Connect with us
Kapilvast Forest

दुई अध्यक्षको टकरावले पार्टी एकता गम्भीर संकटमा

२०७७, १७ कार्तिक सोमबारमा प्रकाशित

oli

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या सिर्जना भएको हो ।

प्रचण्ड निकट स्रोतले भने प्रधानमन्त्री पद नमागिएको तर प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकको निर्णयविपरीत कार्य गर्न थालेकाले पार्टीभित्र गम्भीर समस्या सिर्जना भएको दाबी गरेको छ । पछिल्लो भेटमा कार्यकारी अध्यक्ष प्रचण्ड आफैंले प्रधानमन्त्री ओलीसँग अब सँगै जान सक्ने अवस्था नरहेको बताएका थिए भने जवाफमा ओलीले पनि त्यसो भए बाटो ‘क्लियर’ गर्दा हुने बताएपछि दुई अध्यक्षबीचको मतभेद सतहमा आएको हो ।

दुवै अध्यक्ष सहमतिका लागि इच्छुक नदेखिएपछि नेकपा भयानक संकटको मोडमा पुगेको स्रोतको दाबी छ । यद्यपि अन्य नेताहरूले भने दुई अध्यक्षलाई मिलाउने कसरत थालेका छन् । ‘कार्यकारी अध्यक्ष आफैंले दुई जना अध्यक्ष सँगै हिँड्न नसक्ने बताएपछि समस्या आएको हो,’ प्रधानमन्त्री निकट स्रोतले राजधानीसँग भन्यो । तर, कार्यकारी अध्यक्ष प्रचण्ड निकट स्रोतले भने प्रचण्डले प्रधानमन्त्रीसँग त्यस्तो भनाइ नराखेको दाबी गरेको छ ।

दुई अध्यक्षको बढ्दो टकरावका कारण सरकार र पार्टीको अवस्था कमजोर बन्दै गइरहेको देखिएको छ । हालै सम्पन्न स्थायी कमिटीको निर्णय र सहमतिपश्चात् साम्य भएको विवाद फेरि बल्झेपछि पार्टी एकता नै संकटमा परेको हो ।आजको राजधानीमा खबर छ ।

नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नै पार्टीभित्र गम्भीर संकट उत्पन्न भएको खुलासा गरेका हुन् । महासचिव पौडेलले आइतबार ट्वीटरमार्फत नेकपाको एकीकृत र अविभाज्य अस्तित्वसामु गम्भीर संकट उत्पन्न भएकाले एकतालाई जोगाउन सबै नेता तथा कार्यकर्तासँग आह्वान गरेका छन् ।

‘यतिबेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकीकृत र अविभाज्य अस्तित्वकासामु गम्भीर संकट उत्पन्न भएको छ,’ महासचिव पौडेलले लेखेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरूसमक्ष अनुरोध गर्दछु ।’

उनले आपसी अन्तरविरोधलाई सहमतिमा समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्नुपर्ने आवश्यकतासमेत औंल्याएका छन् । नेकपा स्रोतका अनुसार कार्यकारी अध्यक्षले सरकारलाई सहयोग गर्नुको साटो विभिन्न स्थानमा लगातार गुटको भेला गर्दै हिँड्ने र प्रधानमन्त्री ओलीले पनि स्थायी र सचिवालय कमिटीको निर्णयविपरीतका काम गर्न थालेपछि विवाद बढेको हो ।

प्रचण्ड निकट अर्का स्थायी समिति सदस्यले भने प्रधानमन्त्रीले नै पटक पटक सहमति तोड्ने काम गरेकाले समस्या सिर्जना भएको दाबी गरे । यसका साथै कर्णाली प्रदेश विवादमा देखिएको विवाद समाधान गर्नुको सट्टा अध्यक्षद्वय ओली र दाहालले फरक फरक निर्देशन दिनुले विवाद उत्कर्षमा पुगेको हो । नेकपा पर्साका नेता महेश चौरसिया हत्याकाण्ड, प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलसँगको गोप्य भेटघाटले समेत दुई अध्यक्षका बीचमा दुरी बढाएको नेकपा स्रोतको दाबी छ ।

Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,