गर्भवती र सुत्केरीको निःशुल्क बीमा अभियान शुरु

काठमाडौँ-कोरोना भाइरस् सङ्क्रमणको जोखिम बढिरहेका बेला काभ्रेलाञ्चोकको बनेपा नगरपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलाको निःशुल्क कोभिड–१९ बीमा थालिएको छ। नगरले ‘उपप्रमुखसँग महिला कार्यक्रम’अन्तर्गत उक्त अभियान शुरु गरेको हो।
नगर उप्रमुख रेखा दाहाल सापकोटाले बुधबार एक कार्यक्रमकाबीच बीमा कम्पनीसँग सम्झौता गरेलगत्तै अभियानको शुरु भएको छ। बीमाले स्वास्थ्य जोखिममा रहेका महिलाको हौसला थपिएको छ, यसले आर्थिक अवस्था कमजोर भएका महिलाको मनोबल उच्च राख्ने बताउनु भयो । उहाँले कार्यक्रमको शुरुआतसँगै दुवै समूहका ५१ महिलालाई कोभिड–१९ बीमालेख हस्तान्तरण गर्नु भएको छ।
सापकोटाका अनुसार हाल नगरका गर्भवती तथा डेढ महिनाको सुत्केरी महिला बीमा कार्यक्रममा अट्नेछन्। उहाँले नगरभित्रका दुवै समूहका ४०० महिलाको निःशुल्क कोभिड–१९ बीमा गरिने जानकारी दिनु भयो । ‘
उहाँका अनुसार नगरका १४ वडामा हालसम्म पहिचान भएका २३५ गर्भवती र १६५ डेढ महिनाका सुत्केरीको पहिलो चरणमा निःशुल्क कोभिड–१९ बीमा गरिनेछ। प्रिमियम रकममा ५० प्रतिशत छुटमा एक लाख रुपैयाँको बीमा हुने जनाइएको छ।
सङ्क्रमणको जोखिम बढिरहेको वर्तमान अवस्थामा गर्भवती र सुत्केरीको निःशुल्क कोरोना बीमा गर्ने निर्णय गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादेले बताउनु भयो ।

