Connect with us
Kapilvast Forest

जसको आवाज नै पहिचान थियो

२०७८, २४ माघ सोमबारमा प्रकाशित

 

एजेन्सी – नाम गुम जाएगा
चेहरा ये बदल जाएगा
मेरी आवाज ही पहचान है
गर याद रहे…
आजभन्दा ४४ वर्षअघि आएको हिन्दी फिल्म ‘किनारा’ को गीत हो यो । गीतले भन्छ– ‘नाम हराउँछ, अनुहार यो फेरिन्छ, मेरो आवाज नै मेरो चिनारी हो, सम्झी राखे.. ।’

 

गुलजारका शब्दमा आरडी बर्मनले धुन भरेको र भुपिन्दर सिंहसँग उनले गाएको यो गीत मात्र होइन, संसारमै सर्वाधिक गीतमा स्वर दिएको विश्व रेकर्ड बनाएकी लता मंगेशकरलाई सम्झाउने थुप्रै गीत छन् । तर आवाज सुनेर मान्छे चिनिन्छ भन्ने बताउन यो गीतका शब्द निकै शक्तिशाली छन् ।

 

स्वर कोकिला भनिने यी विख्यात गायिकाको ९२ वर्षको उमेर आइतबार मुम्बईमा निधन भएको छ । कोभिड संक्रमण पुष्टि भएपछि उनको मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचार भइरहेको थियो । चिकित्सकका अनुसार केही समययता उनको शरीरका विभिन्न अंगले काम गर्न छाडेका थिए । भौतिक शरीरले विश्राम लिए पनि उनका आवाजमा रेकर्डेड गीतहरूले जीवन्त बनाउने छाप छोडेका छन् ।

उनले स्वर दिएका गीत प्रेम, विरहका मात्रै छैनन्, देशभक्ति र विभिन्न भावका छन् । उनले गाएको ‘ए मेरे वतन के लोगों’ युद्धको समय भारतीयका लागि आफ्नो प्राण आहुति दिने सैनिकको सम्झनामा सधैं बजाइने गीत नै बन्यो । उनले गाएको ‘प्यार किया तो डरना क्या’ सुनेर अहिले पनि स्रोताहरूमा प्रेमिलभाव आउँछ भने ‘लुक्का छुप्पी’ सुन्नेहरूका आँखा आफ्नी आमालाई सम्झेर रसाउँछन् ।

भारतीय फिल्म क्षेत्रमा पार्श्व गायनमा उनलाई नरोज्ने निर्माता, निर्देशक वा अभिनेत्री छैनन् भने पनि हुन्छ । अभिनेत्रीहरू स्वयं लताले फिल्ममा गीत गाइदिउन् भन्ने चाहन्थे । किनकि उनको आवाजमा सरगमको मिठास मात्रै नभएर भाव पनि अनुकरणीय रूपमा अभिव्यक्त हुन्थे ।

 

त्यो स्वरले श्रोताको मनमा आफैं एउटा चित्र कुँदिरहेको हुन्थ्यो । सन् १९२९ को सेप्टेम्बर २८ मा मध्य प्रदेशको इन्दौरमा जन्मिएकी लताले १३ वर्षको उमेरमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । ‘स्वर कोकिला’ नामले प्रसिद्ध उनलाई कतिपयले ‘लता दिदी’ वा ‘ताई’ भनेर सम्बोधन गर्थे । आठ दशक लामो गायन यात्रमा उनले ३६ भाषामा ४० हजार गीत गाएकी छन् । तीमध्ये एक हजारभन्दा बढी गीत हिन्दी फिल्मका हुन् । नेपालीमा माइतीघर फिल्मका लागि एउटा गीत गाएकी लताको रामकृष्ण ढकालसँग ‘बाचुञ्जेलीलाई’ गीतमा स्वर छ ।

पाँच भाइ–बहिनीमध्ये जेठी लताका बुवा दीनानाथ मंगेशकर पनि संगीतकर्मी थिए । लताले ५ वर्षको उमेरदेखि नै बुवाका नाटकहरूमा गाउन र अभिनय गर्न थालेकी थिइन् । औपचारिक शिक्षा लिन नपाएकी उनलाई घरमा काम गर्ने सहयोगीले मराठी शब्दहरू चिन्न सक्ने बनाए । पछि एकजना पुरोहितबाट उनले संस्कृत सिकिन् । घरमा आउने पाहुना र शिक्षक लगायतबाट अनौपचारिक रूपमा विभिन्न विषयबारे ज्ञान लिएकी थिइन् ।

उनको जीवनकाल संघर्षमय थियो । निकै समस्या सामना गर्नुपर्‍यो । त्यसमध्ये एक थियो– घर लिलामी । सबै पैसा डुबेपछि बुवाले फिल्म र थिएटर कम्पनी बन्द गरे । त्यसपछि उनको परिवार इन्दौरबाट पुणे सर्‍यो । त्यतिखेर महाराष्ट्रमा रहेको उनीहरूको पुरानो घर ऋणकै कारण लिलाम भयो । १६ वर्षको उमेरमा पिताको मृत्युपछि भने उनका काँध परिवारको बोझले थिचिए । त्यसपछि उनी परिवारसँगै मुम्बई पुगिन् ।

सन् १९४० तिर चलचित्रमा गीत गाएर जीवन गुजारा गर्न सकिने अवस्था थिएन । त्यसैले परिवार चलाउन फिल्ममा अभिनय थालिन् । ८ मराठी फिल्ममा अभिनय गरेकी भए पनि उनले आफूलाई अभिनयमा कहिल्यै लगाव नभएको बताउँथिन् । सन् १९४९ मा ‘महल’ फिल्मका लागि गाएको ‘आएगा आनेवाला’ बोलको गीत उनको पहिलो हिन्दी गीत हो । त्यही गीतले चर्चित संगीतकारको आँखामा परेपछि भने उनी पछाडि फर्कनु परेन । त्यसयता उनले हिन्दी फिल्मका लागि हजारौं गीतमा स्वर भरिन् ।

‘मजबुर’, ‘आवारा’, ‘मुगल ए आजम’, ‘श्री ४२०’, ‘आराधना’ र ‘दिलवाले दुल्हनिया ले जाएगें,’ ‘मैने प्यार किया’, ‘मोहब्बते’ लगायत उनले रोमान्टिक गीत गाएका चर्चित फिल्म थुप्रै छन् । लताले गायनमा आफ्नो समयका चर्चित पुरुष गायकलाई कडा टक्कर दिन्थिन् । मोहम्मद रफीदेखि किशोर कुमारसँग उनले आवाज दिइन् । राज कपुर, गुरुदत्त, मणि रत्नमदेखि करण जौहरजस्ता चर्चित निर्देशकहरूसँग उनले काम गरिन् । एक समय अधिकांश फिल्मका पार्श्व गायनका लागि रोजाइमा पर्ने उनी प्रतिस्पर्धा गर्न सक्ने एक्ली गायिका थिइन् ।

भारत सरकारले लताको निधनमा दुई दिन राजकीय शोक घोषणा गरेको छ । मुम्बईको शिवाजी पार्कमा आइतबार साँझ राजकीय सम्मानका साथ उनको अन्तिम संस्कार गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिवाजी पार्क पुगेर अन्तिम श्रद्धाञ्जली दिए । श्रद्धाञ्जलीका लागि फिल्मकर्मी, राजनीतिज्ञ, खेलाडी, साहित्यकार लगायतको बाक्लो उपस्थिति थियो । गीतसंगीतमा पुर्‍याएको अभूतपूर्व योगदानका लागि उनलाई सन् २००१ मा भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरिएको थियो । त्यस्तै उनी पद्म विभूषण, पद्म भूषण, दादा साहेब फाल्के, नेसनल फिल्म अवार्डलगायत दर्जनौं पुरस्कारबाट सम्मानित भइसकेकी थिइन् ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu