साफ च्याम्पियनसिप बंगलादेशमा हुने
काठमाडौँ । दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता ‘साफ च्याम्पियनसिप’ को अर्को संस्करण सन् २०२० को सेप्टेम्बरमा बंगलादेशमा हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) को क्वालालम्पुर बैठकको निर्णयअनुसार आउने साफ च्याम्पियनसिप बंगलादेशले आयोजना गर्ने भएको हो । पछिल्लो संस्करण (सन् २०१८) मा पनि साफ च्याम्पियनसिप बंगलादेशमा भएको थियो, जहाँ सातपल्टको च्याम्पियन भारतलाई हराएर माल्दिभ्सले उपाधि जितेको थियो ।
सार्क गोल्डकपको रूपमा २६ वर्षअघि सुरु भएको प्रतियोगिता बंगलादेशले चौथोपल्ट आयोजना गर्न लागेको हो । साफमा दक्षिण एसियाली सात देशले प्रतिस्पर्धा गर्नेछन् ।
नेपाली टिम पछिल्लो संस्करणको सेमिफाइनलमा माल्दिभ्सविरुद्ध ३–० ले हारेको थियो । नेपाल साफमा हालसम्म फाइनल पुगेको छैन । महासंघको बैठकले अर्कोपल्टदेखि साफ च्याम्पियनसिप ‘बिजोर वर्ष’ मा सञ्चालन गर्ने निर्णय पनि गर्यो ।
सन् २०२० मा दक्षिण अमेरिकी महादेशीय प्रतियोगिता कोपा अमेरिका र युरोपियन च्याम्पियनजस्ता प्रतिष्ठित प्रतियोगिता पनि हुँदै छन् ।