Connect with us
Kapilvast Forest

अम्ब्रेला स्ट्रिट सञ्चालनमा आउने

२०७६, ४ आश्विन शनिबारमा प्रकाशित

रासस ४ असोज, चितवन ।भरतपुर महानगरपालिका–२२ पटिहानीमा निर्माण भइरहेको ‘अम्ब्रेला स्ट्रिट विथ सनसेट भ्यू भ्रमण वर्ष २०२०’ सँगै सञ्चालनमा आउने भएको छ । एक वर्षअघिबाट थालिएको काम अन्तिम चरणमा पुगेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज भएर बगेको राप्ती नदीको किनारमा रहेको रमणीय स्थलमा वन, वन्यजन्तु र सूर्यास्तको अवलोकनसँगै थारु समुदायको संस्कृतिसँग रमाउनका लागि स्ट्रिट निर्माण गरिएको हो ।

सो स्थानमा छातामुनि बसेर विभिन्न स्थानीय परिकारमा पर्यटक रमाउन पाउने छन् । भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णुराज महतोका अनुसार मुख्य एउटा र सहायक दुई वटा पानीका फोहोरा (फाउन्टेन) जडान गर्न बाँकी रहेको छ ।

यसैगरी छाता र त्यसमाथि रहने फाइबरको छानाका लागि बोलपत्र आह्वान भइसकेको छ । ती कामबाहेक अन्य काम अन्तिम अवस्थामा पुगेको उनले बताए । सो ठाउँको राप्तीतर्फ ३५ मिटर लम्बाइ र १८ मिटर चौडाइका तलमाथि गरी दुई वटा खण्ड रहेका छन् । त्यसको भुँइमा पोख्रेली ढुङ्गा छापिएको छ ।

सोही ठाउँमा राखिने कुर्चीमा बसेर पर्यटकले निकुञ्जको दृश्यावलोकनमा रमाउँदै एकसिङ्गे गैँडासहितका दुलर्भ वन्यजन्तु हेर्न सक्नेछन् । यससँगै बाटोसँग जोडिएको ९० मिटर लामो र १२ मिटर चौडाइ रहेको ठाउँमा कङ्क्रिट टायल बिछ्याइएको छ । सो ठाउँमा ३४० वटा छाता र त्यसमुनि कुर्ची टेबुल रहनेछन् । त्यसमाथि फाइबरको छाना रहनेछ ।

महतोका अनुसार ९० मिटर लामो भागमा चार स्थानमा टापु बनाइएको छ भने बीच भागबाट १६ वटा फलामका बिजुलीका पोल गाडिएको छ । त्यस माथिको खुला तारको सट्टामा प्लाष्टिक बेरिएको तार राखिएको छ । प्रवेशद्वारमा चौकीदार कक्ष, टिकट कक्ष, शौचालय निर्माण गरिएको छ ।

सोही स्थानमा १० वटा फ्रेममा थारुका संस्कृति झल्कने वस्तु राखिएका छन् । काम सम्पन्न गर्न रु चार करोड ५० लाख खर्च हुने अनुमान गरिएको महतोले बताए । सो कामका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु एक करोड निकासा गरिसकेको छ । थप रकमको आश्वासनसमेत रहेको भन्दै उहाँले अपुग रकम महानगरपालिका र वडा कार्यालयले जुटाउने बताए ।

यही डिसेम्बरसम्ममा काम सम्पन्न गरी स्ट्रिट सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए । सो क्षेत्र गत वर्ष सरकारले घोषणा गरेका १०० पर्यटकीय गन्तव्यमध्येको एक हो ।

क्षेत्रीय होटल सङ्घ पश्चिम चितवन कसरा एकाइका संयोजक गणेश पौडेलका अनुसार निकुञ्जको मुख्यालय नजिकै रहेको पटिहानी क्षेत्रमा ठूला होटलको सङ्ख्या बढ्दै गएको छ । जिल्लाको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई चिनिँदै आएको छ । यस क्षेत्रमा ५० वटाभन्दा बढी साना ठूला होटल, रिसोर्ट सञ्चालनमा रहेको उनले बताए ।

विशेष गरी यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुका साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्नसक्ने उन्ले बताए । यसै क्षेत्रमा थारु समुदायको बस्ती रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu