Connect with us
Kapilvast Forest

सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीक छठ

२०७७, ३ मंसिर बुधबारमा प्रकाशित

धर्मेन्द्र झा-
देशभित्र त्यस्ता थुप्रै सांस्कृतिक अवयव छन् जसले देशलाई एकतासूत्रमा आबद्ध गर्न मद्दत मात्र गर्दैन, समग्र राष्ट्रियता प्रवर्धनमा पनि निर्णायक भूमिका निर्वाह गर्न सक्छ/गर्दछ। त्यस्तै एउटा प्रतीक हो- महापर्व छठ।

प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी (प्रदोष षष्ठी) को साँझ र सप्तमीको विहान सूर्यलाई अघर््य दिई मनाइने यो पर्व चारदिने अनुष्ठान हो। यस पर्वमा घरकी ज्येष्ठ महिलाले व्रत बसी पूजा गर्ने चलन छ।

पर्वको पहिलो दिनलाई नहाय-खाय भनिन्छ। यस दिनमा व्रतालुले नुहाई धुवाई गरी शुद्ध भई व्रतका लागि सम्पूर्ण तयारी थालिन्छ।

दोस्रो दिनलाई खरना भनिन्छ। यस दिन व्रत र पूजाकोे संकल्प गरिन्छ। साँझपख घरमै पूजा गरिन्छ। यस दिन दिउँसोभरि छठको मूल पूजामा अर्पण गरिने प्रसादको जोहो गरिन्छ। खरनाको दिन साँझ व्रतालु महिलाले गुड र दूधको प्रयोग गरी बनाइएको खिर खाने चलन छ। त्यसपछि व्रतालु महिलाले पूजाको समापन नहुञ्जेल केही पनि नखाई व्रत बस्छन्।

तेस्रो दिन छठको पूजा हुन्छ। यस दिन साँझपख अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ। चौथो दिनलाई परना भनिन्छ। यस दिन उदाउँदो सूर्यको पूजा गरी अर्घ्य चढाइन्छ र पर्वको समापन गरिन्छ।

यस वर्ष यो पर्व मंसिर ३ गते (बुधबार) सुरु भएर ६ गते (शनिबार) समापन हुनेछ। यसअनुसार बुधबार नहाय–खाय, बिहीबार खरना, शुक्रबार साँझको अर्घ्य र शनिबार बिहानको अघ्र्यको कार्य हुनेछ। जटिल विधिविधान र सार्वकालिक महत्त्वका आधारमा यसलाई महापर्व पनि भन्ने गरिएको छ।

मूलतः मैथिली र भोजपुरीभाषी क्षेत्रबाट प्रारम्भ भएको मानिने यो पर्व पछिल्लो कालखण्डमा एउटा भूगोलमा मात्र सीमित नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय महत्त्वको भइसकेको छ।

पछिल्लो दिनमा आफ्नो महत्ताका करण यो पर्व विश्वका ती सबै क्षेत्रमा विस्तारित भइरहेको छ जहाँ मैथिली र भोजपुरीभाषीको वसोवासको विस्तार भएको छ। यस अर्थमा आजको सन्दर्भमा यो पर्व अमेरिका, बेलायत, युरोपका विभिन्न देशमा समेत मनाउने गरिएको छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यो पर्व खास भूगोलमा मात्र सीमित रहेको पाइँदैन। विगतमा विभिन्न दायित्व, पेसा, रोजगारीका सन्दर्भमा देशका विभिन्न ठाउँमा पुगेका मैथिली-भोजपुरीभाषीले आफ्नो सुविधाअनुकूल त्यहीँ यो पर्व मनाउने थाले र यो पर्वलाई राष्ट्रिय महत्त्वको बनाउन भूमिका निर्वाह गरे। पछिल्ला दिनमा यो पर्व, पूर्वी पहाडको पाँचथर, ताप्लेजुङदेखि पश्चिमको दार्चुला र डोटीलगायतका स्थानमा समेत मनाउने गरिएको छ।

देशको राजधानी काठमाडौंलगायत उपत्यकाका विभिन्न तलाउ-पोखरीमा भव्यतापूर्वक मनाउन थालिएको निकै वर्ष भइसक्यो।

२०२०-३० को दशकतिर उपत्यकाका कीतिपुर, बल्खु, कालीमाटी, कुलेश्वर क्षेत्रमा सामान्य ढंगले मनाउने गरिएको यो पर्व पछिल्ला वर्षमा पूरै उपत्यकामा विस्तार हुन पुगेबाट यो पर्वप्रतिको स्वीकृति र यसको सांस्कृतिक एकीकरणको क्षमता स्वतः स्पष्ट हुन आउँछ। यसै आधारमा पछिल्लो समयमा यो पर्व राष्ट्रिय एकता निर्माणको एक महत्त्वपूर्ण प्रतीक बन्न पुगेको छ।

छठ पर्व कहिलेदेखि मनाउन सुरु गरियो त्यसको यकिन गर्न सकिएको छैन। व्यवहारमा मैथिल सभ्यताको प्रारम्भसँगै यो पर्व प्रचलनमा रहेको विश्वास गरिन्छ। यो पर्वको उपासना विधिको विश्लेषण गर्दै गएका खण्डमा यो पर्व मूलतः प्रकृतिपूजनसँग सम्बन्धित रहेको पाउन सकिन्छ।

यो पर्व जलाशाय, नदी, पोखरी, ताल तलैयालगायतका जलस्रोत क्षेत्रमा उपस्थित भई सूर्यको उपासना गरी मनाइन्छ। पर्व मनाउने क्रममा जलस्रोत र सम्बन्धित क्षेत्रको शुद्धता र सफाइमा विशेष ध्यान दिइन्छ। यो शुद्धता र सफाइको कार्यले जल जीवनदायिनी हो र यसको संरक्षण र शुद्धता सृष्टिको कल्याणका लागि अपरिहार्य छ भन्ने सन्देश दिन्छ।

यस पर्वमा चढाइने वस्तुहरु पनि प्रकृतिमै आधारित छन्। जस्तै : उखु, बोटसमेतको बेसार र त्यसबेला उपलब्ध अन्य कृषि-खाद्य सामग्री। यसले पनि प्रकृतिको सम्मान गर्नुपर्ने पाठ नै सिकाउँछ।

यसैगरी यो पर्वको केन्द्रीय पूजनीय तत्त्व हो सूर्य। सूर्यलाई शक्ति मानिन्छ। यस आधारमा यो पर्वलाई शक्ति पर्व पनि मानिन्छ। सूर्य ऊर्जाको केन्द्र हो। यसै ऊर्जाले प्रकृति-सृष्टि सञ्चालित छ। ऊर्जाको अनुपस्थितिमा जीवन सञ्चालन हुनै सक्दैन। यस आधारमा सूर्यप्रति अनुग्रहित हुने पर्वका रुपमा पनि छठ पर्वको महत्त्व छ।

यो पर्वमा अस्ताउँदो सूर्यले विगतको स्मरण गर्दै आत्ममूल्यांकन गर्न र उदाउँदो सूर्यले सुन्दर र स्वस्थ्य भविष्यको निर्माणमा जुट्न अभिप्रेरित गर्ने विश्वास गरिन्छ। यो पर्वलाई स्वास्थ्य, निरोगिता र सन्तानप्राप्ति र कल्याण तथा परिवारको उन्नति र रक्षाको पर्वमा श्रद्धापूर्वक मनाइन्छ।

सूर्य र प्रकृतिले जसरी कसैप्रति भेदभाव गर्दैन त्यसरी नै छठ पर्वले पनि कसैलाई भेदभाव गर्दैन। पूजा र उपासनामा कसैलाई निषेध गर्दैन। छठ घाटमा मधेसी मात्र उपस्थित हुँदैनन्। हिन्दू मात्र पनि उपस्थित हुँदैनन्। हुनेखाने मात्र होइन हुँदा खानेमा पनि उत्तिकै उल्लास र श्रद्धा देखिन्छ । यस्तै जातपातका आधारमा छुवाछुत देखिँदैन।

छठ पर्वप्रतिको आस्थामा कसैमा विभेदको अनुभूति हुँदैन। सबैले आत्मसम्मान र प्रतिष्ठासहित जीवनयापन गर्न सकून्, छठ पर्वको सन्देश विश्लेषण गर्ने हो भने पनि सारमा यही कुरा बुझ्न सकिन्छ—सर्वजन हिताय सर्वजन सुखाय। जहाँ आस्था हुन्छ त्यहाँ विश्वास हुन्छ। संशय र आशंका हुँदैन। छठका सन्दर्भमा यो दृष्टिकोण स्पष्टतः दृष्टिगोचर हुन्छ। यही कारण हो, यो पर्वले आज अन्तर्राष्ट्रिय स्वरुप ग्रहण गरेको छ। पछिल्लो समयमा राज्यले यस पर्वको सामाजिक महत्त्व बोध गरेको छ र बिदा दिने गरेको छ।

यसपटक चौतर्फी कोरोनाको कहर छ। विश्वव्यापी कोरोना महामारीको प्रभाव नेपालमा पनि परेको छ र छठ पनि यस महामारीबाट प्रभावित हुने पक्का छ। यस पर्वका अवसरमा पूजास्थल र वरिपरि निकै भीडभाड रहने गर्दछ। छठको पर्व निकै रमाइलो हुने हुँदा सर्वसाधारण यस पर्वप्रति आकर्षित हुने गर्दछन् र भीडको आकारमा सर्वसाधारण पूजा स्थल अर्थात् छठ घाटवरिपरि झुम्मिने सम्भावना रहन्छ। भीडमा कसलाई कोरोना छ वा छैन भन्ने कुराको यकिन गर्न सकिँदैन। यस अवस्थामा कोरोनाको संक्रमणको खतरा बढन सक्छ। श्रद्धालुहरुले यस पर्वको आयोजनका बारेमा सोच्दै गर्दा कोरोनाको गम्भीरताबारे बुझ्नु अपरिहार्य छ।

सम्भव हुन सक्छ भने यसपटकको छठ भीडभाड नगरिकन मनाउनु उचित हुन्छ। यसका लागि प्रशासनलगायतका सरोकारवालाहरु समय छँदै जिम्मेवार बन्नु जरुरी छ।

त्यसो त तराई-मधेसका कतिपय स्थानमा प्रशासनले भीडभाड नगरीकन छठ मनाउन निर्देशन जारी गरिसकेको छ। वास्तवमा छठको यो अवसर अघिपछिको भन्दा निकै संवेदनशील र चुनौतीपूर्ण छ। विभिन्न ठाउँबाट मानिस यस पर्वका नाममा पूजास्थल आउने क्रम जारी छ। यस्तोमा कोरोना संक्रमणको त्रास स्वाभाविक रुपले बढेको छ। त्यसैले छठका अवसरमा थप सावधानी अपनाउनु जरुरी छ।
-नेपालसमय

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement Agriculture Development Bank Bahubali Cement
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Bikar Etta Udhyog Kapilvastu: न्यु ज्याेति ईट्टा उद्योगको उत्कृष्ट ईट्टा,