Connect with us
Kapilvast Forest

देशैभर डुब्यो धान

२०७८, २ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौँ- कात्तिकको सुरुमा परेको पानीले देशव्यापी रूपमा धानबालीमा ठूलो क्षति पु¥याएको छ । सबैभन्दा बढी सुदूरपश्चिम र क्रमशः पूर्वमा क्षति पुगेको छ । तराई र पहाड सबैतिर पाकेको र काटेको धान खेतमै डुब्दा र केही ठाउँमा बगाउँदा किसान मारमा परेका छन् ।

  सुदूरपश्चिममा ठूलो क्षति
सुदूरपश्चिम क्षेत्रको अन्न भण्डारका रूपमा परिचित कैलाली र कञ्चनपुर जिल्लामा मनसुन सकिएपछि फर्केको वर्षाले धानबालीमा ठूलो नोक्सान भएको छ । आइतबारदेखि लगातार वर्षा भइरहेको छ । कैलालीमा ५० प्रतिशत धान अझै खेतमा रहेको छ भने कञ्चनपुरमा ३० प्रतिशत काट्न बाँकी छ । कैलालीमा क्षतिको यकिन हुन नसकेको भए पनि कञ्चनपुरमा १० देखि १५ प्रतिशत धानमा क्षति पुगेको अनुमान छ ।
सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला कैलाली, कञ्चनपुर मात्र होइन पहाडी सात जिल्लामा समेत पानी परिरहेको छ । पानीले पहाडी जिल्लामा समेत धानमा क्षति पुगेको छ तर क्षतिको यकिन भइसकेको छैन । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालय दिपायलका अनुसार सुदूरपश्चिममा एक लाख ८१ हजार हेक्टरमा धान खेती गरिन्छ । त्यसमध्ये कैलालीमा ७२ हजार हेक्टर, कञ्चनपुरमा ४८ हजार ४७५ हेक्टरमा धान खेती गर्ने गरिएको छ ।

सुदूरपश्चिमममा गत वर्ष छ लाख ७० हजार ५०३ मेट्रिक टन धान उत्पादन भएको थियो । निर्देशनालयका प्रमुख यज्ञराज जोशीका अनुसार सो उत्पादनको आधाभन्दा बढी धान कैलालीमा फल्ने गर्छ । उहाँले कैलाली ६० र कञ्चनपुरमा ७० प्रतिशत धान सुरक्षित रूपमा घरमा राखिसकेको २० प्रतिशत काट्न बाँकी रहेको र २० प्रतिशत जति काटेर खेतमै छुटेको अवस्थामा रहेको बताउनुभयो । हामीलाई काटेर खेतमा उठाउन छुटेको धान दशैँका कारण बिग्रने चिन्ता छ उहाँले भन्नुभयो, यसले उत्पादन त घट्छ नै किसानको लगानी पनि डुब्न सक्छ ।

मार्सी पनि डुब्यो
कालीकोटका विभिन्न स्थानका खेतमा पाकेर काटेको मार्सी धान खेतमै डुबेको छ । गएरातिदेखि परेको निरन्तरको पानीले गर्दा काटेको धान खेतमै डुबेको हो । बादल मडारिएको देखे पनि किसानले कात्तिकमा खासै पानी पर्दैन भन्ने पुरानो अनुभवले खेतमा धान काटेर एकैनासले सुकाएका थिए ।
तर रातिदेखि एकाएक पानी पर्न थालेपछि खेतमै पानीका खाल बन्दा किसान छटपटिएका छन् । रास्कोट नगरपालिका–६ का महेश फर्सालले काटेर खारेको धान डुब्दा आफूलाई निकै दुःखी बनाएको बताउनुभयो ।
पराल उत्रिएको छ, बाला भने पानीमा चुपुक्कै डुबेको छ महेशले भन्नुभयो । रास्कोट नगरपालिका–५ का हुकुम शाहीले पनि शनिबार सबै खेतका धान काटेर सक्नुभएको थियो तर खेताला नपाइँदा उठाउन सक्नुभएको थिएन । घरकै सदस्यले केही थुप्रो पारे पनि बाँकी भने पानीले खतम गरेको शाहीले बताउनुभयो ।

पानीमा रुझेको धानको चामल सग्लो नहुने र आधा हुने भएकाले किसान निकै दुःखी छन् । पानीले जहिले गर्दा यसपालि राम्रो उत्पादन भएको धानमा ठूलो क्षति पुगेको छ । रास्कोटक–१ का कौशल न्यौपानेले पानीमा तैरिएका धान बटुल्नसमेत समस्या हुने बताउनुभयो ।
कालीकोटका रास्कोटसँगै सान्नी त्रिवेणी, तिलागुफाको राँचुली, चिल्खाया, महावै गाउँपालिका, शुभकालिका गाउँपालिकालगायतका ठाउँमा धान काटेर निहिन सुकाएका थिए । वर्षाले सबै ठाउँमा क्षति पुगेको कृषि विकास कार्यालय कालीकोटले जनाएको छ । काटेको धानको निहिन पानीले रुझेमा कम्तीमा पनि दस दिनसम्म सुकाउनु पर्छ । दस दिनपछि फेरि पानी परेमा त्यो धान खान लायकको नहुने कृषिका जानकारको भनाइ छ ।

 लुम्बिनीमा क्षतिको विवरण आउन बाँकी
धान काट्ने र भिœयाउने तयारी गर्दैगर्दा दुई दिनदेखि लगातार पानी परेपछि धानबालीमा ठूलो क्षति पुगेको छ । रुपन्देही मर्चवारका किसान रामअवतार यादवले आफूले पाँच बिघा खेतमा लगाएको धानबाली वर्षाले सखाप पारेको बताउनुभयो ।
“धान पाकिसकेको थियो, अब केही दिनमा काट्ने तयारी गर्दै थियौँ, तर एक्कासि आएको वर्षाले वर्षभरिको मेहनत सखाप पा¥यो,” उहाँले भन्नुभयो ।
बुटवल उपमहानगरपालिका–१५, रानीगन्जका किसान जितबहादुर रानाले आफूले एक बिघा १० कट्ठामा लगाएको धानबाली वर्षाले नोक्सान पु¥याएको बताउनुभयो ।

धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको दक्षिणी क्षेत्रमा विशेषगरी गोरखनाथ, राधा–४, सर्जु–५२ जातका धान लगाएका किसानका खेतमा धान पाकिसकेको थियो । रुपन्देहीको देवदह, ओमसतिया, सियारी, शुद्धोधन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगायतका स्थानीय तहमा अहिले धान काटेको अवस्थामा खेतमै डुबेको छ भने थोरैले मात्र उठाउन भ्याए ।
रुपन्देही शुद्धोधनका जयकिसन चौधरीले धान काट्ने समयमा ठूलो पानी पर्दा क्षति पुगेको बताउनुभयो । पानी पर्ने क्रम अझै नरोकिएकाले कति क्षति भयो, अझै यकिन गर्न नसकिने उहाँको भनाइ छ । ओमसतिया गाउँपालिका–५ का किसान राजेन्द्र चौधरीले आफ्नै खेतमा लगाएको सबै धानबाली डुबानमा परेको बताउनुभयो । कृषि ज्ञान केन्द्रका कर्मचारीसमेत रहनुभएका चौधरीले अहिले अधिकांशका खेतमा गोरखनाथ, राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको र काटिसकेको बताउनुभयो ।
रुपन्देहीसमेत कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख सन्देश धितालले वर्षाले धानबालीमा पु¥याएको क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको बताउनुभयो । “हामीले स्थानीय तहसँग क्षतिको विवरण मागिरहेका छौँ, एक÷दुई दिनमै क्षतिबारे थाहा हुन्छ,” उहाँले भन्नुभयो ।

 पूर्वमा पनि क्षति

झापामा दुई दिनदेखि लगातारको हावाहुरीसहितको वर्षाका कारण पसाउन लागेको धानमा क्षति पुगेको छ । दमक–३ का सुकदेव लुइँटेलका अनुसार पसाउन लागेको धानबालीमा हावाहुरीले ठूलो क्षति पु¥याएको छ ।
वडा सदस्यसमेत रहनुभएका लुइँटेलका अनुसार बिघौँमा लगाएको पसाउन थालेको र काट्न तयार रहेको धान लडेको छ । यसले गर्दा पाकेको धानमा पनि क्षति पुगेको छ । किसानले क्षति भएको भनेर चिन्ता गर्दै आएको उहाँले बताउनुभयो ।
झापामा शुक्रबारदेखि नै हावाहुरीसँगै पानी परेपछि पाँच हजार हेक्टरभन्दा बढी धानबालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । कृषि ज्ञान केन्द्रका कृषि अर्थविज्ञ शालिकराम भट्टराईका अनुसार धेरै ठाउँमा क्षति भएको विवरण आइरहेको र पालिकाका कृषि शाखाहरूबाट क्षतिको विवरण बुझ्ने काम भइरहेको छ । जिल्लामा मन्सुली, रञ्जित, आरपीजस्ता धान किसानले लाउने र यसमा क्षति भएको छ ।गोरखापत्र  

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu