Connect with us
Kapilvast Forest

दैनिक १८ घण्टा विद्युत भार कटौती 

२०७८, ११ माघ मंगलवारमा प्रकाशित

 

सिमकोट-हुम्लाको दुईवटा गाउँपालिकालाई सेवा दिँदै आएको हेल्दुम साना जलविद्युत आयाजनाले दैनिक १८ घण्टाभन्दा बढी विद्युत भार कटौती गर्दै आएको छ । लामो समयसम्म विद्युत भार कटौतीको मारमा पर्दै आएका यहाँका नागरिकलाई विद्युत नियमित नहुँदा दैनिक जीवन यापनमा समस्या झेल्नुपरेको छ ।

पाँचसय किलोवाट क्षमताको उक्त आयोजनाले हिउँदका समयमा पानीको अभाव देखाउँदै सिमकोटमा लामो सयमसम्म विद्युत भार कटौती गर्दै आएको हो । दिनमा १८ घन्टाभन्दा बढी विद्युत भार कटौती हुन थालेपछि यहाँका स्थानीयवासीले विरोध पनि जनाउन थालेका छन् । उता उक्त आयोजनाले भने पानीको अभावका कारण माग अनुसार विद्युत आपूर्ति गर्नसकेको जनाएको छ ।

विद्युत कटौतीको मारमा उद्योग व्यसायी
जिल्ला सदरमुकाम सिमकोट र आसपासका गाउँपालिकामा ७० भन्दा बढी उद्योग व्यवसायीले नेपाल सरकारको इजाजतपत्र लिएर उद्योग सञ्चालन गर्दै आएका छन् ।
एक दशकभन्दा लामो समयदेखि अठार घण्टासम्मको विद्युत भार कटौतीले जिल्लाका उद्योग व्यवसायी सङ्कटमा परेका छन् । हेल्दुम जलविद्युत कार्यालयको कार्य तालिकाबिना विद्युत भार कटौती गरेकोले आफूहरूको व्यवसायमा झान समस्या भएको गुनासो गर्दै आएका छन्। विद्युत सेवा नियमित नहुँदा महसुल उठाउन नसकेपछि आयोजनाका कामदारलाई पछिल्लो समयको तलब दिनसमेत समस्या भएको सञ्चालक कृष्णबहादुर हमालले बताउनुभयो ।

विद्युत अभावमा कार्यालयका काममा समस्या
विद्युत सेवा नियमित नहुँदा सदरमुकाममा रहेको सिमकोट गाउँपालिकासहित सरकारी तथा गैरसरकारी कार्यालयका कामकाजमा पनि असर परेको छ । समयमै विद्युत सेवा उपलब्ध नहुँदा प्रशासनिकदेखि अन्य काम गर्न कठिन भएको र अति आवश्यक काममा पनि बाधा पुग्ने गरेको सरोकार व्यक्तिको गुनसो छ ।

सिमकोटमा रहेका इलोक्ट्रोनिक पसलमासमेत विद्युत भार कटौतीको असर परेको छ । उनीहरूले विद्युतबाट प्रिन्ट, फोटोकपी, इमेल फ्याकलगायत काम गर्न कठिन भएको सदरमुकामस्थित कालिञ्चोक इलोक्ट्रोनिक पसलका सञ्चालक सुनमति सिंहले बताउनुभयो । नियमित विद्युत नहुँदा पसलमा सेवा लिन आउने सेवाग्राहीलाई समयमै सेवा दिन नसकेको उहाँको गुनासो थियो ।

एसइई विद्यार्थीलाई अध्ययनमा बाधा
एसइई तयारी गरिरहेका विद्यार्थीलेसमेत विद्युतको विद्युत भार कटौतीको मार खेपिरहनुपरेको छ । अठार घण्टासम्म विद्युत भार कटौती हुँदा राति अबेरसम्म पढ्न समस्या हुने गरेको विद्यार्थीको गुनसो छ । प्रायजसो दिनमा र राति १० बजेसम्म विद्युत नहुँदा आफूहरूले यसको मार खेप्नुपरेको उनीहरूको भनाइ थियो ।

पढ्नका लागि उज्यालो चाँहिन्छ तर १० बजेपछि विद्युत आउँदा निन्द्रा लागिसक्छ यसरी ढिलाे गरी विद्युत आउँदा पढाइमा समस्या भएको एसइई तयारी गरिहरहेका सुशील बोहराको गुनासो थियो ।

पानी कम भएकाले लोडसेडिङ बढेको हो ?
केन्द्रका दुई हजार १०० भन्दा बढी ग्राहक रहेको उक्त आयोजनामा पानीको स्रोत कम भएकै कारण २०६५ सालमा सञ्चालनमा आएदेखि नै आयोजनाले विद्युत भार कटौती गर्नुपर्ने बाध्यता आइपरेको विद्युत वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।

पाँच सय किलोवाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित निर्माण भएको उक्त आयोजनाको पावर हाउसमा दुईवटा उपकरण जडान गरिएका छन् तर दुवै उपकरणबाट विद्युत उत्पादन भने हुनसकेको छैन । अहिलेसम्म अधिकतम ३२० किलोवाट मात्र विद्युत उत्पादन भएको उहाँले जानकारी दिनुभयो । बत्ती बाल्नका लागि लक्षित यस आयोजनाबाट उद्योगका लागि विद्युत आपूर्ति गर्न नसकिएको आयोजनाले जनाएको छ ।

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu