Connect with us
Kapilvast Forest

वनमन्त्रीको अक्सिजन अर्थ

२०७७, २२ फाल्गुन शनिबारमा प्रकाशित

हँसाउने कलामा प्रधानमन्त्रीलाई समेत दुई कदमपछि पारेर वनमन्त्रीले मच्चिँदै भने: ‘हामी रुखलाई अक्सिजन दिन्छौँ रुखबाट कार्बनडाइअक्साइड पाउँछौँ ।’

वनमन्त्रीको नयाँ खोज र अनुसन्धान सुनेर सबै चकित परे । स्कुलमा विज्ञान विषय पढ्दै गरेका विद्यार्थी र नासाका वैज्ञानिकसमेत अलमलिए । विद्यार्थीले हतारहतार किताब पल्टाए । नासाका वैज्ञानिकले मान्छे र रुखको श्वास निकालेर प्रयोगशालामा जाँच गरे । तर वनमन्त्रीको कुराले कसैगरी पनि मेल खाएन । मान्छेले रुखलाई कार्बनडाइअक्साइड दिने र रुखले मान्छेलाई अक्सिजन दिने पुरानो लेनदेन र मान्यतामा अझै यताउता नभएको तथ्य प्रयोगशालाबाट पुष्टि भयो । रुखलाई मान्छेले अक्सिजन दिने र मान्छेलाई रुखले कार्बनडाइअक्साइड दिने भन्ने वनमन्त्रीको कुरा मेल खाएन ।

त्यसो भए मन्त्रीजस्तो मान्छेले अक्सिजन र कार्बनडाइअक्साइड हावाको बारेमा हावा कुरा गरेका होलान् त ? धेरैले यस्तै सोचे । हावाबारेको मन्त्रीको कुरालाई हावामा उडाइदिए । कतिले त शिवरात्रि नआउँदै मन्त्रीले भाङ खाए कि भन्ने अन्दाज पनि लगाए ।

तर नासाका वैज्ञानिकलेसमेत प्रमाणित गर्न नसकेको मन्त्रीको भाषणमा अचम्मको सत्य लुकेर बसेको छ भन्ने कुरा धेरैले थाहा पाउन सकेनन् । ल सुन्नुहोस्, अक्सिजन र कार्बनडाइअक्साइडको नयाँ तथ्य पत्ता लगाउने वनमन्त्रीका असली कुरा ।

सबैलाई थाहा छ, अक्सिजन दिनु भनेको प्राण दिनु । ज्यान दिनु । जसलाई दिने हो उसको लागि मरिहत्ते गर्नु, उसलाई खुशी बनाउनु । उसलाई तलमाथि केही नहोस्, कसैले यताउति गर्न नपाओस् भनेर श्वास भर्नु ।

अहिलेसम्म रुखले मान्छेलाई अक्सिजन दिएर यही गुन लगाउँदै आएको हो । अनि मान्छेले पनि रुखलाई कार्बनडाइअक्साइइड दिएर हावाको बदलामा हावा दिएर गुन तिर्दै आएको छ । संसारका सबै मान्छे र रुखबीचको यो तालमेल र लेनदेन अझै कायम छ र भविष्यमा पनि रही नै रहनेछ । तर नेपालमा भने सरकारका मान्छेहरुलाई रुखसँगको यो तालमेल केही मिलाउनुपर्ने भएको छ ।

नेपालमा यतिबेला रुखसँगको सिधा साइनो दुई थरीसँग छ । एउटा कांग्रेस, अर्को विप्लव । कसरी भनेर भन्नु नपर्ला । रुख कांग्रेसको चुनाव चिह्न, विप्लव रुखले ढाकिएको वनजङ्गलबाट भर्खरै सहर पसेका । अहिलेका प्रचण्ड, भट्टराई, वैद्य, बादलहरु पनि यसैगरी जङ्गलबाटै आएका हुन् । अहिले बादलबाहेक अरु तर्किएका छन् । बादललाई त जसोतसो आफैंसँग राख्न पाइएको छ । अहिले नजिक हुन खोजेका विप्लव पनि फेरि रुख भएको जङ्गल नै फर्कन्छु भनेर बटारिए भने प्रचण्डलाई के देखाएर तर्साउनु ? अनि रुखैरुख बोकेर दाउ हेरेर बसिरहेको कांग्रेस उतैतिर ढल्क्यो भने कुर्सी कसरी जोगाउनु ? त्यसैले सरकारका मान्छेहरुलाई हिजोआज रुखले बेलाबेला झस्काउँछ ।

कांग्रेसको रुखलाई आफ्नै आँखा अघिल्तिर राखेर हेरचाह गर्नुछ । रुखको बाटो हुँदै शहर पसेका विप्लवलाई पनि आफ्नो आसपासमै राख्नु छ । रुखको ठेक्का लिने काम वनमन्त्रीको हो। त्यसैले रुखलाई आफ्नो अक्सिजन दिएर भए पनि कुर्सी जोगाउनुपर्छ भन्दैछन् ।

हुन त रुखसँग साइनो भएको कांग्रेसलाई आफूतिर तान्न नसकेर थकित भएका प्रचण्डहरु विप्लव सहर पसेपछि चकित भएका होलान् । भित्रभित्रै डाहा पनि लागेको होला । छटपटी भएको होला । तर डाहा गरेर के पो हुन्छ र मन जल्नु बाहेक ? मन हरियो पार्न कि त पोलिटिक्स, कि त ओलीटिक्स जान्नुपर्यो ।

पोलिटिक्स त अलिअलि सबैले जानेकै थिए । तर ओलीटिक्स त प्रचण्डले समेत बुझ्न सकेनन् । ओलीटिक्समा मन्त्रीहरु बेलाबेला आफूले के बोलेँ भन्ने पनि आफैंले समेत पत्तो नपाउने गरी बोल्न सक्छन् । मच्चीमच्ची भाषण ठोक्न सक्छन्। वनमन्त्रीको अक्सिजन र कार्बनडाइअक्साइडको खेल पनि यही हो । वनमन्त्रीको हावाबारेको यो भाषणलाई हावामा उडाउनु, खिसिटिउरी गर्नु भनेको कार्बनडाइअक्साइड लिएर अक्सिजन फाल्नुजस्तै हो ।
मिलन तिमिल्सिनाबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu