Connect with us
Kapilvast Forest

दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

२०७६, १७ आश्विन शुक्रबारमा प्रकाशित

जाजरकोट – राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ ।

सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका बालबालिका भने हतौडा हातमा लिएर गिट्टीको खातमा दशैँका लागि खर्च जुटाउने उपाय खौज्दैछन् ।

रुकुम पश्चिम आठविसकोट नगरपालिका–११ रिटा गाउँ नजीकै त्रिभुवन मावि दल्लीमा कक्षा ६ मा पढ्ने सावित्रा घर्ती सडकमै गिट्टी कुट्न थालेको पाँच दिन बितेको छ । घरमा बाबा नभएका कारण आमाले कमाएको रकमले घर खर्च नटरेपछि बाध्य भएर गिट्टी कुट्न लागेको उनले बताइन् ।

“गिट्टी कुट्दै गर्दा यही बाटो भएर साथीहरु जान्छन्, तर म भने कसैसँग नहेरी गिट्टी कुटिरहन्छु”, सावित्राले भनिन् ।

उनीसँगै अर्का नौ वर्षे बालक सरोज घर्ती पनि गिट्टी कुट्छन् । विद्यालयमा छुट्टी भएका कारण गिट्टी कुट्न लागेको उनले बताए ।“विद्यालय सञ्चालन भएपछि दैनिक पढ्न जान पर्छ”, उनले भने, “अहिले फुर्सदको समयमा गिट्टी कुटेर कमाएको पैसाले दशैँ र अन्य काम गर्नुपर्ला ।”

उनीसँगै कक्षा ३ मा पढ्ने रमेश विक सकी÷नसकी गिट्टी कुट्ने काममा लागेका छन् । “गिट्टी कुट्दाकुट्दै कहिले घामले चर्काउँछ, कहिले पानीले भिजाउँछ”, उनले भने ।

अहिले अर्थ अभावका कारण समस्यामा परेका अधिकांश बालबालिका आफँै मजदुरी गर्दै आमाबाबालाई सघाउने गर्दछन् । तीस किलोको बोरामा गिट्टी कुटेर दिएमा रु ४० पाउने गरेको उनीहरुको भनाइ छ ।

गिट्टी कुट्दा काम गर्न सजिलो होस् भनी पानीको मूल भएको ठाउँमा गएर काम गरिरहेको उनीहरु बताउँछन् । कसैलाई दशैँ आएको छ भने कसैलाई दशा आएको नागरिक अगुवा राजेन्द्रविक्रम शाहको भनाइ छ ।दिनभरि गिट्टी कुट्दा पहिले पहिले हात दुखे पनि अहिले, दुख्न छाडेको उनीहरु बताउँछन् । उनीहरु अभावकै बीचमा सङ्घर्षबाट कमाएको पैसाले उज्यालो भविष्यको सपनालाई सार्थक बनाउने योजनामा छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu