Connect with us
Kapilvast Forest

नेपाली कांग्रेसमा नेतृत्व टक्करः कस्ले राख्ला सभापतिमा पकड ?

२०७६, २० आश्विन सोमबारमा प्रकाशित

काठमाडौं, असोज २० । नेपाली कांग्रेसमा विशेष कारण देखाउँदै समय नथपिएको भए अहिले १४ औं महाधिवेशनको राप हपक्कै लागि सकेको हुन्थ्यो । नेतृत्वका आकांक्षीहरु कार्यकर्ता रिझाउन पुगिसकेका हुन्थे । एक वर्ष समय थपिएकाले यो दशैं नेताहरुका लागि केही फुर्सदिलो बनेको छ ।

तर आगामी महाधिवेशनमा सभापति बन्ने आकांक्षा सार्वजनिक गरिसकेका नेताहरुले भने दशैंलाई पनि कार्यकर्ता रिझाउने मेसोमा जोडेका छन् । एक वर्षयता नै आकांक्षीहरु आ–आफ्ना एजेण्डा बोकेर देश दौडाहामा भने लागेका छन् ।

कांग्रेसमा सभापतिको उम्मेदवारी दिने नै भनेर चर्चामा रहेका नेतामा वर्तमान सभापति शेरबहादुर देउवा, १३ औं महाधिवेशनमा उनका प्रतिष्पर्धी बनेका नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री डा. शशांक कोइराला र नेता डा. शशांक कोइराला छन् ।

वर्तमान सभापति देउवाले आफ्नो शिविरबाट कसैको चुनौति ब्यहोर्नु नपरेकाले फेरि सभापतिका लागि आकांक्षा राखेका छन् । तर पौडेललाई भने यस पटक आफ्नै शिविरबाट कोइरालाहरुले चुनौति दिने देखिएको छ । सिटौला यसै पनि तेस्रो धारमा रहेकाले उनले चाहँदा उम्मेदवारीमा रोक्ने कोही देखिँदैन ।

कोइराला परिवारबाट भने दुई दाजुभाई आकांक्षी देखिएका छन् । शेखर र शशांक । शशांक वर्तमान महामन्त्री हुन । उनले विभिन्न भेट र कार्यकर्ताबीच सभापतिको आकांक्षा व्यक्त गरेका छन् । उनी सबैलाई समेटेर पार्टी बलियो बनाउनु पर्छ भन्छन् । र कतिपय सन्दर्भमा सभापति देउवाका गलत निर्णयहरुको प्रतिवादसम्म पनि गर्दैनन् । बरु गूटले पार्टी बलियो हुँदैन । गूट अन्त्यका लागि आफ्नो उम्मेदवारी रहने बताउँछन् ।

शेखर भने सभापति देउवाका निर्णयहरुको खरो आलोचक हुन् । देउवाको कार्यशैली र व्यवहारकै कारण पार्टीले गत निर्वाचनमा संघदेखि स्थानीय तहसम्म हार्नुपरेको निष्कर्ष उनको छ । नेतृत्वले सही बाटो नठम्याउँदा वर्तमान संसदमा प्रतिपक्षीको भूमिकासम्म पनि गतिलो नभएको उनी बताउँछन् ।

यही विषय बोकेर शेखर देश दौडाहामा निस्किरहेका छन् । हिमाल, पहाड, तराई सबैतिर उनी आगामी महाधिवेशनमा आफु सभापतिमा उम्मेदवार हुने भन्दै कार्यकर्ता भेटमा पुगेका छन् । दुई भाई कोइरालामा शशांकलाई पार्टी नेतृत्वदेखि सरकारको नेतृत्वकोसम्म पनि आलोचना गर्न नसकेको, चूकेको आरोप लाग्ने गरेको छ भने शेखरलाई बढी आलोचक बन्ने गरेको भन्छन् ।

जेहोस्, शशांकले मेरो त स्वाभाविक दावी हो भनिरहँदा शेखर भन्छन्, ‘अभी नहीँ त कभी नहीँ ।’ । उनी भन्छन्, ७० वर्ष हुँदा पनि नेतृत्वमा दावी नगरे कहिले गर्ने ? त्यसैले यस पटक म सभापतिमा उम्मेदवार बन्छु, बन्छु । त्यसैले त उनले १५औं महाधिवेशनबाट क्रियाशील राजनीति नै त्याग्ने घोषणा गरिसकेका छन् ।

अर्को कार्यकालका लागि तयारीमा रहेका सभापति देउवालाई १३औं महाधिवेशनका प्रतिस्पर्धी वरिष्ठ नेता पौडेलले पनि उसै नछाड्ने भनिसकेका छन् । तर उनका लागि फलामको च्यूरा आफ्नो धारका दुई कोइराला भाईको व्यवस्थापन बन्नेछ । आफ्नै उमेर समूहका ७४ वर्षीय देउवा फेरि दोहोरिन लाग्दा ७५ वर्षीय पौडेल पनि नछोड्ने दाउमा लागेका हुन् ।

उसोत संथापनबाहिरको यो धारमा सभापति देउवाको विरोधमा सबै एकमत रहे पनि अबको नेतृत्वमा को ? भन्नेमा विमती छ । पौडेललाई कोइराला परिवारले चुनौति दिइरहँदा सिटौलाले पनि उसै छाड्ने छैनन् । फेरि पौडेलबाहेकका आकांक्षीमा पनि एकमत हुने छाँट देखिन्न । घोषणा नै नगरेपनि गणेशमान पुत्र प्रकाशमान सिंह पनि नेतृत्वका आकांक्षी हुन् नै ।

पार्टीमा प्रभावशाली मानिएका नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, महेश आचार्य, गगन थापालगायत नेतालाई कसरी व्यवस्थापन गर्ने भन्ने संस्थापन इतर पक्षलाई अर्को जटिलता छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu