Connect with us
Kapilvast Forest

करिब २० करोड खर्चमा घोराहीमा चक्रपथ बन्दै

२०७७, १६ आश्विन शुक्रबारमा प्रकाशित

chakraa-path.jpg
प्रतिनिधिमुलक तस्विर

दाङ – घोराही उपमहानगरपालिकाले चक्रपथ निर्माणको योजना अघि सारेको छ । नगरपालिकाले आफ्ना नौ वडालाई समेटेर बनाएको चक्रपथको नक्शाले अहिलेको सबै वडालाई समेट्न नसकेकाले परिमार्जन गरिएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाले परिमार्जन गरेको नक्शानुसार कामको शुरुआत घोराहीको वडा नं १८ बाट हुन थालेको नगर प्रवक्ता भरत अर्यालले बताउनु भयो । उपमहानगरपालिकाभित्र निर्माण गर्ने भनिए तापनि लामो सयमदेखि रोकिएको चक्रपथ निर्माणको काम यसै सातादेखि शुरु हुने भएको छ । अहिले निर्माण गर्न थालिएको चक्रपथ पहिलेको नगरपालिका हुँदा गरिएको नक्शाङ्कनभन्दा केही परिवर्तन भएको छ । अहिले पहिलो चरणमा घोराही १८ बाट काम शुरु गर्न थालिएको प्रवक्ता अर्यालको भनाइ छ ।

पहिलो चरणमा वडा नं १८ का बाँसखोली, सालघारी, अम्बापुर, मसिना, गिठेपानी, रानीजरुवा हुँदै बाह्रकुने दहसम्म पु¥याइने प्रवक्ता अर्यालले बताउनु भयो । यसका लागि सम्बन्धित टोल विकास संस्थासँग छलफल भइरहेको छ । “केही टोलहरुले सहमतिको निर्णय गरेर दिइसक्नु भएको छ भने अरुले केही दिनमा पठाउने बताउनुभएको छ”, प्रवक्ता अर्यालले भन्नुभयो ।

चक्रपथ निर्माणका लागि केही दिनमा बोलपत्रसमेत आह्वान गरेर चालु आर्थिक वर्षभित्रमा नै सम्पन्न गरिने उहाँको भनाइ छ । “यसै आर्थिक वर्षको बजेटले १८ नं वडाभिभत्र नालासहित बाटो पक्की गरिने छ”, प्रवक्ता अर्यालले भन्नु भयो । अहिले परिमार्जन गरिएको चक्रपथ नालासहित १२ मिटरको हुनेछ । यसका लागि करिब रु २० करोड बजेट खर्च हुने अनुमान उपमहानगरपालिकाले गरेको छ । बोलपत्र आह्वान गरेपछि खर्च हुने रकम निश्चित हुने
उपमहानगरपालिका स्रोतले बताएको छ । पहिलो चरणको काम वडा नं १८ मा सम्पन्न भएपछि दोस्रो चरणको काम अगाडि बढ्ने प्रवक्ता अर्यालले जानकारी दिनु भयो ।

साविकमा त्रिभुवन नगरपालिका हुँदा नै नगरपालिकालाई सडक सञ्जालले जोड्ने गरी चक्रपथ निर्माणलाई अगाडि बढाइएको भए पनि घोराही नगरपालिका बन्दासम्म पनि त्यसले पूर्णता पाउन सकेको थिएन । चक्रपथ निर्माणका क्रममा स्थानीय बासिन्दाले असहमति जनाएर विवाद भएपछि निर्माण रोकिएको थियो । सहमति भएका केही स्थानमा सामान्य बाटो खोल्ने कामसमेत त्रिभुवन नगरपालिका हुँदा नै गरिएको थियो ।

यसरी रोकिएको काम जनप्रतिनिधि आएपछि गति लिने नगरवासीले अपेक्षा गरे पनि लामो समयसम्म पनि चक्रपथले गति लिन सकेको थिएन । अहिले उपमहानगरपालिकाले चक्रपथ निर्माणलाई अगाडि बढाउन खोजेको छ । स्थानीय नागरिकको सहमति लिएर निर्माण अगाडि बढाएमा मात्र सम्पन्न गर्न सकिने नगरवासी बताउँछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,