Connect with us
Kapilvast Forest

नेपाल–चीन संयुक्त सैन्य अभ्यास अनिश्चित

२०७६, ३० श्रावण बिहीबारमा प्रकाशित

साङ्केतिक तस्वीर

३० साउन, काठमाडौं । चिनियाँ जनमुक्ति सेनासँग नेपाली सेनाले हरेक वर्ष गर्दै आएको संयुक्त सैन्य अभ्यासको तेस्रो संस्करण अनिश्चित भएको छ ।

यसअघि साउन महिनामा संयुक्त अभ्यास हुने बताइए पनि चिनियाँ पक्षले मिति तय नगर्दा संयुक्त सैन्य अभ्यास अनिश्चित बनेको हो ।

नेपाली सेनाको जंगीअड्डाका एक अधिकृतका अनुसार, सैन्य अभ्यासको मिति तय हुनुअगावै सम्बन्धित देशका सैन्य सहचारीसँग छलफल र समन्वय हुने गर्छ ।

तर, यो वर्ष नेपालमा हुने तय भएको ‘सगरमाथा फ्रेण्डसिप’को तेस्रो संस्करणको अभ्यासका लागि छलफल नै भएको छैन । ‘अगस्टमा अभ्यास हुने तय भए पनि अहिलेसम्म कुनै सुरसार देखिँदैन’, एक सैनिक अधिकृतले अनलाइनखबरसँग भने ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले भने सैन्य अभ्यासको तयारी भइरहेको बताए । ‘मिति तय भइनसक्नु भनेकै तयारीकै क्रममा रहनु हो’, उनले अनलाइनखबरसँग भने ।

चिनियाँ सेनासँग ०७४ साल वैशाखदेखि नेपाली सेनाले संयुक्त सैन्य अभ्यास थालेको थियो । नुवाकोटमा भएको पहिलो अभ्यास १० दिनसम्म चलेको थियो भने सहभागीको संख्या सार्वजनिक गरिएको थिएन ।

यद्यपि, २० जनाभन्दा कम चिनियाँ सैनिकले अभ्यास गरेको स्रोत बताउँछ । नेपाली सेनाले विदेशी राष्ट्रसँग गर्दै आएको संयुक्त अभ्यास नेपाल र चीनमा आलोपालो आयोजना हुँदै आएको छ ।

सोहीअनुरुप २०७५ सालमा चीनको सिचुआन राज्यमा ‘सगरमाथा फ्रेण्डसीप’ को दोस्रो संस्करण असोज १ देखि १२ गतेसम्म भएको थियो ।

केपी शर्मा ओली नेतृत्वको सरकार गठन र लगत्तै भएको उनको चीन भ्रमणका कारण दोस्रो संस्करणको अभ्यास ढिला भएको थियो । जसमा १६ जना सैनिक अधिकृत सहभागी भएका थिए ।

के हो सगरमाथा फ्रेण्डसीप ?

विश्वमा सुरक्षा चुनौतिका रुपमा देखिँदै गएको आतंकवादबाट भविष्यमा आउन सक्ने सम्भावित सुरक्षा चुनौतिलाई मध्यनजर गरेर चीनसँग पहिलो पटक संयुक्त अभ्यास गरिएको नेपाली सेनाले जनाएको थियो । त्यसअघि सानो समूहमा हुने अभ्यास हुने भएकाले यसलाई तालिमको रुपमा व्याख्या गरिएको थियो ।

दुवै देशका सेनाको अनुभव आदनप्रदान गर्दै पेशागत दक्षता अभिवृद्धिका लागि अभ्यास महत्वपूर्ण रहेको सैनिक अधिकृत बताउँछन् ।

‘सैनिक अधिकृतबीच साझा क्षमताको विकास, पारस्परिक क्षमता, एकआपसमा भएका ज्ञानको आदनप्रदानका लागि पनि सैन्य अभ्यास महत्वपूर्ण हुन्छ’, सहायक रथी पाण्डे भन्छन् । चीनसँग हुने तालिम प्रति आतंकवाद, ड्रिल र विभिन्न बाधापारको विषयमा केन्द्रित रहेको उनी बताउँछन् ।

सगरमाथा फ्रेण्डसीप संयुक्त अभ्यासमा सहभागी पहिलो टोली ।
दिल्लीको नजर

नेपालले चीनसँग संयक्त अभ्यास थालेदेखि नै भारतले विशेष चासोको रुपमा हेरेको थियो ।

भारतीय मिडियाले आयातमा भारतसँग पूर्णतः निर्भर भएको नेपालले चीनसँग सैन्य सम्बन्ध बढाउनुलाई दिल्लीसँगको निर्भरतालाई कम गर्ने उद्देश्यअनुरुप चालिएको कदम भएको टिप्पणी गरेका थिए ।

भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले पनि त्यसवेला चीनले सैनिक सहायतामा वृद्धि गर्ने घोषणा गरेर नेपाली सेनासँगको सम्बन्ध बढाउँदै गरेको टिप्पणी गरेका थिए ।

उनले संयुक्त अभ्यासलाई नेपालमा बढ्दो चिनियाँ प्रभावको रुपमा अथ्र्याएका थिए । नेपालस्थित चिनियाँ दूतावासले भने नेपाली र चिनियाँ सेनाबीच हुन लागेको सैन्य अभ्यासबारे असम्बन्धित मुलुकले अनावश्यक चासो र टिप्पणी गरेको भन्दै असन्तुष्टि जनाउने गरेको छ ।

नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात भने संयुक्त सैन्य अभ्यास छिमेकी मुलुकसँग कूटनीतिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण बाटो भएको बताउँछन् ।

उनी भन्छन्, ‘दुई देशबीच सैन्य अभ्यास गर्नु भनेको आफ्नो साझा चुनौति, सूचना र ज्ञानको आदान–प्रदान गर्नु हो । ग्लोबल थ्रेटको विषयमा संयुक्तरुपमा कसरी अघि बढ्न सकिन्छ भन्ने पनि हो ।’

अभ्यासको मिति चाहिँ कहिलेकाहीँ तलमाथि हुनसक्ने उनी बताउँछन् । उनी भन्छन्, ‘समग्रमा दुई देशबीच संयुक्त अभ्यास हुनु चाहिँ सकारात्मक कुरा हो ।’

दर्जन बढी संयुक्त अभ्यास

नेपाली सेनाले विभिन्न मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ । भारतसँग सबैभन्दा सहभागी संख्या भएको ‘सूर्य किरण’ अभ्यास गरिँदै आएको छ । दुई हप्तासम्म हुने यो अभ्यास ०६७ सालबाट सुरु भएको हो ।

नेपाली सेनाको जंगल वारफेर शिक्षालयबाट सुरु भएको यो अभ्यास भारतको बरेलीमा सञ्चालन हुन्छ । यो अभ्यास प्रतिविद्रोह, प्रतिआतंकवाद, विपदपछि उद्दार, विष्फोटक पदार्थको डिस्पोजल, मानव अधिकार लगायताको विषयमा केन्द्रीत रहेको सेनाले जनाएको छ ।

अमेरिकासँग ब्यालेन्स नेल, ट्रेक नेल, डिजास्टर रेस्पोन्स लगायतका संयुक्त अभ्यास हुँदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu