Connect with us
Kapilvast Forest

तिलिचो पुग्दै ३३ केभी लाइन

२०७६, २२ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको ३३ केभी प्रसारण लाइन विश्वको सबै भन्दा बढी उचाइमा रहेको तिलिचो तालको फेदीसम्म पुग्ने भएको छ । हिमाल पारिको जिल्ला मनाङमा प्रयास गरेको २६ वर्षपछि राष्ट्रिय प्रसारण लाइन पुग्न लागेको हो ।

प्राधिकरणले चालू आर्थिक वर्षभित्रै राष्ट्रिय प्रसारण लाइन मनाङको तिलिचो र अन्नपूर्ण पदमार्गको थोराङसम्म नै विस्तार भइसक्ने जनाएको छ । पाल्तेन गुरुङ मन्त्री भएको बेला २०५२ सालमा मनाङमा राष्ट्रिय प्रसारण लाइन लग्न प्रकृया थालिएको हो ।

३३ केभी प्रसारण लाइन अहिले सदरमुकाम चामेसम्म पुगेको छ । तर विद्युत प्रसारण भने गरिएको छैन । चालू आर्थिक वर्षभित्र थोरोङको आधार शिविर, चौरीखर्क र तिलिचो तालको आधार शिविरसम्म प्रसारण लाइन बिस्तार भइसक्ने प्राधिकरणले जानकारी गराएको छ ।

प्राधिकरणका अनुसार मनाङ सदरमुकाम चामेबाट माथिल्लो मनाङ, खाङसारहुंदै तिलिचो आधार शिविरसम्म लाइन पुर्याउन लागि १ करोड १८ लाख ८४ हजार १ सय ४० रुपैयाँ बिनियोजन गरिएको छ । जिल्लाको माथिल्लो भेगस्थित मनाङ, टङ्कीमनाङ हुंदै थोरोङला आधारशिविरसम्मका लागि २ करोड ३५ लाख ५६ हजार ९ सय ३४ रुपेयाँ छुट्याइएको छ । माथिल्लो भेगसम्म लाइन बिस्तारको लागि कूल ३ करोड ५४ लाख ४१ हजार रुपेयाँ लाग्ने अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिनिधिसभा सदस्य कर्मा घलेले लाइन बिस्तार कार्य भइरहेको जानकारी दिँदै चाडै सम्पन्न हुन जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्य घलेका अनुसार प्रसारण लाइनसंग मनाङलाई जोडदा मनाङमा उत्पादन भएका विद्युतलाई अन्यत्र बेच्न सकिने र आवश्यक पर्दा खरिद गर्न पनि सकिने बताउनु भयो । त्यसका साथै हाल सञ्चालनमा रहेका विद्युतगृहमा खराबी आउंदा पनि मनाङका जनता अध्यारोमा बस्नु नपर्ने उहाँको भनाई छ ।

पूर्व मन्त्री गुरुङले प्रसारण लाइन निमार्ण थालनीदेखि अहिलेसम्म त्यसलाई निरन्तर प्रयास गर्दै आउनुभएको छ । पूर्वमन्त्री गुरुङले हरेक वर्ष लाइन बिस्तारमा बजेट नघटाउन निवेदन बोकेर मन्त्रालय धाउने गर्नुभएकाे थियाे । आफ्नो २ दशकदेखिकाे प्रयास सफल भएकोमा उहाँले खुशी व्यक्त गर्नु भयो ।

‘मनाङमा ३३ केभी विद्युत पुर्याउने मेरो सपना र योजना बल्ल पूरा भएको छ’ उहाँले भन्नुभयो, ‘मनाङ अत्यन्तै चिसो ठाउँ हो, यहाँका बासिन्दाले न्यानो लागि आगो बाल्नुपर्छ । त्यसको लागि दाउरा काट्दा वनजंगल नै मासिने खतरा छ । अब राष्ट्रिय प्रसारण लाइन पुगेपछि बासिन्दाले हिटर बाल्न पाउँछन् । त्यसले वनजंगल समेत जोगाउन मद्धत पुग्छ ।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu