Connect with us
Kapilvast Forest

सरकारी जागिर प्रतिको जनअपेक्षा

२०७७, २८ भाद्र आईतवारमा प्रकाशित

लक्ष्मण भट्टराई-
सरकारको हातबाट तलब भत्ता लिएर जनताको हातहातमा सेवा प्रवाहमा खटिने गैरसैनिक र गैरराजनैतिक चरित्रका राष्ट्रसेवकहरुको सेवालाई निजामती सेवा भनेर सन्सारले मानेको कुरा हो।
पूर्वीयादेखि पश्चिमासम्म, एसियादेखि अष्ट्रेलियासम्मका देशले कर्मचारीको विकल्प खोज्दा कर्मचारीहरु नै भेटाएका छन्। त्यहि विकल्पले आजसम्म कर्मचारीतन्त्रको रुपमा काम गरिरहेको छ। त्यही कर्मचारीहरुको संगठन मध्येको प्रमुख संगठनलाई निजामती सेवा भनेर भनिएको छ।

नेपालमा संविधान सभाले जारी गरेको संविधानको धारा २८५ मा अटाएको निजामती सेवा भन्ने शब्दका सन्दर्भमा सरकारी सेवा अन्र्तगत संघीय निजामती सेवा र अन्य संघीय सरकारी सेवा गठनको कुरा गरेको छ। संविधानमा लोक सेवा आयोगको काम कर्तव्य र अधिकार भनेर निजामती सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उमेदवार छनौट गर्न परीक्षा सञ्चालन गर्ने भनी लेखेकै छ।

निजामती सेवाको पद भन्नाले सैनिक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निजामती सेवाको पद हैन भनेका अन्य सेवाका पदबाहेक नेपाल सरकारका अरु सेवाको पद भनेर तोकेको छ। यसैको अनुसूची ५ मा संघको अधिकार क्षेत्रभित्र संघीय निजामती सेवा, न्याय सेवा र अन्य सरकारी सेवा तोकेको छ।

अनुसूची ६ मा प्रदेशको अधिकार भनी प्रदेश निजामती सेवा र अन्य सरकारी सेवा भनेको छ। त्यसैगरी अनुसूची ८ मा स्थानीय तहको अधिकार भनी स्थानीय सेवाको व्यवस्थापनको कुरा गरेको छ।
निजामती सेवा ऐनले निजामती सेवा भन्नाले दफा ३ बोमोजिमका सेवा भनी दस वटा सेवा तोकेको छ भने निजामती कर्मचारी भन्नाले निजामती सेवाको पदमा बहाल रहेको कर्मचारी भनेको छ।

निजामती सेवालाई श्रेणीगतमा सजाइएको छ। यसरी सरकार र नागरिकका बीचमा पुल बनेर सेवा सुविधाहरु सरकारी किनाराबाट नागरिकका किनारामा लगेर सबैतिर कानुनका आधारमा सेवाको पूर्ति गराउने जनसेवक नै राष्ट्रसेवक हुन्। यिनै जनसेवकलाई निजामती सेवाको पदमा बहाल रहेका निजामती कर्मचारी भनिन्छ।

बेलायतले सन् १८५५ मा लोक सेवा आयोग स्थापना गरेर क्षमता प्रणालीको सुरुवात गर्ने समयसम्म पनि अमेरिकामा लुट प्रणालीका अवगुणहरुले क्षमता भएकाहरु पिल्सिएका थिए।

उता चीनले कर्मचारी छनौट प्रणालीको लागि परीक्षा लिएर निजामती सेवाका इतिहासको जगमा इटा बसालिसकेको थियो। राजनितिक क्षेत्रसँग समानान्तर रुपमा गुड्ने यो स्थायी चक्काले गर्ने सेवा प्रवाहको कार्यहरु निजामती सेवाले गरिरहेको छ। राजनीतिक पद्घतिले विधि विधान बनाउने कार्यमा सुझाव सल्लाहसहित सहजीकरण गर्ने र बनेका विधिविधान कार्यान्वयन गर्ने जिम्मेवारीको कुटुरो बोकेको संयन्त्र निजामती सेवा हो।

नेपालमा जब जहानियाँ शासकले सत्ताको बागडोरबाट बिदा मागे, त्यसपछि वि.सं. २०१३ मा नेपालमा निजामती सेवा ऐन बनाएर निजामती कर्मचारीका बारेमा कानुन जन्माइयो। कानुन जन्मन धेरै समय लागेपनि निजामती कर्मचारीको छनौटकर्ता लोकसेवा आयोगको जन्म वि.सं.२००८ साल असार १ गतेका दिन भएको थियो।

त्यसको न्वारानको नाम पब्लिक सर्भिस कमिसन राखिएको थियो। यसरी आएको निजामती सेवा ऐनलाई निजामती सेवा ऐन २०४९ ले वि.सं.२०५० जेठ ४ मा लालमोहर नामक बुटी खाएर जन्मियो। उक्त ऐनलाई वि.सं. २०५५, २०६४, २०७० र अन्तमा २०७२ को लोकतान्त्रिक सुईले आजसम्म अडाएको थियो।

तर त्यो सुईले मात्र संघीयता मौलाउन सकेको छैन। यहीकारण नयाँ पलाएको संघीयतामा उन्नत जातको बिउ ल्याएर उमार्दा बिचमा एउटा, वरिपरि सातवटा र छेउछाउमा लगभग ७५३ वटा बनाउने भनेर नयाँ जातको बिउमा जिन भर्ने काम भइरहेको छ।

यसैगरी वि.सं. २०५० असार २८ गतेको दिन नियमावलीमा खुलाउन पर्ने कुरा खुलाएर राजपत्रमा नियमावली नै जारी गरिएको थियो। वि.सं. २०५० मा बनेको नियमावलीलाई २०७२।०६।०७ मा बाह्रौं पटक लगाएको सुईले निमोनियाबाट हाल सम्म जोगाइरहेको छ।

हाल समयको मागअनुसार यो ऐन र नियमावली त्यति उर्वर नदेखिएकोले नयाँ जातको ऐनमा जिन हालेर ल्याएमा यी दुवै खलास हुनेछन् तर नियुक्ति हुँदाका सेवा र शर्तका अस्तु माछालाई नखुवाएर बाँकी राखिन्छ।

विश्वमा निजामती सेवा भन्नाले सर्वप्रथम लुट प्रणाली रहेको देश अमेरिकालाई आजको नजरले हेर्दा संघदेखि नगरपालिकासम्म सबै कर्मचारीलाई निजामती सेवामा अटाउन हालेको रहेछ। योग्यता प्रणाली अपनाएको बेलायतका कुरा गर्दा सरकारका तर्फबाट काम गर्ने अवधि तोकिएका र तलब लिने निजामती सेवा भनेर केन्द्रदेखि स्थानीयस्तरसम्म समेटेको छ।

अलि नजिकको कुरा गर्दा, लामो समयसम्म बेलायती सरकारको उपनिवेशमा रहेको भारतीय निजामती सेवा विश्वमै प्रख्यात छ। नेपालमा बसेर गफ गर्ने बेला चीनभन्दा भारतको अवस्थालाई अलि बढी नियालेर हेरिन्छ।
छोराछोरीको विवाहमा मात्र हैन अरु काम र रोजगारीका कुरामा पनि भारतमा सम्भावना के–कस्तो छ भनेर हेरे जस्तै निजामती सेवाको बारेमा पनि हेरौं। भारतमा राजनीतिक उथलपुथलले नछुने स्थायी प्रकारको क्षमतावान प्रशासन भएको कारण आर्थिक सामाजिक विकासले पनि निरन्तरता पाउने कार्यमा समेत निजामती सेवाको महत्व देखियो। भारतमा अखिल भारतीय सेवा, केन्द्रीय निजामती सेवा र राज्य निजामती सेवा गरि ३ प्रकारका निजामती सेवा छन्।

त्यसलाई योग्यता प्रणालीका आधारमा खुल्ला प्रतिस्पर्धाले पदपूर्ति गरिन्छ। यति मात्र हैन सेवा सुविधाका नजरले पनि भारतको निजामती सेवा रहरलाग्दो छ।
नेपालको स्थानीय तहमा समेत रहेर सेवा प्रवाह गरिरहेको निजामती सेवाले धेरै सेवा प्रवाह गरोस भनेर जनताले धेरै अपेक्षा गरिरहेका छन्। रातको समयमा छिमेकीले गरेको होहल्लाका समस्यादेखि भोजभतेर गरेर डिजे बजाउँदा हुने ध्वनि प्रदुषणमा समेत हारगुहार गर्छन्।

शान्ति खलबल भयो भनेर रातकै समयमा पनि कर्मचारीहरुलाई फोन गरेर समस्या सुनाउँदै राती नै समस्या समाधान गरिदिनु पर्‍यो भनेर धेरै राष्ट्रसेवकलाई फोन आउने गरेको अवस्था छ।

आफ्नो घरको नजिक रहेको निजामती सेवालाई आफ्नै सहजताको लागि खटिएका हुन्, जसरी जनताले अपनत्व ग्रहण गरेर दिनरात जे जस्ता कामको लागि पनि हारगुहार गर्ने गरेका घटना धेरै छन्। कार्यालय समय बाहिर पनि जनताका समस्या हुने हुँदा राष्ट्रसेवक आफु समस्यामा रहेको र पारिवारिक समस्या, पिडाका बावजुत दिन रात साँझ बिहान सेवा प्रवाह गरेका घटना धेरै छन्।

आखिर स्थायी सरकार हो र आफैहरुको सहजताको लागि खटिएका राष्ट्रसेवकसँग आफ्ना दुःखसुखमा सेवा सहयोग माग्नु नै निजामती सेवाप्रतिको जनताको विश्वासको कडी हो। हिजोको एकात्मक राज्य व्यवस्थाको निजामती सेवासँग गरेका अपेक्षाहरु हालको संघात्मक प्रणालीमा दिन दुई गुना र रात चौगुना बढेको छ। यो परिप्रेक्षमा निजामती सेवालाई जनतासँग सेवा प्रदायक बनाउने मात्र भन्दा समाजसँग मिलेर अन्तरघुलीत बनाउने क्रियाकलाप समेत चलाउदा सुनमा सुगन्ध हुन्छ।

आफ्नो छोराको नागरिकता बनाउन जिल्ला प्रशासनको गेटमा आएको नागरिकले गेटमा प्रहरी बसेको देखेर भित्र जान डराउने नागरिकलाई समेत भित्र लगेर नागरिकता जारी गर्नपर्ने जिम्मेवारी राष्ट्रसेवकको काँधमा छ।

आफ्नो घरमा पुगेर डोर मुकाम सेवा दिन राष्ट्रसेवक बोलाउने नागरिक र कार्यालयको गेटबाट भित्र छिर्न डराउने दुबै नागरिकलाई राज्यको समानताको नजरले हेरेर राष्ट्रसेवकले सेवा प्रवाह गनुपर्ने दायित्व कानुनले सुम्पेको छ।

नागरिक भनेका सार्वभौमसत्ता सम्पन्न हुन् भनेर संविधानले स्वीकारेको छ भने राष्ट्रसेवक भनेर निजामती सेवा ऐन बमोजिम हुने नियुक्तिले स्वीकारेको छ। संवैधानिक हैसियत पाएका र कानुनी हैसियत पाएका दुवै फरक नभएर राष्ट्रसेवक पनि यही देशका नागरिक हुन्।

यसरी दोहोरो जिम्मेवारी र भूमिकामा रहने राष्ट्रसेवक राज्यको सेवा प्रवाहका लागि हरपल निस्वार्थ रुपमा कानुनी तवरले खटिने नागरिक हुन्। यसैले नागरिकका चाहनाका बारेमा एक स्तरसम्म राष्ट्रसेवकबाट समेत सर्भेक्षण गरी सेवाका प्रकार र प्रवाहको तौरतरिकाबारे राज्यले सुझाव र सल्लाह लिन सक्छ।

गरिब होस् वा धनी, शिक्षित होस वा अशिक्षित राज्यका नजरमा सबै नागरिकका अधिकार समान छन्। राज्यबाट पाउने सेवा सुविधामा समान पहुँचको सुनिश्चितता हुनुपर्छ। राज्यले नागरिकलाई समताका आधारमा अग्राधिकार कायम गरेको वा कानुनी रुपमा तोकिएको आधारमा बाहेक अन्य अवस्थामा राज्यले प्रदान गर्ने सेवा सुविधामा राज्यका नजरमा सानो छोरा वा ठूलो छोरा दुवै छोरा नै हुन्। जेठो, माहिलो वा कान्छो जे भएपनि राज्यको लागि उनीहरु छोरा हुन् । सबै छोराहरुको बाबा आमाप्रतिको अधिकार र दायित्व समान हो।

सेवा प्रदायकले हाँसले जस्तै दुध र पानी छुट्याएर जनताका चाहनालाई कानुनअनुसार सही र गलत छुट्याएर सेवा प्रवाह गर्नु कानुनी दायित्व हो । अर्कोतिर सेवा लिन आउने नागरिकको मनोकामना पनि त्यही हुनुपर्छ । सेवाग्राहीको चाहना राष्ट्रसेवकको निस्पक्षता हुनुपर्छ र त्यही निस्पक्षता नै निजामती सेवाको हाल सम्मको सर्हानीय पक्ष बनेको छ ।

पुरातनवादी सोच र धारणाबाट माथि उठेर सेवा लिने र दिनेले आ–आफ्ना जिम्मेवारी र दायित्व बुझ्न सकेमा मात्र दुवैले उच्च मात्रमा सन्तुष्टी पाउन सक्ने अवस्था सिर्जना हुन्छ । विधि र प्रक्रियाका नाममा हुने ढिला सुस्तीलाई जरैदेखि उखेलेर वनमारा निखारेजसरी निखारेपछि मात्र राष्ट्रसेवकको मान सम्मान बढेर अरुको अगाडि राष्ट्रसेवक हुँ भनेर शिर ठाडो गराउने अवसर बन्छ । यसरी शिर ठाडो गरेर हिड्ने अबसर बनाउने कार्य सेवाग्राही र सेवा प्रदायक दुवैको हो।

पहिले पहिले भन्दा अलि फरक रुपमा गहना पहिरेको निजामती सेवालाई निजी क्षेत्र र नागरिक समाजले समेत माया गर्नु स्वभाविक बन्दै गएको छ । शिरको शिरफुलको रुपमा भारी बनेको केन्द्रिकृत निजामती सेवा अहिले विकेन्द्रित हुदै शिरको शिरफुल बनेर शोभा दिइरहेको छ । कानमा लगाएको ढुग्री बनेर कान झटारेको शासक मानसिकताले अहिले सहजकर्ताको रुपमा कानको टप बनेर कानैमा टाँसिएर शोभा बढाएको छ ।

निजी क्षेत्रका राम्रा काममा आशंका बोल्ने मुख भएको यो सेवाले निजी क्षेत्रका राम्रा काम हेरेर कुरा सुन्न सक्ने गरी कान जँचाएर सबै कुरा सुनेर राम्रा पक्ष आफैले अपनाएको छ ।
अरुलाई एउटा औला तेर्साउदा बाँकी रहेका चार औला देखेर एकल भन्दा सामुहिक हुँदा ठीक हुने ठानी नागरिक क्षेत्र सँगको सहभागितामा जनतासँग अगालो हालेर हिड्ने मात्र हैन दौडने कोशिस गरेर निजामती सेवाले सेवा प्रवाहमा सुधार गरेको छ ।

सिक्न पनि किन नसिकुन् धेरै लामो दौडमा दौडेर यहाँसम्म आएको निजामती सेवाले अहिले जनताका अधिकारको पुजा गर्न लागेको छ ।
आफुले हिजो दौड सुरु गर्दाको भर्नादेखि छनौट र परीक्षाबाट सिफारिस भएर सेवा प्रवाहको स्वणिम मैदानमा आउदा सेवा लिन आउने सेवाग्राहीलाई भगवान देख्न थालेको छ । जसरी कर्मचारी छनौट हुँदा कडा प्रतिस्पर्धाबाट यो अवसर पाएजस्तै जनता पनि घाम पानी नभनी कार्यालय समय कुरेर घरका काम छोडेर कार्यालयमा सेवा लिन आएको कुरा कर्मचारीले बुझेका छन् ।

समयको दौड सँगै निजामती सेवाप्रतिको जनअपेक्षा र कानुनी दायित्व दौडिएर निजामती सेवाको दायित्वको फेहरिस्त धेरै पर सम्म पुगेको छ । निजामतीमा धेरै क्षमता रहनु पर्ने अपेक्षा गरिएको छ ।
सेवा प्रवाह प्रबिधिमैत्री, सरल, सहज र छिटो छरितो हुनुपर्छ भन्ने कुरा जनताले चाहेका छन् जुन समय सापेक्ष सही हो । निजी क्षेत्रले जस्तै छिटो छरितो मुस्कान सहितको सेवा प्रवाह र प्रवधिको प्रयोग निजामती सेवामा अपेक्षा गरिएको छ ।

क्षमता योग्यता भएकोले निखारपना देखाएर निष्पक्ष रुपमा छानिएका निजामती कर्मचारीहरुसँग नागरिकको अपेक्षा त्यो स्तर सम्मको ठिक हो । निजामती सेवाबाट राज्य पक्षले समेत अपेक्षा राखेकै हुन्छ । त्यहि अपेक्षा अनुसार काम गरुन भनेर त्यसका लागि आश र त्रासको रुपमा सरुवा, वढुवा, सजाय, तालिम, वृत्तिविकास आदि आशाका त्यान्द्रा देखाएको छ । राज्यमा द्वन्द्वको समयमा पनि विना हतियार राज्यको तर्फबाट सेवा सुविधा दिनसक्ने निजामती सेवासँग राज्यले विश्वास गरेको छ ।

जटिल परिस्थितिलाई समेत सामना गर्ने क्षमतावान राष्ट्रसेवकसँग राजनीतिज्ञले समेत सेवा प्रवाहमा सहजीकरण र सरलिकरणका लागि पहल कदमी अपेक्षा गरेका छन् । सेवा लिन बसेका नागरिकले पनि सरल, सहज र सुलभ रुपमा गुणस्तरीय सेवा प्रवाहको चाहना राख्नु स्वभाविक नै हो । आखिर जसले काम गर्न सक्छ उसैसँग त अपेक्षा गर्ने हो । निजामती सेवा भनेको त आखिर क्षमतावान स्थायी सरकार नै हो त्यसैले त यो सँग सबैले अपेक्षा गर्छन् ।

नागरिकका चाहना पूरा गर्ने क्रममा राज्यसँगको सिमित श्रोत साधन र कानुनी बाध्यताका साथै जनताका असिमित आवश्यकताका बिचमा बसेर सेवा प्रवाह गर्दा कहिलेकाँही जनगुनासा सुन्न र सुनेर जनताको चित्त बुझ्दो जवाफ दिनु उसको कानुनी दायित्व नै हो ।

राजनितिज्ञले नेतृत्व गर्ने र त्यही राजनितिसँग तटस्थ रहेर सार्वजनिक सेवा प्रवाहमा खटिदा कति गाह्रो हुन्छ । जनताको चाहना अनुसार निजामती सेवा सहजकारी, सहभागी र नियमनकारी भएर निजी क्षेत्रसँग हातेमालो गरोस भनेर चाहने जमात पनि छ । यी चाहनाका बाबजुत लोकतान्त्रिक मूल्य मान्यता, कानुनी शासनको मर्मअनुसार मुस्कुराएर सेवा चाहेका जनताको भीडले बाटो भरिएकै छ । नपत्याए बाटोमा खटिएका ट्राफिकलाई सोध कति जना सरकारी काम लिएर सरकारी अड्डा आएका छन् ।

निजामती सेवाका सबल पक्षले गर्दा जनता र सरकार सबैले धेरै धेरै अपेक्षा गर्नुले यसको गौरव बढाएको छ । विधायिकाले र कार्यपालिकाले दिने संविधान, ऐन, नियम, निर्देशिका, कार्यवधि र निर्देशनले गर्दा कहिलेकाही जनताको चाहना एउटा कानुनको आदेश अर्कै हुने भएकोले सेवाग्राही र सेवा प्रदायकको बिचमा अजङ्गले वाध्यताको कालो अबरोध लम्पसार परेर सुत्छ जसलाई निजामती सेवाले मात्र उखेलेर फाल्न नसक्दा जनताको आकांक्षा पुरा नभएका अबस्था धेरै छन् ।

भान्साका तिउनका समस्या, श्रीमतीका श्रृङ्गगारका समस्या, श्रीमानका बाइकका समस्या, घरबेटीलाई समयमा घरभाडा चाहिने समस्या, बाटोमा ट्राफिक जामका समस्या, छोराछोरीका फिसका समस्या लगायतका समस्याको ताँती विर्सेर हिडेको सेतो सर्टधारी निजामतीलाई कार्यालय पुग्दा भएको पाँच मिनेट ढिलोको समस्यामा पत्रकारका क्यामराको अगाडि उभिएको भनौकी समस्याले पुरिएको भनौ?

घरायसी आर्थिक बोझका समस्याले ओठमा मुस्कान हराएकोले ओठको छाला तन्काएर सेवाग्राहीलाई नमस्कारका साथमा सहजकर्ता बन्नु परेको अवस्था छ ।
राष्ट्रसेवकाले जनताका समय अभावको समस्या, कार्यालयको कम्प्युटरको स्लोको समस्या, प्रिन्टरको बिग्रने समस्या, विद्युतको लोडसेडिङको समस्या झेलेर एउटा सेवाग्राहीको हातमा एउटा सेवा प्रवाह गर्दा ठुलै काम गरेको मान्न परेको अबस्था पनि छ ।

जनताले हाकिम साप मेरो काम कहिले हुन्छ भनेर सोध्दा कहिले लाइन अएपछि त कहिले हाकिम सापको मिटिङ सकिएपछि भै हाल्छ भनेर जवाफ दिनुपर्ने समस्याले पनि जनताका मन कुडिएका हुन् । सेवा प्रवाहमा खटिनेलाई निर्णायक अधिकार विना काममा राख्दा उसलाई अलि गारो परेको छ ।

यदि निजामती सेवामा भ्रष्टाचारको प्रभाव बढी भएको भए स्ट्रिङ अप्रेसनले सबै कर्मचारी अनुसन्धानकै क्रममा हुन्थे । हुनत एक दूइ जना पर्नु चावलमा वियाँ रहे जस्तै हो । अन्यथा नेपालको निजामती सेवा निस्वार्थ निस्पक्ष भावले राज्यले दिएको बेतनमा हाँसेको छ । उसको परिवार त्यही बेतनमा अडिएर रमाएको छ ।

सबै जनतालाई एक एक जवाफ दिन नसके पनि समग्र रुपमा महालेखा परिक्षकलाई त एक एक गरी जवाफ दिएकै छ । त्यसैले नेपालको निजामती सेवाले जवाफदेहितालाई आत्म सम्मानका साथ अंगिकार गरेको छ । काठमाडौंको सिंहदारवारदेखि गाउँ गाउँका सिंहदरवारमा मात्र हैन जनताको घर घरमा पुगेर निजामती सेवाले गरेको सेवा प्रवाहको गुणगान जनताले गाएका छन् ।

आफ्नो सेवा सर्त सुरक्षाको समेत प्रवाह नगरी संघ, प्रदेश र स्थानीय तहमा रहेर सेवा प्रवाहमा खटिएको नेपालको निजामती सेवाको सेवा प्रवाह विश्वको एक नम्वरमा नै छ । त्यसैले त यो विषयमा सर्भेक्षण गर्न अरु देश लागेका छैनन् र नेपालले गरेको छैन । वास्तवमा सर्भेक्षण गर्ने हो भने नेपालको निजमाती सेवा, सेवा प्रवाहमा सर्वोत्कृष्ट भगवान सावित ठहर्छ हैन भने सर्भेक्षण तरिका शंकास्पद हुनसक्छ ।

मौद्रिक रुपमा नेपालको निजामती सेवा त्यति लोभलाग्दो नभए पनि सेवामा रहेका राष्ट्रसेवकको राष्ट्रियता देखेर विदेशमा गएर मासिक लाखौ कमाउने नेपाली साथीहरु नेपाल आएर राष्ट्रसेवामा खटिएका छन् । सेवा प्रवाहमा खटिने लाई अलिकति उत्प्रेरण बढाउन पाए सेवा प्रवाहमा भएको गुणस्तरलाई नागरिकले अभिनन्दन गर्ने अवस्था आउथ्यो ।

पुरस्कारलाई वस्तुनिष्ठ बनाउन सके सेवा प्रदायक हौसिएर सेवा प्रवाह गर्ने अवस्था र सेवाको गुणस्तर सेवाग्राहीले अपेक्षा गरे भन्दा एक कदम अगाडि हुने थियो । समय सापेक्ष प्रविधिमैत्री पुर्नताजगी तालिम, जिवनोपयोगी सेवा सुविधालाई बढाउन साथ अहिलेका जनताका चाहनाको पूर्ति शीघ्र रुपमा हुने सुनिश्चित नै छ ।

विश्वमा हुदै गएको सुचना प्रविधिको उपभोग सहितको सेवा चाहेका जनतालाई प्रविधिमैत्री रुपमा इमेल इन्टरनेट मार्फत सेवा पाउने चाहना पूरा गर्न सकिने सम्भावना पर्याप्त छ । यसरी सेवा प्रवाह गर्न पर्ने दायित्व निजामती सेवाको काँधमा आएको छ ।

अल्छिलाई जरैदेखी उखेलेर कार्यबोझको आधारमा पदपुर्ति सहित शीघ्र सेवा प्रवाह नै जनचाहना हो । सेवा लिन सरकारी झ्यालमा बसेका सयौ सेवाग्राहीका लाईनले राजमार्गका दुरी गिज्याएपछि न सेवा लिनेले खुसिले सेवा लिन सकेको छ न दिनेले हाँसेर सेवा दिन सकेको छ ।

कार्य समयको अवस्था हेरेर क्षतिपुर्ति सहितको सेवा चाहेका जनताले बिलम्बको विलम्ब शुल्क लाई सहज रुपमा लिएका छन् । त्यसको बदलामा उनीहरुले चाहेको क्षतिपुर्ति, जबाफदेहिता र पारदर्शिता सहित कानुन अनुसारको सेवा हो । विश्व समुदायको गतिशीलता अनुसार हिडेको विश्वको निजामती सेवा अनुसारको तहमा लगेर सेवा प्रवाहको लागि नेपालको निजामती सेवाको क्षमता विकास अपरिहार्य भएको छ ।

राजनीतिक र प्रशासनिक कार्यक्षेत्रको लक्ष्मण रेखा बनाउँदा कतै कतै अलि अस्पष्ट हुने हुँदा स्पष्ट जिम्मेवारी र अधिकार किटिन नसकेको अवस्था छ । राजनीतिक क्षेत्रले निजामती सेवाका गैर राजनीतिक कृयाकलापमा चासो कम गरेर क्षमताको सम्मान हुनुपर्छ भन्ने सचेत नागरिकको चाहना हो । जसले निजामती सेवाको सामाजीक मान सम्मान धेरै माथि लैजान सक्छ ।

निजामती सेवा समय जस्तै गतिशील छ । यसले वि.सं. २०१३ मा गरेको परिकल्पना भन्दा फरक भएर सेवा दिएर जनचाहना पुरा गर्न समय सापेक्ष नयाँ ऐन सहित बदलिएको छ । सेवा लिनेको रुचि, चाहना, क्षमता र आवश्यकता बदलिएकोले सेवा दिनेले समेत त्यो गति लिनै पर्छ र त्यो गति लिन नसके इन्जिनबाट छुट्टिएको रेल जस्तै हुन्छ ।

इन्जिनसँग जोडिदा त्यो गति लिन सकेका रेलले जस्तै निजामती सेवाले आफु गतिमान भएर गति लिएर अगाडि बढ्दा रेलले सवारीलाई समयमै गन्तव्यमा पुर्‍याउन सके जस्तै निजामती कर्मचारीले निजामती सेवालाई गति दिन सक्छ । जसले गर्दा सेवाग्राही भगवानका चाहना चुमेर आर्शिवादरुपी धन्यवाद ग्रहण गर्न सक्छन् ।

सेवा प्रदान कक्षमा बसेको बेला नाना, खाना, छाना, उपचार र सन्ततिको पीर नलिएर सेवाको पुजा गर्न दिने हो भने समृद्ध नेपाल, सुखी नेपालीको चाहना पुरा हुने निश्चित छ ।

कर्मचारीहरु भनेका जनतालाई सेवा सुविधा पुर्‍याउन पहिलो लाइनमा खटिने सेवाका संवाहक हुन् । जनताले पहिले देख्ने अगाडि रहने कर्मचारीलाई हो । सेवा प्रवाहको लागि चाहिने सुविधा, क्षमता र प्रविधिले सु–सम्पन्न बनाएर कानुनी अधिकार र जिम्मेवारी सहित खटाउन सकेमा मात्र जनताले चाहेका सेवा उपलब्ध गराउने क्षमता सहित क्षतिपुर्तिको सुनिश्चतता गर्न सक्छन् ।

ओ.एन.एम. नगरी अत्यावश्यक कार्यबोझ सहित सेवा सुविधा विहिन गराएर पहिलो लाइनमा राखेमा सेवा प्रवाहको गति कम हुने भएकोले सेवाग्राहीको अत्यधिक चाप हुन्छ भने सेवाग्राही असन्तुष्ट हुन्छन् । सेवा प्रदायकलाई आफ्नो सेवा र कार्यप्रगति प्रति सचेत बनाउने काम महत्वपुर्ण हो । सेवाग्राही समग्र राज्य व्यवस्था विरुद्ध रुष्ट हुन नदिनु राष्ट्रसेवकको दायित्व हो । हामी नेपालीका चाहना असिमित रुपमा वृद्धि हुदै गएका छन् भने हाम्रा दायित्व र जावाफदेहितालाई कम चासोका साथ हेरेका छौं ।

यही चाहना र जवाफदेहिता बिचको खाडलले सेवाग्राही र सेवा प्रदायक बिचमा समन्वय र तादम्यता मिलाउन सकिरहेको छैन । निजामती सेवामा रहेका न्युन अवसर र प्रविधिले नयाँ पुस्ताले लिन चाहेका सेवा सुविधामा समयको लागत बढी लागेको मुल्याङ्कन भइरहेको छ । त्यसैले यसलाई सुधारको अवसरको रुपमा ग्रहण गर्नुपर्ने छ ।

सरकारको सेवा प्रवाहलाई दिशानिर्देश गर्ने र सोही बमोजिम अगाडि बढ्न सुझाव दिनु सेवाग्राहीको चाहना हो । एकातर्फ समय, परिस्थिति र प्रविधि अनुसार जनताका सेवाका प्रकार फरक पर्छन् भने अर्कोतिर सेवा प्रदायकको क्षमता समेत वृद्धि हुदै जानुपर्ने निश्चित छ ।

सेवा लिने र सेवा दिने दुबैको विचको सेवाको सेतुलाई सहज रुपमा प्रदान गर्न सक्ने क्षमता र प्रविधियुक्त जनशक्तिले मात्र सेवाको चुस्तता कायमगरी राज्यको जिम्मेवारी सरल रुपमा ग्रहण गर्न सक्छ । समय र आवश्यकता अनुसार प्रविधी, उत्प्रेरणा सहित पुर्नताजगी रुपमा जनशक्ति तयारी गरेर जनचाहना अनुसारका कार्यमा उचित स्थानमा उचित व्यक्ति खटाएर नागरिकलाई आफ्ना जिम्मेवारी वहन गराउदै सेवा प्राप्तीको अधिकारको उपभोग गराउनु पनि कर्मचारीको दायित्व हो ।

कोरोना जस्तो विश्वमा फैलिएको महामारीको समस्यामा पनि राज्यको निति अनुसार सेवा प्रवाहमा हरपल खटिने राष्ट्रसेवकको आत्मबल, लगाब र आत्मविश्वास हेर्दा कर्मचारी भगवान् हुन् जस्तो लागेको छ । यी भगवानलाई सम्मानको पुजा दिएर आर्शिवाद रुपी सेवा उपचार पाउनु हामी सबै नेपालीको भाग्य हो ।

जनता भए राज्य हुन्छ, सेवाग्राही भए सेवा प्रदायकले रोजगारी पाउछ । जनताले राज्यलाई कर तिर्दछन् र राज्य नागरिकको अभिभावक हो । साधारण देखि सचेत नागरिकले सम्म आफ्नो अभिभावक सँग सेवा लिने र सेवा लिदा कुनै समस्या भए गुनासो रख्नु उनिहरुको अधिकार हो ।

यसरी सेवा प्रवाहको लागि खटिने राष्ट्रसेवक जनताका प्रत्यक्ष सेवासँग रहन्छन् । उनिहरुबाट छिटो छरितो प्रविधिमैत्री, सुलभ, सेवाको चाहना राख्नु राष्ट्रसेवक लाई समय सापेक्ष प्रविधिमैत्री बनाउने कदम हो । सचेत नागरिक नै निजामती सेवाको सुधारको सुझावको लागि महत्वपुर्ण भूमिका निभाउने निःशुल्क विशेषज्ञ र राष्ट्रका शुभचिन्तक हुन् । यिनै शुभचिन्तकले दिएको सुझावको कार्यान्वयनले हामी राष्ट्रसेवक जिम्मेवारी साथ राष्ट्र सेवामा लागेर जन गुनासा रहित सेवा प्रवाह गर्न सक्छौ ।

सरकारका तीनवटा अंग मध्ये कार्यपालिका मातहत रहने निजामती सेवा सबै प्रकारका सरकारी सेवाको मियो हो । यहि मियोको पदमा बहाल रहेका राष्ट्रसेवकलाई उत्प्रेरणाका साथ कार्य क्षेत्रमा खटाउँदा सेवाप्रवाह अतिउत्तम हुन्छ । सेवा प्राप्तिको क्रममा क्षतिपूर्ति सहितको सेवा पाउने वातावरण बनाउन सकेमा सेवा लिनेले खुसी साथ सेवा लिन्छन् । विश्वमा विकास हुदै गएका सेवा प्रवाहका नयाँ नयाँ तौर तरिकासँग चिर परिचित बनाएर निजामती सेवालाई प्रविधिले सु–सज्जित बनाउनुपर्ने अबस्था छ ।

सेवा लिने ब्यक्तिमा देखिएको प्रविधिमैत्री चाहनालाई सम्बोधन गरेर सोहीबमोजिम कानुनसम्मत प्रविधि प्रयोग गर्नुपर्ने छ । समय सापेक्ष प्रशासनलाई गतिशील बनाइ परिचालन गर्नुपर्ने भएको छ ।
क्षमता, योग्यता अनुसारको जनशक्तिलाई उचित स्थानमा खटाउँदै आर्थिक रुपमा आकर्षक बनाएर निजामती सेवा परिचालन गर्न सकेमा जन चाहना अनुसारका सेवा सरल, सहज रुपमा जनताका हात हातमा पुर्‍याउन सकिन्छ ।

(लेखक भट्टराई बुटबल उप महानगरपालिकाका लेखा अधिकृत हुुुन ।)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,