Connect with us
Kapilvast Forest

अमेरिकामा उपराष्ट्रपति भएकी कमला को हुन् ? यस्तो थियो उनको संर्घष

२०७७, २३ कार्तिक आईतवारमा प्रकाशित

अमेरिकामा ४६ औं राष्ट्रपतिका रूपमा जो बाइडेन चुनिएका छन्। यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन्।

अमेरिकी निर्वाचनमा इतिहास बनाउन सफल कमला को हुन् त?भारतीय मूलकी कमला ह्यारिसलाई चिन्न उनकी आमा चिन्नुपर्छ।

कमलाले अधिकार र कर्तव्यको चेत हुर्कने क्रममै आमाबाटै पाएकी थिइन्। उनकी भारतीय आमाले उतिखेरै अधिकारका लडाइँहरूमा छोरीलाई च्याप्दै अघि बढेकी थिइन् भने जीवनमा गुनासो होइन काम गरेर देखाउनु पर्छ भन्ने पाठ पनि घोकाएकी थिइन्।

सर्वोच्च अदालतको न्यायाधीश छनौटका बेला संसदीय सुनुवाइमा धूम मच्चाएकी सिनेटर कमलाको शरीरमा कसको रगत बगिरहेको छ? पक्कै पनि श्यामला गोपालनको जसले उनकी छोरीलाई आफूजस्तै योद्धा बनाएर हुर्काएकी थिइन्।

‘मेरी आमा हामीलाई जहिल्यै पनि कामै नगरेर यसो भएन र उसो भएन भन्नुभन्दा केही गरेर देखाओ भनिरहनुहुन्थ्यो,’ बुधबार डेमोक्रेट पार्टीकै राष्ट्रपतिका उम्मेदवार जो वाइडेनसँग पहिलोपटक देखापरेकी कमला भनिरहेकी थिइन्, ‘त्यसैले मैले केही गरेर देखाउने आँट गरेकी छु।’

सन् १९६० दशक उदय हुँदै गर्दा बर्क्लेस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा ह्यारिसका आमाबुवा विद्यावारिधि गरिरहेका थिए। त्यतिबेलै उनीहरू एकअर्कासँग नजिकिए। जमाइकाबाट आएका पिता डोनाल्ड ह्यारिस अर्थशास्त्रका विद्यार्थी थिए।

खुला सोचविचार भएका उनीहरू दुवै अभियन्ता भएर निस्के। पृथ्वीकै दुई फरक ध्रुवबाट आएका ती दुवै विद्यार्थीले विश्वविद्यालयमा पढिरहेकै बेला विश्वभर रन्किएको नागरिक अधिकारका आन्दोलनहरू, भियतनाम युद्ध र मतदान अधिकारजस्ता मुद्दाहरूमा आफूलाई समाहित गरेका थिए। अधिकारका लडाइँमा आफूहरूको ऐक्यवद्धता अघि बढिरहेकै बेला उनीहरू एकअर्कासँग प्रेममा पनि गाँसिए।

उनीहरूको अभियानकै एउटा मुख्य कडीका रूपमा विद्यार्थीहरूको सानो समूह हरेक आइतबार एक ठाउँ भेला हुन्थे र काला जातिका लेखकहरूका कृति र संसारभरका गतिविधि लिएर छलफल गर्थे। त्यस्ता छलफलमा दक्षिण अफ्रिकी रंगभेद विरोधी आन्दोलनदेखि लिएर ल्याटिन अमेरिकामा चलिरहेको स्वतन्त्रताका लडाइँ हुँदै अमेरिकामै पनि माल्कोम एक्सका पछि लागेर विखण्डनका कुरा गर्नेहरु मूल विषयवस्तु बन्थे।

त्यसरी छलफल गर्ने समूहकै एक सदस्य अब्रे लेब्रीका अनुसार त्यो साप्ताहिक जमघटमा माओ त्से तुंग र फिडेल क्यास्ट्रोका प्रशंसा चल्थे। त्यसैगरी अमेरिकामै अध्ययनरत मार्क्सवादी विद्यार्थीहरूले खोलेको ‘ब्ल्याक प्यान्थर पार्टी’का संस्थापकहरूको गुणगान हुन्थ्यो।

‘त्यो समूहमै कमलाकी आमा एकमात्र गैरअश्वेत (भारतीय) हुँदाहुँदै पनि उनले आफूलाई यी मुद्दाहरूमा चुर्लुम्म डुबाएकी थिइन्,’ लेब्री स्मरण गर्छन्, ‘गोपालन र ह्यारिसको बौद्धिकताले मलाई असाध्यै प्रभावित पारेको थियो।’

सिनेटर कमलाले अहिले पनि लेब्रीलाई ‘अंकल अब्रे’ भनेर सम्बोधन गर्नुबाटै पनि उनीहरू एकआपसमा कति घनिष्ठ थिए भन्ने संकेत गर्छ।

लेब्रीले देख्दादेख्दै गोपालन र ह्यारिसले बिहे गरे। अनि यो जोडीबाट कमला र दुई वर्षपछि मायाको जन्म भएको थियो। त्यो बेला कलिला सन्तान हुँदा पनि गोपालन र ह्यारिसले अधिकारको लडाइँ त्यागेका थिएनन्।

कमलाले आफैं भनेकी छन्, उनी नाबालकै हुँदा आफ्ना आमाबुवाको जोडतोड साथ चल्ने अभियान र नाराबाजी उनलाई अझै सम्झना आउँछ। धमाधम बढेका कदम र चर्का नाराहरू गुञ्जिएका ती दृष्य सम्झँदा अहिले पनि महासागरजस्तै उर्लिएका ऊर्जाको अनुभूत हुन्छ।

कमलाले आफ्ना लेखहरूमा प्रहरीले पानीको फोहोरा प्रयोग गर्दा आफ्ना आमाबुवाको भागाभाग, आन्दोलनकारी विद्यार्थीको प्रतिकार र एकपटक त हिंसा भड्किँदा भावी सिनेटर (आफू)लाई कसरी दौडेर ज्यान जोगाउन लगाइएको थियो भन्ने वृत्तान्त उल्लेख गरेकी छिन्।

शेरोन मेक्गाफी लामो समयदेखि यो परिवारको साथीका रूपमा छिन्। शेरोनकी आमा रेजिना सेल्टनले कमला र उनकी बहिनीलाई हुर्काउन सघाएकी थिइन्।

‘गोपालन र ह्यारिसले त्यति सानो उमेरका छोरीसँग पनि वयस्कहरूसँग जस्तै वार्तालाप गर्थे,’ शेरोन सम्झिन्छिन्, ‘संसारभरका मानिसले केटाकेटीलाई परै राख्ने विषयवस्तुबारे पनि उनीहरू छोरीहरूसँग खुला रूपमा गफिन्थे।’

त्यस्ता विषयहरूमा नागरिक अधिकारको जुलुसदेखि लिएर आमाले भाषण गर्ने बैठक वा गोष्ठीमा सहभागी हुनेसम्मका कुरा चल्थे।

‘त्यति साना छोरीहरू पनि पछाडि झोला बोकेर आमाको पछिपछि लुखुरलुखुर लाग्थे,’ शेरोन भन्छिन्, ‘अनि वयस्कहरूको त्यो अभियान वा आन्दोलनका हिस्सा बन्थे।’

बिहे गरेको केही वर्षमै कमलाका बावु र आमाले सम्बन्ध विच्छेद गरे। कमलाले आफ्नो जीवनीमा यसरी आमाबावु छुट्टिएपछिको पीडाबारे थोरै मात्र उल्लेख गरेकी छन्। कमलानिकट व्यक्तिहरूका अनुसार उनको बाल्यकाल सुखी नै थियो जसमा आमाले भान्छामा पकाएका परिकारको सुगन्ध र निरन्तर संवाद अनि हाँसो भरिएको थियो।

पितासँग अलग भएपछि दुवै छोरीमा आमाको प्रभाव झनै बढेर गयो। कमलामा आमाप्रतिको लगाव जीवनका हरेक मोडमा गाढा देखिँदै आएको उनीनिकट व्यक्तिहरू बताउँछन्।

‘हाम्री आमा को थिइन् भन्ने कुरा थाहा नपाउन्जेल तपाईंलाई कमला ह्यारिसबारे थाहा पाउन गाह्रो हुन्छ,’ जो वाइडेनले दिदीलाई उपराष्ट्रपतिका उम्मेदवारका रूपमा चुनेलगत्तै कमलाकी बहिनी मायाले मंगलबार ट्वीट गर्दै लेखेकी छन्, ‘आज मलाई दिदीको असाध्यै याद आइरहेको छ। तर पनि यतिबेला उनी र हाम्रा पुर्खाहरू मुस्काइरहेका छन् भन्नेमा म पक्का छु।’

कमलासँगको सम्झना उनको शिशु कक्षाकी सञ्चालिका स्टेसी जोन्सन बाटिस्टसँग पनि छ।

कक्षाकोठामा ‘बुली’ गर्ने कुनै केटोले कमलाले तयार पारेको प्रोजेक्ट उठाएर फ्याँकिदिएको थियो। त्यतिबेला सहयोग माग्दै कमला आफूनजिक आएकी स्टेसी अहिले पनि सम्झिन्छिन्। स्टेसीका अनुसार त्यसपछि ती केटोसँग झगडा चर्किएको थियो। केटोले कुनै चिजले कमलाको टाउकामै यस्तरी हिर्काइदिएको थियो, रगत बग्न थालेपछि अस्पतालै लैजानुपरेको थियो।

त्यो घटनापछि कमलासँग आजपर्यन्त राम्रो सम्बन्ध कायम भएको स्टेसी सुनाउँछिन्। उनका अनुसार कमलामा उनकी आमा गोपालनको जस्तै सोच भरिएको छ।

‘त्यतिबेलादेखि नै म देख्दै आइरहेकी छु,’ स्टेसी भन्छिन्, ‘कमला आफूले सही देखेको कुरामा टसमस नभई अडिन्छिन्।’

किशोर अवस्थामा हुँदा कमलाकी आमाले अन्यत्र जागिर पाएपछि यो परिवार मोन्ट्रियल सरेको थियो। त्यतिबेलै कमलाले आफूमा कसरी परिवर्तन ल्याउने भनेर खोजी थालिन्। घरबाहिरको चौरमा फुटबल खेल्न गरिएको निषेधलाई दिदीबहिनी मिलेर प्रतिवाद गरे। त्यो प्रतिवादपछि नियमै फेरिएको कमलाले बताएकी छन्।हाइस्कुलको पढाइ सकिनेबित्तिकै कमलाले वकिल बन्न अगाडिको पढाइ तयारी गरिन्।

सानफ्रान्सिस्को बोर्ड अफ सुपरभाइजरकी पूर्व सदस्य सोफी म्याक्सवेलका अनुसार कमलाले सडक अभियानलाई निरन्तरता दिन त्यसमा कानुनको ज्ञान पनि जोड्न चाहिन् जसले एकअर्कालाई परिपूरकको काम गर्थ्यो।

वासिङटन डिसीस्थित होवार्ड विश्वविद्यालय पढ्दाकी सहपाठी सेली योंग थम्पकींग्स अहिले पनि कमलालाई सम्झिन्छिन्। उनका अनुसार कमला त्यतिबेलै जीवनमा आफूले गर्न चाहेका कुराप्रति दृढ थिइन्। उनी पढाइमा गम्भीर थिइन्। विरोध र प्रदर्शनका निम्ति जसोतसो समय निकाल्ने गरे पनि अन्तिम वर्षको परीक्षा नसिद्धिएसम्म उनले कलेज जीवनका रमाइला पनि बिर्सेर एकाग्र भई पढेकी थिइन्। त्योबेला सेली र कमला दुवैले ‘स्टुडेन्ट काउन्सिल’को पदाधिकारीमा जितेका थिए।

‘आफूलाई योग्य बनाउन आमाले गरेको अथक परिश्रम कदापि खेर जान नदिने दृढता कमलामा थियो,’ सेली सम्झिन्छिन्, ‘त्योबेला भर्खर कलेज आएका हामी दुवैमा यो संसार बदलिदिनेछौं भनेजस्तो जोश र जाँगर थियो।’

त्यसपछि कमलाको कथा झनै धेरैलाई थाहा छ। उनी ‘ल स्कुल’ पढ्न क्यालिफोर्निया फर्किएदेखि ओकल्यान्ड र सानफ्रान्सिस्कोस्थित वकिलको कार्यालयमा कानुनी पेसा अपनाउने पहिलो प्रयासमा असफलता हात लागेकोसम्म।

जिल्लाको सरकारी वकिलका रूपमा आफ्ना हाकिमलाई पनि परास्त गरेर सफलतापूर्वक कार्यसम्पादन गरेको, राज्यकै महान्याधिवक्ताका रूपमा चयन हुँदै अमेरिकी सिनेटरदेखि एकपटक त राष्ट्रपतिकै निम्ति गरेको प्रयाससम्म जुन प्रारम्भिक चरणमै भंग भएको थियो।

यी प्रत्येक कदममा कमलाका साथीहरूले उनलाई एकोहोरो भएर आमाबावुकै पथमा लम्किरहेका पाए। पहिलोपटक चुनावमा होमिएकी कमलाको प्रचारप्रसारमा एकसाथ घुँडा धसेर लाग्दादेखिको सम्झना एन्ड्रिया ड्युसँग छ।

‘उनी सदैव आमाको चर्चा गरिरहन्थिन्,’ एन्ड्रिया भन्छिन्, ‘आमा ज्युँदो हुँदा त शक्तिको श्रोत नै थिइन् भने दिवंगत भएपछि पनि उत्तिकै बलियो श्रोत बनिरहेकी छिन्।’कमलाकी आमा बितेको एक दशक नाघिसकेको छ।

एन्ड्रियाले कमलाकी आमालाई एउटा प्रचार कार्यक्रमकै बेला बल्लतल्ल भेट्ने आकांक्षा पूरा गरेकी थिइन्। त्यो पहिलो भेटमै उनको मनमा बत्ती बलेको थियो, ‘ए कमलाको निर्माण त यहाँबाट पो भएको रहेछ!’

कमलाकी आमा संसारले आफूलाई बेग्लै ढंगले चिनोस् भन्ने चाहन्थिन् जुन प्रभाव छोरीमा पनि आएको थियो। आमालाई चिन्नेहरूका अनुसार उनी अमेरिकामा व्याप्त जातीय असमानताप्रति दिक्दार प्रकट गर्थिन्।

आफ्ना छोरीहरू अश्वेतकै रुपमा चिनिनेछन् भन्ने उनलाई थाहा थियो। त्यसैले उनले छोरीहरूलाई अश्वेत संस्कृति र काला जातिका महान व्यक्तित्वको घेरामा नजिक्याइन्।

दुवै छोरीले अश्वेतहरूको चर्चमै गाए र ‘रेन्बो साइन’मा घुमेरै बिताए। रेन्बो साइन बर्क्लेको पूर्व चिहानघारी थियो जसलाई कालान्तरमा अश्वेत संस्कृतिको केन्द्रका रुपमा परिणत गरियो।

सिनेटर कमलाले आफू कलेजमा रहँदा रंगभेद विरोधी अभियानमा सरिक भएको र आमासँगै मिल्दोजुल्दो जीवनशैलीमा ढालिएको बताउँदा बताउँदै पनि एउटा कुरामा आफूलाई बेग्लै बनाइन्। त्यो हो, परिवर्तनका लागि उनले लड्ने मात्र होइन आफ्नो भागको खोजी पनि गरिन्।

‘दी ट्रुथ्स वी होल्ड’ मा उनले लेखेकी छन्, ‘म परिवर्तनका लागि जीवनभर बाहिरबाट न्यायको खोजीमा एकीकृत भएका वयस्कहरूबाट नारा र जुलुस हेर्दै हुर्किएँ। त्यहीँ मैले यो सब प्रक्रियामा हामी आफूभित्रको पनि महत्वपूर्ण भूमिका हुन्छ भन्ने जानेँ।’

राजनीतिक जीवनलाई अघि बढाउन कमलाले उनकी आमाको पुस्ताकै एक लोग्ने मानिसलाई पराजित गर्नुपर्थ्यो। बामपन्थी धारतिर ढल्केका परिवारका सदस्य ती व्यक्ति उदारवादी सोचका वकिल थिए। नागरिक अधिकारको लडाइँमा पनि होमिएका ती वकिलले अदालतमा कतिपय अधिकारकर्मीको पक्षमा लडिदिएका थिए जसका माझ उनको नायक छवि नै बनेको थियो। त्यस्ता व्यक्तिलाई हराउन कमलाले असाध्यै मुश्किल सामना गर्नु परेको थियो।

एकपटक ओहोदामा पुगिसकेपछि अब कमलाका अघिल्तिर कानुनी प्रबन्धनहरू र राजनीतिक क्षेत्रका वास्तविकताहरू थिए। यस्तोमा उक्साहटमा आएर केहीले उनले प्रगतिशील दावीहरू छाडेको आरोप लगाउँदै विरोधमा पनि ओर्लिए। अन्य धेरैले पछिसम्मै कमलाको पक्षमै आफूलाई उभ्याइरहे।

उनले आफ्नो दर्शनलाई आमाले देखाएको उदाहरणमै उभ्याएकी छन्– हरेक दिन स-साना पाइला चाल्दै ठूलो लक्ष्यका लागि आफूलाई केन्द्रित गरिरहने।

‘आमाले त्यो परको सपनाभन्दा पनि आफ्नो अघिल्तिरका काम कसरी सही ढंगले फत्ते गर्ने भन्नेमा आफूलाई केन्द्रित गर्नुभएको थियो,’ कमलाले लेखेकी छन्।

विद्यावारिधि गरिसकेपछि दक्षिण भारत फर्केर आमाबुवाले हेरिदिएको केटोसँग बिहे गर्ने आशा पूरा नगरेकी कमलाकी आमाले पुस्तौं पुस्तादेखि चलिआएको परम्परा पनि अस्वीकार गरेकी थिइन्। आमाको त्यही क्रान्तिकारी गुण आफ्नो रगतमा परेको छोरीले देखाइरहेकी छन्।

कमलाकी मावली हजुरआमाले पनि घरेलू हिंसाका पीडितलाई साथ-सहयोग दिनुका साथै उतिबेलाको भारतीय समाजमा महिलाहरूलाई गर्भनिरोधकका बारेमा जानकारी दिएकी थिइन्। त्यसैगरी मावली हजुरबुवा भारतको स्वतन्त्रता संग्राममा लड्नुका साथै कुटनीतिज्ञसमेत बनेका थिए। भारतमा अंग्रेज शासन अन्त्यपछि हजुरआमा-हजुरबुवा जाम्बियामा बसेर शरणार्थी व्यवस्थापनमा संलग्न भएका थिए।

कमलाकी आमा क्यानाडाबाट फर्केपछि लरेन्स बर्क्ले नेशनल ल्याबोरेटरीमा काम गरेकी थिइन् जसका हाकिम थिए जो ग्रे। ती पाँच फिट एक इन्चकी महिला आफ्नो कार्यालयमा आएपछि प्रभावशाली व्यक्तित्वको प्रभावले कसरी कार्यकक्षलाई फेरिदिएकी थिइन् भनेर जो अहिले पनि सम्झना गर्ने कोशिस गर्छन्जो अहिले ओरेगन हेल्थ एन्ड साइन्स युनिभर्सिटीका प्राध्यापक छन्।

‘धुन्धानै काम गर्ने महिला त होइन,’ जो भन्छन्, ‘तर, जातीय र लैंगिक समानताको पक्षमा उनी बलियो खम्बा थिइन् जसलाई कसैले असंवेदनशील टिप्पणी गरेको छ भने कदापि स्वीकार्य हुँदैन थियो।’

जो आमाजस्तै कमलासँग नजिकिएका त छैनन्। तर, टाढै बसेर पनि छोरीमा आमाबाट आएको गुण देख्दा उनलाई फेरि पुराना दिन सम्झना हुन थालेको छ।

‘म टिभीमा हेरिरहेको छु, कमलाम पनि श्यामला गोपालनको प्रत्यक्ष गुण र सामाजिक न्यायका पक्षपोषण प्रतिबिम्वित भइरहेको देख्दैछु,’ उनी भन्छन्, ‘म त उस्तै पो महशुस गरिरहेको छु।’

ठ्याक्कै यस्तै महसुश लतिफा सिमोनले पनि गरेकी छन्। हाइस्कुलमै पढाइ छाडेकी लतिफालाई कमलाले नोकरीमा लगाएकी थिइन्। त्यतिबेलै उनले कमलाको आमालाई पनि देख्ने मौका पाइन्।

चुनाव तयारीका क्रममा लतिफाले कमलाकी आमालाई सधैं अघिल्लो घेरामै बसेको देख्थिन् जसको अनुहारमा छोरीप्रति गौरव देखिन्थ्यो। स-साना कुरामा पनि आमाछोरीमा कति धेरै एकरूपता थियो भन्ने उनले महशुस गरेकी थिइन्। दुवै अत्यन्तै परिश्रमी हुनुका साथै आफ्ना निम्ति काम गर्नेलाई रमाइलो पारिराख्थे। अनि कोठै थर्किनेगरी खुब खुलेर हाँस्थे।

एकपटक चन्दा संकलन चलिरहँदा लतिफा टेनिस जुत्ता लगाएर उभिएकी थिइन्। त्यस्तो क्षणका निम्ति त्यो पहिरन उचित मानिँदैन थियो। तसर्थ उनलाई त्यहाँबाट कतै अन्त पठाउन पर्ने भयो। यस्तो स्थितिमा कमलाकी आमाले ‘हामीले सधैं आफूलाई सर्वोत्कृष्ट प्रदर्शित गर्नुपर्छ’ भनेर भद्र पाराले सम्झाएको लतिफा अहिले पनि सम्झिन्छिन्।

त्यसको धेरै वर्षपछि एउटा अर्को घटनामा ठ्याक्कै त्यही गुण छोरी कमलामा पनि देखियो। चुनाव प्रचारको बसबाट ओर्लिँदै गर्दा कमलाले साथीहरूलाई सुझाव दिने बेलामा उस्तैगरी भनेकी थिइन्, ‘साथी हो, आ-आफ्ना चश्मा पुछ है। मलाई तिमीहरूमाथि विश्वास छ र मैले जे देखिरहेकी छु अरूले पनि तिमीहरूमा त्यही देखून् भन्ने चाहन्छु।’

आफूले एक झलकमा आमामा देखेको गुणले त आफूलाई प्रभाव पारिरहेका बेलामा कमलाले त सिंगो हुर्काइमा आमाबाट त्यस्ता गुण पाएको लतिफा बताउँछिन्।

यी यस्ता प्रभाव हुन् जसमा कमलाको बुवाको अंश कमै छ। कमलाका बुवा र आमाले उनी पाँच वर्ष पनि नपुग्दै सम्बन्ध विच्छेद गरेका थिए। कमलाले बुवा स्ट्यानफोर्ड विश्वविद्यालयको प्राध्यापक भएपछि उनलाई सप्ताहान्ततिर वा गर्मी बिदामा मात्र भेटेको लेखेकी छन्।

जमाइका ग्लोब नामको वेबसाइटमा एउटा लेख लेख्दै कमलाका बुवाले छोरीहरूप्रतिको आफ्नो प्रेममा कहिल्यै कमी नआएको उल्लेख गरेका छन्। त्यसैगरी कमलाले पनि बुवालाई ‘सुपर हिरो’ भनेर लेखेकी छन्।

यति हुँदाहुँदै पनि बाबुछोरी बीचको सम्बन्धमा गत वर्ष चिसोपन देखिएको थियो। कमलाले जिस्कँदै आफूले गाँजा सेवन गर्नुका पछाडि जमाइकन बुवाबाट आएको प्रभाव भनेकी थिइन्। त्यस प्रतिक्रियाले खिल्ली उडाएको भनेर बुवाले दुःख प्रकट गरेका थिए।

‘पहिचानको राजनीतिक दुनो सोझ्याउने नाममा’ पारिवारिक प्रतिष्ठालाई आघात पार्ने लज्जास्पद काम भएको बुवाको भनाइ थियो।

अब्रे लेब्रीका अनुसार कमलाले सिनेटको पदभार ग्रहण गर्ने समारोहमा बुवाले उपस्थिति जनाए पनि छोरीको चुनावी प्रचारमा उनको उपस्थिति देखिएको थिएन। यसका पछाडि त्यो गाँजाकै विवाद कारक रहेको उनी अनुमान लगाउँछन्।’बाबुछोरीको सम्बन्धमा अन्तिम धक्का त्यही घटनाले लगाएजस्तो लाग्छ,’ उनले भने।

आफ्नो जीवनमा आमाको एक्लो प्रभावकै कारण आमाको मृत्यु कमलाको निम्ति निकै कष्टकर बनेको थियो। छोरीको प्रारम्भिक चुनावी प्रचारमा सक्रिय गोपालनले पछिल्लो चरण देख्नै पाइनन्। कमला अहिले पनि आमालाई बारम्बार याद गरिरहने बताउँछिन्।’मेरो अहिले पनि गला अवरुद्ध हुन्छ,’ उनले गत वर्ष एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘आमाको मृत्युको जतिसुकै समय बिते पनि त्यसले केही फरक नपार्ने रहेछ।’

आमाले छाडेर गएका भाँडावर्तन र काठका चम्चा अहिले पनि आफूले प्रयोग गरिरहेको कमला बताउँछिन्। कहिलेकाहीँ बेलैमा घर फर्किएर भान्छामा पकाइरहेको बेला आमालाई सम्झिन्छिन्। आमाको निलमजडित औंठी अहिले पनि कमलाको औंलामा चम्किरहेकै छ। उनलाई अहिले पनि आमा भइदिएको भए कति कुरा सोध्थेँ होला भन्ने लाग्छ।

‘यो साता आमा यहाँ हामीसँग भइदिए हुन्थ्यो भन्ने कुराले असाध्यै छटपटी भइरहेको छ,’ कमलाले भनेकी थिइन्। जिल्ला न्यायाधिवक्ता भएर सपथ लिँदै गर्दा आफ्नो छेवैमा गर्वसाथ आमा खडा भएको तस्बिर उनले सँगालेर राखेकी छन्।

‘म श्यामला गोपालन ह्यारिसकी छोरी हुँ भन्ने भन्दा संसारमै मेरो निम्ति ठूलो अर्को कुनै पद वा उपाधि छैन,’ उनले लेखेकी छन्, ‘मैले सबभन्दा साँचेर राखेको जीवनकै प्यारो सत्य पनि यही हो।’

(एपीका लागि म्याट सेडेन्सकीले लेखेको स्टोरीको भावानुवाद)

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,