छ दल दर्ता
काठमाडौँ- प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा भाग लिन आइतबार छवटा राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन्। निर्वाचन आयोगले आगामी आम चुनावमा सहभागी हुन राजनीतिक दल दर्ता गर्न साउन २२ गतेदेखि ३१ गतेसम्मको समयसीमा निर्धारण गरेपछि आइतबारबाट दल दर्ता प्रक्रिया सुरु गर्न थालिएको हो ।
आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आइतबार छवटा दल दर्ता भएका छन्। निर्वाचनमा ११६ दल भाग लिन पाउन योग्य रहेकोमा आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी दर्ता भइसकेका छन् ।
आयोगका अनुसार जनमत पार्टीले कर्णाली प्रदेशबाहेक छवटै प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पाउने गरी दर्ता गराएको छ। नेपाल समावेशी पार्टी प्रतिनिधि सभा सदस्य निर्वाचनमा मात्रै भाग लिने गरी दर्ता भएको हो। बाँकीको चारवटा पार्टीले भने दर्ता गराउँदा सबै प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने उल्लेख गरिएको हो ।

