदिन भनेँ’, उनले भने, ‘अतिरिक्त भनेको हाजिर गरेर घाम ताप्ने ? यसमा म आफैं संवेदनशील छु । कहिलेकाहीँ केही ब्यवहारिक समस्या पनि पर्छ तर, अब पहिले जस्तो हुन दिइन्न ।’

कर्मचारीलाई पन्ध्र दिन भन्दा बढी जिम्मेवारी नदिई राखेमा सम्बन्धित कर्मचारीलाई विभागीय कारबाही हुनेछ । ‘कुनै निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुनेछ’ विधेयकको दफा १७ को उपदफा ३ मा उल्लेख गरिएको छ । विधेयकको यो दफा परिमार्जनसहित पास भएको छ ।

बैठकमा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाले कर्मचारीलाई काजमा खटाउन सकिने व्यवस्थालाई भने यो व्यवस्था (कर्मचारीलाई १५ दिनभन्दा बढी फाजिलमा राख्न नपाइने) ले प्रभावित नपार्ने प्रष्ट्याए ।

एक बर्ष परीक्षणकाल

निजामती सेवामा नियुक्ति गर्दा कर्मचारीलाई एक बर्ष परीक्षणकालका रुपमा राखिनेछ । ‘निजामती सेवाको पदमा नियुक्ति एक बर्ष परीक्षणकालमा रहने गरी गरिनेछ’ विधेयकको दफा १८ को उपदफा १ मा उल्लेख छ ।

परीक्षणकालमा काम सन्तोषजनक काम गर्न नसके त्यस्ता कर्मचारीको नियुक्ति बदर हुन सक्छ ।

परीक्षणकालमा रहेका कर्मचारीहरु विगतमा आपराधिक गतिविधिमा संलग्न भएको, सजाय पाएर फरार रहेको जस्ता विषयमा विषयमा अध्ययन गर्नुपर्ने र त्यस्तो पाइए नियुक्ति बदर हुने भनेर राख्नुपर्ने प्रस्ताव नेकपाका सांसद झपट रावलले गरेका थिए ।

तर, मन्त्रालयका सचिव कोइरालाले विगतमा गलत काम गरेको र ढाँटेर जागिरमा प्रवेश गरेको पाइए स्वतः कारबाही हुने भएकाले यहि दफामा राख्न आवश्यक नरहेको बताए । परिक्षणकालमा नियुक्ति बदर नभएमा त्यस्ता कर्मचारीको नियुक्ति स्वतः सदर भएको मानिने छ भने एक पटक परीक्षणकाल पुरा गरेका कर्मचारीलाई पुनः परीक्षणकालमा नराखिने विधेयकमा उल्लेख छ ।

सांसदहरुले निजामती सेवामा रहेका कर्मचारीले खुला प्रतिस्प्रधामार्फत अर्को पदमा जिम्मेवारी पाएको खण्डमा पुनः परीक्षणकाल राख्नुपर्ने मत पनि राखेका थिए ।

तर, एक पटक परीक्षणकाल पुरा गरिसकेपछि निजामती कर्मचारी निरन्तर कानुनको दायरामा रहने भएकाले पुनः परीक्षणकाल आवश्यक नरहेको मन्त्रालयका सचिव कोइरालाले बताए । सचिव कोइरालाको भनाइमा समिति सहमत भयो र सोही अनुसार निर्णय गर ।

मुख्य सचिवको पदावधिमा मत बाझियो

मुख्य सचिव र न्याय सेवाको मुख्य रजिष्टारको पदावधि ३ बर्ष, विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदको पदावधि ५ बर्षको हुने प्रस्तावित व्यवस्था छ ।

यसबारे भने सांसदहरुको मत बाझियो ।

नेकपाका सांसदहरु जनार्दन शर्मा, पम्फा भुसाल, झपट रावल, महेश्वरजंग गहतराज, नवराज सिलवालले मुख्य सचिवको पदावधि २ बर्ष राख्नुपर्ने र कार्यसम्पादन मुल्याङ्कनका आधारमा एक बर्ष थप्न सकिने व्यवस्था गर्नुपर्ने बताए । कांग्रेस सांसद दिलेन्द्र बडू र मिना पाण्डेले त्यसो गर्दा कर्मचारीले ढुक्कले काम गर्न नसक्ने तर्क गर्दै प्रस्तावित व्यवस्था नै उचित रहेको बताए ।

जवाफमा समान्य प्रशासनमन्त्री पण्डितले गलत काम गरेको वा कार्यसम्पादन उचित नरहेको अवस्थामा कारबाही गर्ने अन्य व्यवस्था रहेको भन्दै प्रस्तावित व्यवस्था उचित रहेको बताए । मन्त्रालयका सचिव कोइरालाले कार्यसम्पादन मुल्याङ्कनका आधारमा पदावधि थप्ने व्यवस्था विगतमा अभ्यास गरिसकेको र त्यसले राम्रो प्रतिफल दिन नसकेको उल्लेख गरे । यसबारे अर्को बैठकमा थप छलफल हुनेछ ।

Credit : रघुनाथ बजगाईं रासस

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu