Connect with us
Kapilvast Forest

पश्चिम तराईमा डेंगुको महामारी

२०७९, १७ आश्विन सोमबारमा प्रकाशित

बुटवल- । घोराही–१७ दाङका लक्ष्मण चौधरीलाई असोजको दोस्रो साता उच्च ज्वरो आयो । तीन दिन टाउको र हाडजोर्नी सहनै नसक्ने गरी दुख्यो । ज्वरो नरोकिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षण गर्दा डेंगु संक्रमण पुष्टि भयो । त्यसयता उनी अस्पतालमा उपचार गरिरहेका छन् ।

अस्पताल डेंगुका बिरामीले भरिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल निर्देशक डा. रमेश कँडेलले बताए । उनका अनुसार डेंगु संक्रमण समुदायमा फैलिएकाले घरघरमा बिरामी छन् । दैनिक ३०/४० विरामी अस्पतालसम्म आउने गरेका छन् । ‘अधिकांश विरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, हाडजोर्नी दुख्ने जस्ता डेंगु लक्ष्णका विरामी छन्’ उनले अनलाइनखबरसँग भने ।

दाङ मात्र होइन, पश्चिम तराईका सबै जिल्लाका अस्पतालमा डेंगु संक्रमण भएका विरामीको चाप छ । खासगरी दाङ, रुपन्देही, कपिलबस्तु, बाँके र बर्दियामा साउनयता सुरु भएको डेंगु संक्रमणको ग्राफ अझै उकालो लाग्ने क्रममा छ ।

अघिल्ला वर्षहरुमा फाटफुटमात्र देखिने डेंगु यस वर्ष महामारीकै स्वरुप लिएको छ । ‘विगतमा पनि डेंगुको देखिन्थ्यो’ स्वास्थ्य कार्यालय, दाङका प्रमुख अंगदबहादुर शाहीले अनलाइनखबरसँग भने, ‘यो वर्ष महामारीकै रुप लियो ।’

दाङमामात्रै असार यता १ हजार ४ सय बढीमा डेंगु संक्रमण पुष्टि भइसकेको छ । चार जनाको मृत्यु भएको छ । संक्रमितको यो संख्या हालसम्मकै उच्च हो । स्वास्थ्य कार्यालय दाङका अनुसार आर्थिक वर्ष ०७६/०७७ मा ७१ जना, ०७७/७८ मा १५ र ०७८/७९ मा संख्या ६ जनामा मात्रै डेंगु संक्रमण देखिएको थियो ।

रुपन्देहीमा पनि डेंगु संक्रमणको दर उच्च छ । लुम्बिनी प्रादेशिक अस्पताल डेंगु संक्रमणका विरामीले भरीभराउ छ । रुपन्देहीमा डेंगु संक्रमितको संख्या करिब ८ सय पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले बताए ।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय, बुटवलका प्रदेशभर यो वर्ष असोज १३ सम्म ३ हजार ५० बढीमा डेंगु संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयकै उच्च अधिकारीहरु भने डेंगु संक्रमण हुनेहरुको संख्या ५ हजार नाघेको अनुमान गर्छन् । ‘यो तथ्यांक सरकारी अस्पताल आएर चेकजांच गर्दा पुष्टि भएको मात्र हो, निजी अस्पतालहरुमा चेकजांच गर्ने र विरामी भएपनि डेंगु परीक्षण नगर्ने यो भन्दा धेरै छन्’ मन्त्रालयका एक अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता पुष्पराज पौडेल पनि पछिल्लो तीन महिनामा डेंगु संक्रमणको दर सबैभन्दा उच्च भएको बताउँछन् । उनका अनुसार प्रदेशमा दाङमा १ हजार ४१० र रुपन्देही ७३६, गुल्मी २९९, पाल्पामा ११५, अर्घखाचीमा १३८, बर्दियामा ९१, कपिलबस्तुमा ८२, नवलपरासी पश्चिममा ६७, बाँकेमा ४९, प्युठानमा ३६, रुकुम पूर्वमा १५ र रोल्पामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

पहाडी जिल्लामा पनि डेंगु

सामान्यतया तराईका जिल्लामा देखिने डेंगु यसपटक भने पहाडी क्षेत्रमा पनि देखिन थालेको छ । यो वर्ष लुम्बिनी प्रदेशकै पहाडी जिल्लामा पनि डेंगु संक्रमणका विरामी भेटिएका छन् । यसपटक भने प्रदेशकै १२ वटै जिल्लामा डेंगुका विरामी भेटिएको निर्देशनालयले बताउँछ । लुम्बिनी प्रदेशका प्युठान, रुकुम पूर्व, पाल्पा, अर्घाखाँची, र रोल्पा डेंगुका बिरामी बढिरहेका छन् ।

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पतालमा पनि पहाडी जिल्लाका विरामीहरु भर्ना भइरहेका छन् । राप्ती स्वास्थ्य प्रतिष्ठानमा रुकुम, रोल्पा र प्युठानका जस्ता पहाडी जिल्लाका विरामी पनि डेंगु लक्षण भएका विरामी आएका छन् ।

बाँकेको भेरी अस्पतालमा पनि कर्णाली र सुदूपश्चिम प्रदेशका जिल्लाबाट भेरी अस्पतालमा डेंगु संक्रमितहरू आउने गरेका छन् । ‘पहाडबाट पनि डेंगु लक्षणका विरामी आइरहेका छन् । यसले तराई मात्र होइन, पहाड पनि डेंगु छ भन्ने पुष्टि हुन्छ’ प्रतिष्ठानका फिजिसियन डा. रमेश कडेल भन्छन् ।

डा. कडेलले मनसुन अन्त्य नभएसम्म डेंगु संक्रमणको जोखिम रहने बताए । ‘पानी पर्ने र जम्मा हुने क्रम मनसुन रहेसम्म चलिरन्छ’ उनले भने, ‘यसले डेंगु जोखिम रहन्छ ।’

जनस्वास्थ्य कार्यालय, रुपन्देही प्रमुख डा. गौरव ढकालले कात्तिकसम्म डेंगु संक्रमणको जोखिम रहेकाले सजगता अपनाउनुपर्ने सुझाउँछन् । ‘डेंगुबाट जोगिने सबैभन्दा सजिलो उपाय दिउंसोको समयमा लामखुट्टेको टोकाइबाट बच्नु हो’, उनले अनलाइनखबरसँग भने, ‘सबैले कम्तीमा हात खुट्टा पुरै ढाकिने गरी कपडा लगाउने र रातिमा पनि झुलभित्र सुत्ने हो भने डेंगुको संक्रमण ९० प्रतिशत रोकिन्छ ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu