Connect with us
Kapilvast Forest

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रोल्पाबाटै दुई आकांक्षी

२०७९, १३ आश्विन बिहीबारमा प्रकाशित

रोल्पा-मंसिर ४ को निर्वाचन पछि गठन हुने लुम्विनी प्रदेश सरकारको मुख्यमन्त्रीमा रोल्पाबाट सत्तारुढ गठबन्धनबाट दुई जना आकांक्षी देखिएका छन् । मुख्यमन्त्रीमा आकांक्षा राख्नेहरुमा बहालवाला मुख्यमन्त्री कुलप्रसाद केसी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन रहेका छन् ।

भाबी मुख्यमन्त्रीका दुवै आकांक्षीको निर्वाचन क्षेत्र र गठबन्धन भने एउटै हो । दुवैको निर्वाचन क्षेत्र रोल्पा प्रदेश सभा (ख) हो । केसी रोल्पा नगरपालिकाका वडा नं. ६ का स्थायी बासिन्दा हुन् । २०७४ सालको निर्वाचनमा प्रदेश सभा (क)बाट विजयी भएका केसीले यस पटक प्रदेश सभा (ख) रोजेका छन् ।

पुन गंगादेव गाउँपालिका वडा नं.७ का स्थायी बासिन्दा हुन् । २०७४ सालको निर्वाचनमा प्रतिनिधि सभाका लागि वाम गठबन्धनका उम्मेदवार वर्षमान पुनसँग प्रतिस्पर्धा गरेका कांग्रेस नेता अमरसिंह पुन यस पटक प्रदेश सभा (ख) बाट निर्वाचन लड्ने मनस्थितिमा छन् ।

नेपाली कांग्रेस रोल्पाले पुनलाई प्रतिनिधि सभा र प्रदेश सभा (ख) गरी दुवै तिर सिफारिस गरेको छ । प्रतिनिधि सभाका लागि पुन सहित टेकबहादुर बस्नेत र शंकरबहादुर छन्त्यालको नाम पनि सिफारिस गर्दा प्रदेश सभा (ख) मा भने पुनको एकल नाम सिफारिस भएको छ ।

नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभाका लागि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सहित पूर्वसभामुख कृष्णबहादुर महरा, वर्षमान पुन, ओनसरी घर्ती, जयपुरी घर्ती र झक्कुप्रसाद सुवेदीको नाम सिफारिस गरेको छ ।

सो पार्टीले प्रदेश सभा सदस्यका लागि समेत लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको नाम सिफारिस गरेको छ । माओवादीले मुख्यमन्त्री केसी सहित लुम्बिनी प्रदेश सभा सदस्य दीपेन्द्र पुन, जिल्ला समन्वय समिति रोल्पाका निवर्तमान प्रमुख राजबहादुर बुढामगर, परिवर्तन गाउँपालिकाका निवर्तमान अध्यक्ष निमकान्त डाँगी र गंगादेव गाउँपालिकाका निवर्तमान अध्यक्ष वीरबहादुर खत्रीको नाम सिफारिस गरेको छ । केसी प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फ एकल सिफारिसमा परेका छैनन् ।

उम्मेदवार छनौट बैठकमा मुख्यमन्त्री केसीले भनेका थिए- रोल्पाले फेरि पनि लुम्बिनी प्रदेशको नेतृत्व गर्न सक्ने सक्षम व्यक्ति छनौट गर्नुपर्छ । त्यसका लागि पार्टीलाई सम्वेदनशील हुन उनले आग्रह गरेका थिए । आफूले चुनावी प्रतिबद्धता अनुसार रोल्पाली जनताको शीर नझुक्ने गरी काम गरेको बताउँदै उनले फेरि पनि देश र जनताको सेवा गर्न चाहेको बताएका थिए।

एकपटक मुख्यमन्त्री भइसकेका केसी पुनः सोही पदमा दोहोरिने आकांक्षा राखेका छन् भने नेपाली कांग्रेसको प्रदेश सभापति पुन पनि सो पदको बलियो दाबेदार मानिन्छन्
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रोल्पा रुकुमबाट यस पटक नयाँ सन्देश दिने बताएका छन् । ‘कांग्रेस-माओवादी रोल्पा-रुकुममा पनि मिले भन्ने सन्देश दिने गरी काम गरिरहेका छौं,’ सभापति पुनले भने । आफू प्रतिनिधि सभा सदस्यको उम्मेदवार भएपनि रोल्पा माओवादीको जनाधार भएको जिल्ला भएकाले सहमतिका आधारमा प्रदेश सभा सदस्यको उम्मेदवार बन्न तयार रहेको उनले बताए ।

संगठन र जनमतको दृष्टिकोणले रोल्पा अहिले पनि माओवादी केन्द्रको जनाधार भएको जिल्ला भएकाले गठबन्धन गर्दा ती क्षेत्र उनीहरुका लागि छोडिदिनु स्वाभाविक हुने भएकाले नेपाली कांग्रेसले प्रदेश सभा दाबी गर्ने उनको संकेत थियो ।

प्रतिनिधि सभा नेकपा माओवादी केन्द्रलाई र प्रदेश सभा नेपाली कांग्रेसलाई दिने गरी तालमेलको प्रयास भइरहेको सभापति पुनले बताए । सभापति पुनलाई माओवादी नेता वर्षमान पुनले प्रदेश सभा कांग्रेसलाई दिने आश्वासन दिएको बताइए पनि माओवादीबाट यसको पुष्टि हुन सकेको छैन ।

टिकट पाउन कति छ सहज ?

मंसिर ४ को निर्वाचन पछि लुम्बिनी प्रदेश मुख्यमन्त्रीमा रोल्पाबाटै दुई जनाको दाबी रहने स्पष्ट बुझ्न सकिन्छ । एकपटक मुख्यमन्त्री भइसकेका केसी पुनः सोही पदमा दोहोरिने आकांक्षा राखेका छन् भने नेपाली कांग्रेसको प्रदेश सभापति पुन पनि सो पदको बलियो दाबेदार मानिन्छन् । यस अघिको प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धन विरुद्ध प्रतिनिधि सभा सदस्यमा प्रतिस्पर्धा गरेका पुन यस पटक प्रदेश सभा सदस्य रोज्नु मुख्यमन्त्री बन्ने दाउ रहेको सहजै बुझ्न सकिन्छ ।

एक पटक मुख्यमन्त्री भइसकेका केसी र कांग्रेसको बहालवाला प्रदेश सभापतिले प्रदेश सरकारको नेतृत्व गर्ने आकांक्षा राख्नु अस्वाभाविक नभए पनि परिस्थिति भने उनीहरुले सोचे जस्तो छैन ।

मुख्यमन्त्रीको दाबेदार दुवै जनालाई प्रदेश सभा सदस्यको टिकट पाउन भने सहज देखिंदैन । माओवादी केन्द्र रोल्पा अन्य दललाई छोड्न चाहँदैन । माओवादीको राम्रो संगठन भएको जिल्ला भित्र पर्छ रोल्पा । त्यसैले पनि ऊ रोल्पा अरुलाई छोड्ने मनस्थितिमा छैन । ‘गठबन्धनले गरेको निर्णय आफूहरुले मान्नु पर्ने भएपनि तल कार्यकर्ता तहमा कांग्रेसलाई क्षेत्र छोड्नु हुँदैन भन्ने बलियो मत छ,’ नेकपा माओवादी केन्द्र रोल्पाका सचिव पूर्ण केसीले भने, ‘गत स्थानीय तह निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन गर्नुको साटो कांग्रेसले माओवादी विरोधी मोर्चाको नेतृत्व गरेकाले पनि कार्यकर्ताहरु असन्तुष्ट छन् ।’

‘२०७४ सालको निर्वाचनमा जसले जुन क्षेत्र जितेको हो सो क्षेत्र उसैले पाउने गरी छलफल भएकाले पनि रोल्पाको प्रतिनिधि सभा र प्रदेश सभा नेकपा माओवादी केन्द्रले नै पाउने सम्भावना बढी देखिन्छ,’ सचिव केसीले भने ।

नेपाली कांग्रेस रोल्पाका सभापति किशोर आचार्यले देशभर गठबन्धन हुँदा रोल्पामा पनि गठबन्धन हुने बताए । नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा दाबी गरे आफूहरुको दाबी प्रदेश सभाका दुबै क्षेत्रमा हुने उनले बताए । ‘रोल्पामा माओवादी र कांग्रेसको जनमतमा त्यति ठूलो अन्तर छैन, त्यसकारण पनि बराबर भागबण्डा हुनुपर्छ,’ सभापति आचार्यले भने, ‘रोल्पा-रुकुम छोड्न नचाहने हो भने देशका अन्य जिल्लामा दाबी गर्नु माओवादीका लागि न्यायसंगत हुँदैन ।’

२०७४ सालको निर्वाचनमा सो निर्वाचन क्षेत्रबाट निर्वाचित पार्टीका पोलिटव्यूरो सदस्य दीपेन्द्र पुन सो क्षेत्र छाड्ने मनस्थितिमा छैनन् । यसअघि गठित लुम्बिनी प्रदेश सरकारको करिब साढे ३ वर्ष आन्तरिक मामिला तथा कानून मन्त्री र डेढ वर्ष मुख्यमन्त्री भएर पाँचै वर्ष सरकारमा रहेका केसीका कारण प्रदेश सभा सदस्य पुन अवसरबाट बन्चित भएका थिए । यसपटक सके मुख्यमन्त्री, नभए मन्त्रीको आकांक्षामा रहेका दीपेन्द्र पुन प्रदेश सभा सदस्यको उम्मेदवारीबाट पछि हट्ने सम्भावना निकै कम रहेको बताइन्छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीकी श्रीमती तारा घर्तीमगरलाई नेकपा माओवादी केन्द्र रोल्पाले प्रतिनिधि सभाको समानुपातिक तर्फ एकल नाम सिफारिस गरेको छ । श्रीमती घर्तीलाई समानुपातिक तर्फ अघि सारेकाले मुख्यमन्त्री केसीलाई यसपटक रोल्पाबाट प्रतिनिधि सभा र प्रदेश सभाको कुनै पनि क्षेत्रबाट टिकट नदिने मनस्थितिमा माओवादी पुगेको समेत बताइन्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu