Connect with us
Kapilvast Forest

आत्मरक्षाका लागि किशोरीहरुमा सीप हस्तान्तरण

२०७६, २१ असार शनिबारमा प्रकाशित

कपिलवस्तु असार २१,
विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा स्वयं गर्नसक्ने सीप हस्तान्तरण गरिएको छ । पछिल्लो समय किशोरीहरु विभिन्न हिंसामा परेको घटनाहरु बढेको भन्दै स्वयं प्रतिकार गरी ज्यान जोगाउन सक्ने सीप हस्तान्तरण गरिएको हो । कपिलवस्तुको शिवराज नगरपालिकास्थित विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरुलाई आत्मरक्षा तालिम संचालन गरिएको छ । बुद्धशक्ति कराँते डोजो चन्द्रौटाले विद्यालयमा पुगी किशोरीहरुलाई आत्मरक्षा गर्नसक्ने सीप हस्तान्तरण गर्ने अभियान संचालन गरेको अध्यक्ष रामु सुनारले जानकारी दिए ।

समाज र विद्यालयमा समेत पछिल्लो समय किशोरीहरु असुरक्षित हुन थालेपछि आफ्नो सुरक्षा आफैं गर्नसक्ने सीप सिकाएको सुनारले बताए । अहिलेसम्म शिवराजका विभिन्न विद्यालयमा गरी दुई हजार बढीलाई सीप सिकाइसकेको उनले बताए । पहिलो चरणमा किशोरीमा आत्मबल बढाउन र अनुशासित बनाउन सामान्य सीप सिकाएको सुनारको भनाई छ । आगामी दिनमा नगरपालिकासँग समन्वय गरी एडभान्स कोर्स प्रदान गर्ने सुनारले जनाए ।

जिल्लाको शिवराज १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा एक हप्ते आत्मरक्षा तालिम समापन समारोहमा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले आफ्नो सुरक्षा र आत्मअनुशासनका लागि किशोरीमा यस किसिमको तालिम आवश्यक रहेको बताइन् । तालिमबाट सिकेको ज्ञान सीपले छात्राहरुमा आत्मविश्वास बढ्नुका साथै समाज भइरहेका लैंगिक हिंसा र विकृतिको अन्त्य हुने विश्वास व्यक्त गरिन् । उनले नगर भित्रका हरेक विद्यालयमा यस्ता तालिम संचालन गर्न आवश्यक रहेको बताइन् ।

हरेक किशोरीहरुमा आत्मरक्षा सम्बन्धी सीप आवश्यकता महसुस गर्दै आर्थिक वर्ष २०७६।०७७मा शिवराजले दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको उपप्रमुख थारुले उद्घोष गरिन् । किशोरीहरुमा आइपरेका हरेक समस्यासँग जुध्नसक्ने सीपका लागि अब एड्भान्स किसिमको तालिम संचालन गर्नुपर्ने उनले बताइन् । यसका लागि बुद्धशक्ति कराँते डोजोलाई नगरपालिकासँग समन्वय गर्न समेत उपप्रमुख थारुले आग्रह गरिन् । तालिम निकै जोखिमपूर्ण भएकाले सेप्mटीका सामग्रीका लागि समेत आवश्यक पहल गर्ने उनले प्रतिबद्धता जाहेर गरिन् । अनुशासन, आत्मविश्वास, गतिशिलता र विकासका लागि खेलकूदको आवश्यकता रहेको औल्याउँदै उपप्रमुख थारुले आगामी वर्ष किशोरीलाई अगाडि बढाउन उपमेयर कपको योजना ल्याएको जनाइन् । आउँदो मेयर कपमा समेत कराँते खेललाई समावेश गरिने उद्घोष गरिन् ।

अर्को प्रसंगमा उपप्रमुख थारुले सरस्वती स्कूललाई प्रविधिमैत्री विद्यालय बनाई नगरक्षेत्रकै नमूना विद्यालय बनाउन विद्यालय परिवारलाई आग्रह गरिन् । यसका लागि आफूले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् ।

कार्यक्रममा व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले छात्राहरुका लागि आत्मरक्षा तालिम निकै फलदायी रहेको बताए । “विद्यार्थीलाई जस्तो ज्ञान दियो त्यस्तै सिक्छन्, त्यसैले असल र व्यवहारिक ज्ञान हस्तान्तरण गर्नुपर्छ ।” – पोखरेलले सहजकर्ताहरुलाई आग्रह गरे । पछिल्लो समय किशोरहरु कूलत र विकृतितर्फ लागेको औल्याउँदै पोखरेलले यसबारे समेत सबैको ध्यान जानुपर्ने बताए । आफ्नो सुरक्षा गर्दै आफ्नो गाउँ, समाज र देशको सुरक्षार्थ किशोरीहरु खेलतर्फ लाग्नुपर्ने व्यापार संघ अध्यक्ष पोखरेलले जिकिर गरे ।

कार्यक्रममा प्रशिक्षार्थी शान्ति सुनारले आत्मरक्षा तालिमले आफूहरुमा आत्मबल बढेको बताइन् । छोटो समयमा आफूहरुमा प्रत्यक्ष परिवर्तन आएको जनाउँदै उनले आइपरेका समस्याबाट बच्ने उपाय सिकेको जनाइन् । आगामी दिनमा यस किसिमको तालिमलाई निरन्तरता दिनुपर्ने माग गरिन् ।

कार्यक्रममा स्वागत गर्दै विद्यालयकी स्वास्थ्य फोकल शिक्षक शान्ति कुमारी के.सी.ले तालिमबाट विद्यार्थीको मनोबल बढेको बताइन् । विद्यार्थीहरुको सीप क्षमता अभिवृद्धिका लागि आगामी दिनमा लामो समयको तालिम संचालन गर्नुपर्ने के.सी.ले माग गरिन् । बुद्धशक्ति कराँते डोजोले शिवराजका आधा दर्जन बढी विद्यालयमा तालिम सम्पन्न गरिसकेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu