Connect with us
Kapilvast Forest

‘मार्क्सवाद तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि हो’ –डा. विजयकुमार पौडेल

२०७६, ३ भाद्र मंगलवारमा प्रकाशित

मार्क्सवादी अर्थशास्त्रका विज्ञ डा. विजयकुमार पौडेलले सामान्य अर्थमा मार्क्सवादलाई तथ्यका आधारमा सत्य पत्ता लगाउने वैज्ञानिक विधि भएकाे बताउनु भएकाे छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित ‘मार्क्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन’मा कार्यपत्र प्रस्तुत गर्दै डा. पौडेलले द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद समाज अध्ययन गर्ने प्रभावकारी वैज्ञानिक विधि भएको औंल्याउनु भयो ।

कार्यपत्रमा डा. पौडेलले खोज र अनुसन्धानको विधि वैज्ञानिक छ भने फरक समाजमा फरक–फरक व्यक्तिले गरेको शोधबाट समान नतिजा र निष्कर्ष निस्कने बताउनु भयो । एंगेल्सले लेख्नुभएको परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति पुस्तकबारे जानकारी नै नभएका हेनरी लेभिस मोर्गनले ४० वर्षसम्म आदिवासी कविलाको अध्ययन गरेका थिए । मोर्गनले गरेको सोधको नतिजा र निष्कर्ष एंगेल्सद्वारा लिखित पुस्तकसँग मेल खान्छ ।

त्यसैगरी भारतीय शोधकर्ता विश्वनाथ राजवाडेले गर्नुभएको बिवाह सम्बन्धि अध्ययनको नतिजा पनि एंगेल्सको पुस्तकसँग मेल खान्छ । यद्यपि शोधकर्ता एंगेल्स र राजवाडेले अध्ययन गरेको समाज पूर्व र पश्चिमको दुई भिन्न संस्कृति अनुशरण गर्ने समाज हुन् ।

अर्थतन्त्र र राजनीतिमा आउने परिवर्तनले तत्कालै नतिजा देखाउँछ र चेतनाबाट पनि प्रभाव कम हुँदै जान्छ । तर सांस्कृति लामो समयसीमासम्म मानवीय चेतनामा रहिरहन्छ –डा. पौडेलले कार्यपत्रमा उल्लेख गर्नुभएको छ । डा. पौडेलले कार्यपत्रमा उत्पादन शक्तिको विकास र उत्पादन सम्बन्धबाटै चेतनास्तरको विकास हुने बताउनु भएको छ । उत्पादन गर्ने शक्ति श्रमजीवी वर्ग हुन् । शोषणमा परेपछि श्रमजीवी वर्गले मुक्तिको लागि संघर्ष गर्छन्, क्रान्ति गर्छन् । त्यहाँबाट समाजवाद र साम्यवाद आउँछ । मार्क्सवादले भनेको कुरा के हो भने कुनै पनि समाजको आधार उत्पादन र आर्थिक प्रणाली हुन्छ । त्यसकै आधारमा समाजको प्रारुप तयार हुन्छ । डा. पौडेलले उदाहरण दिँदै भन्नुभयो, सुकुम्वासी भूमिहीनलाई जग्गा वितरण गर्नु क्रान्तिकारी कदम हो तर जग्गा वितरण गरेर लालपुर्जा दिएको एक मिनेटपछि नै त्यो भूमिहीन सुकुम्वासी सामुहिक प्रणालीमा जान मान्दैन । आफ्नो जग्गा मिसाउन मान्दैन । उसको चेतना प्रतिक्रियावादी बन्छ । निजी सम्पत्तिप्रति समर्पित हुन्छ ।

पूर्वीय दर्शन र मार्क्सवादबीचको तादात्म्य र भिन्नतालाई प्रष्ट पार्न डा. पौडेलले पूर्वीय मान्यता अनुसारको कालखण्डलाई कार्यपत्रमा उल्लेख गर्नुभएको छ । पूर्वीय दर्शनमा उल्लिखित कालखण्ड सत्य, त्रेता, द्वापर र कली युग तथा मार्क्सले भन्नुभएको आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग र पुँजीवादी युगबीचको सामीप्यता र दूरीलाई कार्यपत्रमा विश्लेषण गर्नुभएको छ । पूँजीवादी दार्शनिक तथा अर्थशास्त्रीहरुले पनि मार्क्सको आदिम, दास युग, सामन्तवादी युग र पूँजीवादी युगसँग सहमति र मतैक्यता राख्छन् । तर समाजवाद र साम्यवाद आउँछ भन्ने मार्क्सको प्रक्षेपण अस्वीकार गर्छन् ।

हिन्दू धर्मशास्त्र गीतामा उल्लिखित यज्ञ अग्निमा पकाएको भोजन शुद्ध र महान तर तुलनात्मक रुपमा गृहअग्निमा पकाएको भोजन तुच्छ भनिएको छ । गीताको श्लोकमा रहेको सामूहिकपन र समानताको महिमा डा. पौडेलले प्रष्ट पार्नुभयो । त्यसैगरी बुद्धको ‘संघम शरणम गच्छामी’ पनि सामुहिकपन र समानताप्रति परिलक्षित रहेको डा. पौडेलको तर्क थियो । युद्धबाट शान्तितर्फ जाने कामना र राजतन्त्रको क्रुरताप्रति विरक्तीको दृष्टिकोणबाट बुद्धको त्याग र शिक्षा उपयोगी नै छ । तर समकालीन विष्णुगुप्त चाणक्यले बौद्ध भिक्षु समूहलाई उत्पादनमा संलग्न नभएको भन्दै अल्छी झुण्डको संज्ञा दिएको र मागेर समानता होइन उत्पादनमा भाग लिएर समानता चाहिन्छ भनेको प्रसंग उल्लेख गर्नुभयो ।

मुस्लिम धर्मग्रन्थमा ब्याज खानु अधर्म हो भन्ने उल्लेख छ । रक्सी खानुलाई हराम भनिएको छ तर ब्याज खाने मुस्लिम पनि छन् संसारमा । रक्सीको ब्यापार गर्नेमा मुस्लिम अग्रणी छन् । आर्थिक सम्बन्धको अगाडि धार्मिक कट्टरता समेत काम लाग्दैन । ‘इतिहास र दर्शन पनि उत्पादन सम्बन्धबाटै परिभाषित हुन्छ र मार्क्सवादबाटै बोध हुन्छ ’–डा. पौडेलको कार्यपत्रमा उल्लिखित छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu