Connect with us
Kapilvast Forest

पत्रकार पन्त अमेरिकामा लुम्बिनी र सगरमाथा चिनाउँदै

२०७६, ५ आश्विन आईतवारमा प्रकाशित

 प्रकाश न्यौपाने, भैरहवा ।
रुपन्देहीका पत्रकार चेतन पन्त अहिले पारिवारीक भ्रमणमा अमेरिकामा छन् । उनले त्यहाँका विभिन्न राज्यको अवलोकन भ्रमण गरिरहेका छन् । तर उनी आफूमात्रै घुमेका छैनन्, उनले लुम्बिनीका तस्बिर पनि घुमाइरहेका छन् । पन्तले अमेरिकी नागरिकलाई नेपाल घुम्न निम्तो दिँदै हिँडेका छन् । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिरहेका छन् । त्यहाँका नागरिकलाई विश्व शान्तिका प्रतीक गौतम बुद्धको जीवनीबारे जानकारी दिइरहेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी घुम्न निम्तो दिइरहेका छन् ।

‘जहाँ गए पनि हामी नेपालीले हाम्रो जन्मभूमि बिर्सिन हुँदैन, नेपाललाई माया गरिरहनुपर्छ’ पन्तले टेलिफोनमा भने, ‘सरकारका राम्रा कामलाई टेवा पुग्ने गरी सहयोग गर्नुपर्छ । अहिले प्रदेश ५ सरकारले लुम्बिनी भ्रमण वर्ष २०७६ मनाइरहेको छ । केन्द्र सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारी गरिरहेको छ । यहाँका नागरिकले लुम्बिनीबारे बुझे र भ्रमणमा गए भने सरकारी अभियानलाई थोरै भए पनि साथ हुनेछ । यसैले मैले निजी काममा आए पनि नेपाल र लुम्बिनीलाई चिनाउँदै हिँडेको छु ।’

पन्तले अमेरिकाको कयालिफोरनिया राज्यको फÞेयर फिल्ड शहरको किसान हाटबजारमा लुम्बिनी र नेपाल चिनाएका हुन् । हाटमा किनमेल गर्न आउने त्यहाँका नागरिकलाई लक्षित गरी लुम्बिनी र सगरमाथाबारे जानकारी गराई नेपाल घुम्न अनुरोध गरेको उनले बताए । नेपाल भ्रमण वर्ष २०२० को ब्यानरसहित टेन्ट टाँगेर त्यहाँ उनले नेपालका उत्कृष्ट दुई पर्यटकीय गन्तव्य लुम्बिनी र सगरमाथाको प्रचार गरेका हुन् । ‘हाटमा आएका सयौं अमेरिकी नागरिकले सगरमाथा र लुम्बिनी चिन्न पाए, बुझ्न पाएँ’ उनले भने, मैले उनीहरुलाई नेपालका अन्य गन्तव्य घुम्न अनुरोध गरेको छु ।’

टेन्टमा बसेर चेतनसँगै उनकी धर्मपत्नी गंगा पन्तले नेपालको प्रचार गरेका हुन् । टेन्टमा नेपालबारे बुझ्न आएका केही अमेरिकी नागरिकलाई लुम्बिनी र सगरमाथाको तस्बीर अंकित पोष्टर समेत उपहार दिइएको उनले जनाए । ‘नेपाल घुम्न निमन्त्रणासहित उपहार दिँदा उनीहरु निकै खुशी भए । खुबै चासो दिएर नेपालबारे बुझे, जिज्ञासा राखे र केहीले घुम्न आउने बचन पनि दिए’, पन्तले भने, ‘मेरो प्रयासले एकजना पनि अमेरिकी नेपाल घुमे, मेरा लागि ठूलो उपलब्धी हुनेछ ।’ पन्त नेपाल भ्रमण वर्षका प्रदेश नम्बर ५ बाट सदस्य समेत छन् ।

यसअघि लुम्बिनीबारे आफूले रचेको वृत्तचित्र प्रदर्शन गरी पन्तले अमेरिकी नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर लुम्बिनी उद्यानलाई समेटिएको ‘लुम्बिनी सानो संसार’ नामक वृत्तचित्र बनाएका छन् । वृत्तचित्र अमेरिकाको फेयरफिल्ड शहरमा रहेको थाई बुद्ध बिहार र भियतनाम बुद्ध विहारमा प्रदर्शन गरी त्यहाँ रहेका भिक्षु, स्थानीय नागरिकलाई लुम्बिनीसहित नेपालका पर्यटकीय स्थल घुम्न निम्तो दिएका थिए ।

दुई दशक बढी पत्रकारिता गरेका पन्त लुम्बिनी प्रचारक अभियन्ता हुन् । उनले आफ्नै खर्चमा नेपाली र अंग्रेजी भाषाको वृत्तचित्र बनाएका छन् । वृत्तचित्रमा लुम्बिनीको आध्यात्मिक महत्व, इतिहास, यहाँका मन्दिर, बिहारको आकर्षक झलक देखाइएको छ । पन्तले यसअघि थुप्रै मुलुकको भ्रमण गरी लुम्बिनीको प्रचार गर्दै आएका छन् । आफू अमेरिका रहँदासम्म धेरै शहरमा वृत्तचित्र प्रदर्शन गरी त्यहाँका नागरिकलाई एकपटक भए पनि नेपाल घुम्न निम्तो दिने लक्ष्य लिएको उनले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu