Connect with us
Kapilvast Forest

के हो बाथ रोग ? कसरी गर्न सकिन्छ उपचार

२०७८, २१ फाल्गुन शनिबारमा प्रकाशित

  • डा.प्रयुश शर्मा

बाथ रोग भनेको शरीरका कुनैपनि जोर्नी दुख्ने, सुन्निने, सुजन हुने, रातो -तातो हुने, जोर्नी चलाउन गार्हो हुने, कक्रक्क पर्ने अथवा मेरुदण्ड ÷ ढाड दुख्ने – कक्रक्क पर्ने अवस्थालाई बुझ्ने गरिन्छ । बास्तबमा सबै रयूमटिक समस्याहरुलाई बाथ रोग भन्ने बुझिन्छ ।

यी रोगहरु (रयूमटिक समस्याहरु) धेरै प्रकारका छन् (करिब २०० प्रकारका)। यिनले धेरै मानिसहरुमा जोर्नी भन्दा बाहिर, शरीरका अन्य भागहरु (जस्तै छाला, आँखा, मृगौला, मांसपेशी, रक्त र कहिले–काही फोक्सो र मुटु) मा पनि असर गर्न सक्दछन । बेलैमा उपचार नगरे जोर्नीहरु-ढाडको आकार बिग्रने तथा माथि उल्लेखित अंगहरुमा पनि नराम्रो असर गर्न सक्ने हुन्छ ।

बाथ रोगबाट अनुमानित २०–२५% जनमानस आक्रान्त हुने पाइएको छ । नेपालमा पछिल्लो समयमा बाथ रोगका बिरामीहरुको उपचारमा केहि सुधार देखिएता पनि नेपालको भौगोलिक र आर्थिक परिवेश तथा विशेषज्ञको कमिले गर्दा अहिलेसम्म पनि धेरै बिरामीहरुले राम्रो सुबिधा पाउन सकेका छैनन्। विशेषगरी उचित परिक्षणको अभावले गर्दा समयमै रोगको निदान – परिचय र उचित उपचारको कमि लगायतका समस्याहरु विशेषज्ञताको सुबिधा नभएको नेपालका सबै ठाउँमा भोग्नु परिराखेको छ ।

हाम्रो शरीरमा हुने धेरै सिस्टमहरु मध्येको एक इम्मयुन सिस्टम हो । यस सिस्टमलाई रोग प्रतिरोधात्मक क्षमता सिस्टमको रुपमा पनि चिनिने गरिन्छ । कहिलेकाही आफ्नै शरीरका कोशाणुहरुले यो सिस्टमको बिरुद्धमा आक्रमण गर्न सक्दछन । यसरी हुने रोगहरुको समूहलाई स्वतः प्रतिरक्षा रोग अथवा अटो–इम्मयुन डिसअर्डर भनिन्छ । रयूमटिक समस्याहरु पनि यिनै रोगहरुको समूह भित्र पर्दछन् ।
रयूमटिक समस्याहरुहरु धेरै प्रकारका हुन्छन । ति मध्ये प्राय जसो देखिने प्रकारहरु तल उल्लेखित छन् ।

युमाटोईड आरथ्राइटिस-गठिया बाथ

गठिया बाथले सबै उमेरका मानिसहरुलाई आक्रान्त पार्न सक्ने हुन्छ । खासगरी यस किसिमको बाथले पुरुषहरुमा भन्दा बढी महिलाहरुमा पाइने गरिन्छ । हात खुट्टाका सबै जोर्नीहरुमा असर गर्न सक्ने भएपनि यस किसिमको बाथको सुरुवाती लक्षण प्रायजसो हात, घुँडा र नाडिको जोर्नीहरुबाट देखिने गरिन्छ ।

कहिलेकाँही घाँटीको जोर्नीमा पनि यसले असर गर्न सक्दछ । दुखाइ रातीको बेलामा अलि बढी हुने र विहान जोर्नीहरु कक्रक्क पर्ने लगायत समस्याहरु देखिन सक्छ । समयमै उपचार नगरे हात खुट्टाको जोर्नीहरुको आकार विग्रदै जाने र कुँजो हुनसक्ने सम्भावना रहन्छ । यसले जोर्नीहरु बाहेक शरिरका अन्य भागहरुमा पनि असर गर्न सक्दछ ।

युरिक एसिडको बाथ-गाउट

नेपाली समाजमा प्रायजसो देखिने युरिक एसिडको बाथ पुरुषहरुमा बढी देखिने गरिन्छ । युरिक एसिड जोर्नीहरुमा जम्मा भएर यो बाथका लक्ष्यणहरु देखिने हो । र, ९० प्रतिशत मानिसहरुमा सुरुवाती लक्षण खुट्टाको बुढी औंलाबाट पाइने गरिन्छ । बुढी औंला बाहेक अरु जुनसुकै जोर्नीमा पनि यसले असर गर्न सक्दछ। वस्तम्बमा युरिक एसिड शरिरका जुनसुकै भागमा पनि जमेर बस्न सक्दछ । र, जोर्नीमा यसको दुखाइ असाध्यै नराम्रो हुन्छ ।

यो दुखाइको आक्रमण केहि दिनपछि आफै हराएर जाने गर्दछ (औषधी खाएर अथवा आफै ) तर केही समय (दिन, हप्ता, महिना र कहिलेकाँही बर्ष) पछि बल्झिने पाइएको छ । दुइ आक्रमण बीचको समयमा भने कुनैपनि लक्षणहरु नदेखिन पनि सक्छ । जोृर्नीहरु बाहेक युरिक एसिड जमेर बस्न सक्ने शरिरका अरु भागहरु मृगौला, मांशपेसी, छाला इत्यादी हुन् । मृगौलामा पथ्थरी भएर कहिलेकाही अंगघातक पनि हुन सक्दछ ।

युरिक एसिडको बाथको समयमै उपचार नगरे जोर्नीका आकारहरु बिग्रदै जाने, दुखाइको गम्भीरता र बारम्बारिता बढ्दै जाने र मृगौलामा दिर्घकालिन समस्या देखापर्ने लगायतका समस्याहरु हुन सक्दछ । यसको उपचारको ठुुलो अंश खानपीनमा सन्तुलन तथा नियमित शारिरिक व्यापाम रहेको छ । त्यसैगरी औषधीको भुमिका पनि उल्लेखनीय छ ।

ढाडको बाथ

प्रायजसो कम उमेरका पुरुषहरुलाई आक्रान्त गर्ने ढाडको बाथ रोगहरुको समुहमा मेरुदण्ड, हात खुट्टाका जोर्नीहरु अथवा दुबैका लक्ष्यणहरु हुन सक्दछ । स्पोन्डाय्लो आरथ्राइटिस् अन्र्तगत एन्काइलोजीङ स्पोण्डाइलाइटिस, रिएक्टिभ आरथ्रराइटिस्,सोरियाटिक आरथ्रराइटिस् जस्ता बाथहरु पर्दछन् ।

यस समुहका बाथ रोगहरुमा ढाड र जोर्नीहरु बाहेक शरिरका अन्य भागहरु जस्तै आँखा, छाला, योनि, आन्द्रा, फोक्सो लगायतका अन्य भागहरु पनि आक्रान्त हुन सक्दछन् । सोरियाटिक आरथ्रराइटिस् भन्ने बाथ प्रायजसो छालाको कत्ले रोगसँग सम्बन्धित हुन्छ । रिएक्टिभ आरथ्रराइटिस्मा हात खुट्टाको छालामा फोका आउने, रातो हुने, योनिमा घाउ हुने, लगायत समस्याहरु देखिन सक्छन् । उपचारमा एउटा ठुलो अंश नियमित शारिरीक ब्यायामका साथै औषधिको पनि भुमिका उल्लेखनीय हुन्छ ।

ओस्टियोआरथ्राइटिस-जोर्नी खिइने बाथ

उमेर बढ्दै जाँदा यस खालको बाथ हुने सम्भावना रहन्छ । ५०–५५ बर्षको उमेरपछी र महिलाहरुमा धेरै देखिने यो बाथ रोगमा प्रायजसो घुँडा दुख्ने समस्या हुन्छ । घुँडा बाहेक हातका जोर्नीहरु र मेरुदण्डमा पनि यस रोगले असर गर्न सक्दछ । यस बाथका कारणहरुमा ५० भन्दा बढी उमेर, पछिल्लो समयमा जोर्नीमा लागेको चोटपटक, मोटोपना, अत्याधिक कोलेस्ट्रोल, थाइराइडको समस्या इत्यादी पर्दछन् । उपचारमा औषधी भन्दा धेरै जीवनयापनको केही नियमको धेरै भुमिका रहेको छ ।

लुपस

लुपस गर्भ निर्धारण योग्य उमेरका महिलाहरुमा देखिने एक दिर्घकालिन रोग हो । शरीरका कुनैपनि जोर्नीमा आक्रान्त गर्नुका साथै यस रोगमा छाला, आँखा, मांशपेशी, मृगौला, पेट, मस्तिष्क, रगत, फोक्सो तथा शरीरको अन्य अंगमा पनि यसको असर देखिन सक्छ । सुरुवाती लक्ष्यणहरुमा जोर्नी दुख्ने, अनुहारमा पुतली आकारको दाग आउने, चाँया र पोतो आउने, घाममा निस्कदा छाला रातो हुने, स्या स्या हुने, टाउको दुख्ने, जिउ गल्ने इत्यादी समस्याहरु देख्न सकिन्छ । उपचारमा सामान्य जिवनयापनका केही नियमहरु, घामबाट जोगिने, ब्यायाम र दिर्घ दिनसम्म खाइराख्नु पर्ने केही औषधीहरु पर्दछन् ।

रक्त नलीको बाथ

भसकुलाइटिस् अन्र्तगत धेरै किसिमका बाथहरु पर्दछन् । रगतका नालिहरु सुन्निने, सुजन हुने र त्यसबाट हुने लक्षणहरु देखिने यस रोगका विशेषता हुन् । जोर्नी दुख्ने सँगसँगै छालामा दाग आउने, मृगौला, आँखदा, फोक्सो, मुटु, मस्तिष्क र स्नायुमा समस्या देखिने लगायतका समस्याहरु यस रोगमा देख्न सकिन्छ । चिसो पानीमा हात डुबाउँदा, फ्रिजमा हात लैजादा औलाका रगंहरु क्रमबध रुपमा सेतो, निलो अनि रातो हुने पनि यो रोगमा देख्न सकिन्छ ।

उपचारमा जिवनशैलीमा केही परिवर्तन र औषधीहरुको सहयोग लिन सकिन्छ । यो रोग धेरै विग्रेको खण्डमा अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने हुन्छ । यसरी बाथ रोग अनेकन किसिमका हुन्छन् । जसको समष्टी चर्चा सानो लेखमा सम्भव नै हुदैन । त्यसैले बाथ रोगका कुनैपनि लक्ष्यण देखिने वित्तिकै विशेषज्ञ डाक्टरको गइ देखाइहाल्नु राम्रो हुन्छ ।

(डा.शर्मा सिटि स्पेशियालिटी हेल्थ क्लिनिक सातदोबाटोमा कार्यरत हुनुहुन्छ )

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu