जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीको शुभकामना सन्देश

काठमाडौं-नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको आज मुख्य दिन हो ।यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिनु भएको छ ।
विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष कोरोनाको प्रकोपका कारण खासै उल्लास छैन । यस वर्ष घरमै बसेर जितिया मनाइँदै छ ।
आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बस्छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् ।
खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।
जितिया पर्वको अवसरमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रमुख राजनीतिक दलका नेताहरुले शुभकामना दिनु भएको छ ।
पुर्वी तराईवासी र थारुले मनाउने जितिया पर्वका अवसरमा शुभकामना सन्देश दिँदै उहाँहरुले आफ्नो परिवारका सदस्यको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाउने जितिया जस्ता पर्वले हामीलाई परस्पर एकता, सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेकोसमेत बताउनु भएको छ ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारण यस वर्ष आफ्ना पर्व मनाउँदा घरमै बसेर सावधानीपूर्वक मनाउनुपर्ने अवस्था उत्पन्न भएको जनाउँदै उनले आफू सुरक्षित रहंँदै जितिया पर्व मनाउन आह्वानसमेतगर्नु भएको छ ।

