Connect with us
Kapilvast Forest

मिर्जादेखि मोहम्मद हत्या प्रकरणसम्म : सहयोगी मात्र समातिन्छन्,

२०७९, १७ आश्विन सोमबारमा प्रकाशित

गौरव पोखरेल- काठमाडौं- राजधानीमा संसाँझै गोली हानी गार्मेन्ट व्यवसायी लाल मोहम्मद मारिएको एक सातापछि प्रहरीले घटनामा संलग्न भन्दै तीनजनालाई पक्राउ गर्‍यो।

वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, वडा नं. १५ का १९ वर्षका रेहान मियाँ र बकैया गाउँपालिका–१, मकवानपुरकी सुमी भनिने सुस्मिता स्याङताङको पक्राउलाई प्रहरीले ठूलो सफलताका रुपमा प्रस्तुत गर्‍यो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहोराले त पक्राउ परेकामध्ये महोरमलाई घटनाको योजनाकार नै बताइदिए । जबकि, अनुसन्धान अधिकृतहरु नै मियाँद्वयले वीरगञ्जदेखि काठमाडौंसम्म हतियार भएको झोला ल्याउने काम मात्र गरेको बताउँछन् । दुवैजना विद्यार्थी हुन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार वीरगञ्जमा मियाँद्वयलाई बब्बु बताउने भारतीय नागरिकले काठमाडौंसम्म हतियार पुर्‍याइदिने जिम्मेवारी दिएको देखिएको छ ।

रेहान स्वयंले पनि बयानमा आफूले ५० हजार रुपैयाँ पाउने लोभमा काठमाडौंसम्म झोला बोकेर आएको उल्लेख गरेका छन् । अनुसन्धान अधिकृतहरुका अनुसार उनीहरुलाई त्यसरी ल्याइएको हतियार व्यक्ति हत्यामा प्रयोग हुँदै थियो भन्ने जानकारी पनि नहुन सक्छ ।

अधिकृतहरुका अनुसार भनिएका व्यक्तिलाई हतियार बुझाएर उनीहरु २ असोजमै वीरगञ्ज फर्किएका थिए । त्यसको भोलिपल्ट त्यही हतियार प्रयोग गरेर मोहम्मदको हत्या भएको आशंका गरिएको छ ।

लाल मोहम्मद हत्या प्रकरणमा संलग्न भएका भनेर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरिएकाहरु
एक साताअघि मृतक स्वयंले आफूलाई खतरा रहेको भन्दै दिएको लिखित सूचनालाई नजरअन्दाज गरेको प्रहरी सुटरसम्म चाहिँ पुग्न सकेको छैन ।

क्लोज सर्किट (सीसी) क्यामरामा रातो सर्ट र जिन्सको पाइन्ट लगाएको देखिएको भन्दै त्यही हुलियाको व्यक्ति खोज्न उपत्यकाका युनिटलाई सूचना जारी गर्ने प्रहरीकै अनुसन्धानले पनि घटनामा संलग्न मुख्य व्यक्ति भागेर भारत पुगिसकेको देखाउँछ ।

घटनास्थलबाट तीन सय मिटर दुरीमा रहेको कोशीपारि होटलमा बसेका पञ्जाबका नितिन मदन अरोराले हत्या गर्ने समूहको नेतृत्व गरेको प्रहरी आशंका छ । होटलको सीसी टीभी फुटेजमा उनीसँगै अन्य दुईजना पनि देखिएका छन् । तिनै व्यक्ति सुटर भएको प्रहरीको आशंका छ ।

हालसम्म प्रहरीले नितिन मदन नै हत्याको योजनाकार भएको बताइरहेको छ । तर हतियार काठमाडौं ल्याउने भरियाको पक्राउले यो प्रकरणको नेक्सस नितिनमा मात्र सीमित रहेको संकेत गर्दैन । किनकि, भरियालाई ‘बब्बु’ नामक भारतीय नागरिकले हतियार डेलिभरीको जिम्मेवारी दिएको भेटिएका छन् । बब्बु को हुन् भन्ने प्रहरीले हालसम्म पत्तो पाएको छैन ।

मृतक मोहम्मदमाथि भारतीय पक्षले जाली नोट कारोबारमा संलग्न रहँदै आएको आरोप लगाउने गरेको थियो । जानकारहरुका अनुसार भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र स्पेशल टास्क फोर्स (एसटीएफ) का अधिकारीहरुले मोहम्मदबारे पटकपटक चासो राख्ने गरेका थिए ।

सुटरसम्म कहिल्यै पुग्दैन प्रहरी

भारतविरुद्ध गतिविधि गरेको अभियोगमा नेपाली नागरिक मारिएको यो पहिलो पटक होइन । र, घटनाका मुख्य आरोपीसँग पुग्न असफल हुने पनि पुरानै प्रवृत्ति हो ।

प्रहरी अधिकृतहरु भारतीयले प्रयोग गरेका नेपाली सहयोगी समात्दै रम्ने गरेका छन् । जसको पुष्ट्याइँ दुई विद्यार्थी समातेर हालै काठमाडौं प्रहरीले गरेको पत्रकार सम्मेलनले गर्छ । एक अधिकृत भन्छन्, ‘खासमा विद्यार्थीमार्फत खुलेको नामबाट माथिल्लो लेयरको खोजी गर्नुपर्थ्यो, तर प्रहरीले अगाडिको जाँचमा सहयोग पुग्नसक्ने सूचना नै छरपष्ट पार्यो ।’


मिर्जा दिलसाद बेग

२०५५ सालयता भारतविरोधी गतिविधि गरेको आरोपमा १० जनाभन्दा बढी नेपाली नागरिक मारिएका छन् । तीमध्ये अधिकांश श्रृंखलाबद्ध हत्यामा संलग्न व्यक्तिसम्म प्रहरी पुग्न सकेको छैन । योजनाकार समात्न त परै जाओस्, सुटर पनि दुईवटा घटनामा मात्रै समातिएका छन् ।

भारतविरुद्ध गतिविधि गरेको आरोपमा पेशेवर अपराधीको प्रयोगबाट नेपाली नागरिकको हत्या श्रृंखला १५ असार २०५५ मा तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद मिर्जा दिलसाद बेगबाट सुरु भएको मानिन्छ ।

सिफलस्थित कालो पुलको उकालोमा बा अ ञ ७६५९ नम्बरको सेतो टोयोटा कार पार्क गरेर निस्किने वित्तिकै बेगमाथि १० राउण्ड गोली प्रहार भएको थियो ।

बेग सडकको बायाँ किनारमा मृत अवस्थामा भेटिएका थिए भने सवारी चालक भुवन कार्की ड्राइभिङ सिटमै रगताम्ये अवस्थामा थिए । उनको शरीरमा ६ वटा गोली लागेको त्यसबेलाको पोष्टमार्टम प्रतिवेदनमा उल्लेख छ ।

प्रत्यक्षदर्शी नवीन अधिकारीले छानबिन आयोगलाई दिएको बयान अनुसार राति साढे ९ बजे बेगको गाडी आएर रोकिएको थियो । लगत्तै अर्को गाडी आएर सोही ठाउँमा हर्न बजाएर फर्किएको थियो । त्यहीबेला गाडीबाट निस्किएका तीन/चार जनाले गोली चलाएको उनले भनेका छन् ।

आवाज सुनेपछि झ्यालबाट हेर्दा ‘जय माता दी’ भन्दै मानिसहरु गाडीमा तीव्र गतिमा गएको घटनास्थलमा भेटिएका पवन राय, चन्द्रप्रकाश शर्मा र धीरेन्द्र रायको पनि बयान छ ।

उनीहरुले मारिने व्यक्ति सांसद बेग भएको पछि मात्र चाल पाएका थिए । आयोगको प्रतिवेदनमा उल्लेख भए अनुसार बेगको हत्या भारतीय अन्डरवर्ल्ड डन छोटा राजन, बब्लु श्रीवास्तव र ओपी सिंहको निर्देशनमा भएको थियो ।

उनीहरुले काठमाडौंमा रहेका करण सिंहको बा अ च ९५५७ नम्बरको कारमा हतियार राखेर सिंह, जुबेर शाह र रोकेश मिलेर मिर्जालाई गोली हानेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

हत्या योजनामा सन्देश शर्मा, राजेन्द्र शर्मा र रविना अग्रवालको प्रमुख भूमिका रहेको पनि उल्लेख छ । प्रतिवेदन अनुसार शर्माद्व र अग्रवालले मिर्जाको नजिकमा रहेर उनको गतिविधि निगरानी गर्न भूमिका खेलेका थिए ।

तर घटनामा प्रत्यक्ष संलग्न कसैलाई पनि प्रहरीले पक्राउ गर्न सकेन । बरु अनुसन्धानका क्रममा मिर्जाको हत्यामा संलग्न जुबेरसहितका व्यक्तिहरु ठमेलस्थित होटल टुर्कीमा १२ असार २०५५ देखि बसेको देखिएको थियो । उनीहरुले कृष्णनगर भन्सारबाट नम्बर लिएर गाडी ल्याएको देखिएको थियो ।

तत्कालीन प्रहरी निरीक्षक दिवस उदासको प्रतिवेदन अनुसार हत्यामा संलग्न अभियुक्तमध्ये चार जना नेपाली नागरिक मात्रै पक्राउ परेका छन् । सफिक महमद खान, सुरेन्द्रकुमार भण्डारी, पुष्पराज गौतम र सतीश गौतमलाई प्रहरीले त्यसबेला पक्राउ गरेको थियो । अरु सबै फरार छन् ।

भारतीय नक्कली नोटको कारोबार गर्ने गरेको अभियोग लाग्दै आएका नेपालगञ्जका ५६ वर्षीय मजित मनिहार पनि १९ असोज २०६६ मा नेपालगञ्ज नगरपालिका–२ मा रहेको लालीगुराँस होटलको कोठा नम्बर १०५ मा मृत फेला परेका थिए ।

मनिहार मारिएपछि उनकी श्रीमती नुरजहाँ सिद्धिकीले प्रहरीमा भारतीय नागरिक इबरार, विजेन्द्र र अजयको नाम किटान गरेर जाहेरी दिइन् । होटलको गेस्ट रेकर्डमा पनि उनीहरु सोही नाममा बसेको भेटिएको थियो ।

घटना भएको दिन इबरारसँगै अर्का एक व्यक्ति पनि होटल पुगेको अनुसन्धानबाट देखिएको थियो । ती व्यक्ति मनमित सिंह भाटिया उर्फ जसजित सिंह भएको अनुसन्धान अधिकृतहरु बताउँछन् । घटनामा कोही पनि पक्राउ परेका थिएनन् । तर, एक वर्षपछि काठमाडौंमा भएको अर्का घटनामा मनिहार हत्याको तार जोडियो ।

केन्द्रीय कारागारको सार्वजनिक भेटघाट कक्षमा २६ फागुन २०६७ मा जाली नोट कारोबार गर्ने गरेको अभियोग लाग्दै आएका युनुस अन्सारी नेशनल टेलिभिजन च्यानलका कर्मचारीसँग गफिइरहेका थिए ।

७ करोड ७६ लाख रुपैयाँ बराबरको भारतीय जाली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेपछि १० जेठ २०७६ मा युनुस अन्सारी ।
कर्मचारीसँग भेट सकेर भाइ अमिनसँग छुट्टिन हात मिलाउँदै गर्दा एक्कासी आफूतिर रिभल्बर ताकेको देखे । ‘एक्कासी ग्रिलको प्वालबाट हात छिराएर रिभल्बरले तीन/चार पटक फायर गर्ने कोसिस गरेको देखेपछि मलाई नै मार्न खोजेको भन्ने भयो’, उनले त्यसबेला गठित छानबिन समितिसमक्ष भनेका छन्, ‘त्यसपछि म भाग्न खोजें, दौडिँदा दाहिने पट्टीको हातको पाता मुनितिर गोली लाग्यो ।’

प्रतिवेदन अनुसार त्यसबेला कुख्यात सिरियल किलर चार्ल्स शोभराजलाई भेट्न आउने बहानामा कारागार पुगेका भाटियाले उनलाई रिभल्बरबाट गोली हानेका थिए । तर प्राविधिक गडबडीका कारण गोली चलेको थिएन ।

गोली चलेको थाहा पाएपछि त्यहाँ ड्युटीमा खटिएका प्रहरी जवान प्रमोद चौरसियाले उनलाई नियन्त्रणमा लिएका थिए । पछि सञ्चारमाध्यममार्फत तस्वीर सार्वजनिक भएपछि ती व्यक्ति नै मजित हत्याको दिन नेपालगञ्जस्थित होटलमा पुगेको व्यक्ति भएको परिवारले सनाखत गरेको थियो ।

अन्डरवर्ल्ड डन दाउद इब्राहिमसँग जोडिएको आरोप लागेका मिर्जा दिलसाद बेग निकट भनेर चिनिएका शौकत बेग पनि १० पुस २०६६ मा मारिएका थिए । मैनाबगरीस्थित अशोका मोटरपार्टस अगाडि युपी ६२ बी १७८० नम्बरको मोटरसाइकलमा आएका एक व्यक्तिले शौकतलाई गोली हानेका थिए । त्यसबेला बेगकी श्रीमती नजमा खान पनि नजिकै थिइन् ।

नजमाले तस्वीरका आधारमा घटनामा संलग्न व्यक्ति एम वाकर सइत भएको बताएकी थिइन् । प्रहरीले घटनामा भारत जैनपुरका सतीशराम यादवका छोरा निवयरामको मोटरसाइकल घटनामा प्रयोग भएको भेट्यो । थप सूचना पाएन । हालसम्म घटना अन्यौलमै छ ।

जमिम प्रकरणमा पाँच नेपालीविरुद्ध मुद्दा, अरु सबै फरार

स्पेश टाइम नेटवर्कका सञ्चालक जमिम शाह २४ माघ २०६६ मा लाजिम्पाटमा मारिए । उनले बंगलादेश र पाकिस्तानबाट आउने जाली नोट भारतसम्म पुर्‍याउन भूमिका खेल्ने गरेको भनिएको थियो ।

जमिम शाह
यो घटनामा पनि नेपाली नागरिकहरु मात्रै पक्राउ परेका थिए । प्रहरीले त्यसबेला पनि नेपाली नागरिकविरुद्ध मात्रै मुद्दा चलाएको थियो ।

तत्कालीन प्रहरी नायब निरीक्षक (सई) प्रकाश क्षेत्री, हतियार व्यवस्थापन गर्ने लक्ष्मण धमला, प्रकाश खड्का, सहयोगी पूर्वप्रहरी नायब उपरीक्षक (डीएसपी) जगदिश चन्द र ठमेलका श्रीकृष्ण पौडेलविरुद्ध मुद्दा दायर गरेको थियो ।

पौडेललाई फरार प्रतिवादी बनाइएको थियो । उनको कार्गो कार्यालयलाई हतियार लुकाउन प्रयोग गरिएको भेटिएको थियो ।

अन्डरवर्ल्ड डन बब्बु श्रीवास्तवको योजनामा यो घटना भएको तत्कालीन छानबिन समितिको निष्कर्ष छ । यसमा भारत उत्तरप्रदेशका बब्बु भनिने दीपक शाही उर्फ त्रिलोक सिंह, भारत पिथौरागढका दीपक नेपाली, मोहम्मद वाकर साइद लगायतको हत्यामा मुख्य भूमिका थियो । तर सहयोगी मात्र समातिएका थिए ।

सुनसरीमा ४ असोज २०७५ मा मारिएका खुर्सिद अन्सारीमाथि पनि भारतमा भएको आतंकवादी बम हमलामा संलग्नलाई राहदानी र नेपाली नागरिकता बनाइदिन सहयोग गरेको भारतीय पक्षको आरोप थियो ।

त्यही कारण अन्सारीलाई भारत बुझाइदिन भन्दै भारतको आन्तरिक गुप्तचरी हेर्ने इन्टलिजेन्स ब्यूरो (आईबी) का अधिकारीहरुले नेपाल प्रहरीलाई आग्रह गरेका थिए ।

अन्सारीको हत्याका लागि दुईवटा मोटरसाइकलमा सुटर आएका थिए । हत्या गरेर भाग्दै गर्दा प्रहरीले रोक्न खोजेपछि उनीहरु गोली हान्दै भारततिर भागेका थिए । यो घटनामा ‘पोइन्ट ब्ल्याङ्क’ दुरीबाट अन्सारीलाई टाउकोमा गोली हानिएको थियो ।

त्यसबेला अन्तरदेशीय अपराध मामलामा अनुसन्धान गर्ने अधिकृतहरुले अन्सारीको हत्यामा प्रयोग भएको अपराध शैली हेर्दा यसमा भारतीय सुरक्षा निकायको संलग्नता हुनसक्ने देखिएको बताएका थिए । घटनामा सहयोगी भूमिका खेलेका केही व्यक्तिको पहिचान भए पनि प्रहरीले पक्राउ गर्न सकेन ।

प्रहरीकै कमजोरीका कारण उम्किन्छन् अपराधी

जानकारहरुका अनुसार २०५५ सालदेखि हालसम्मका श्रृंखला हेर्ने हो भने हरेक घटना लामो योजना र पूर्ण तयारीका साथ भएका देखिन्छन् ।

आतंकवाद र अन्तरदेशीय अपराध अनुसन्धान गर्ने इकाइ विशेष ब्यूरोका एक पूर्वप्रमुखका अनुसार विगतमा यस्ता खाले अपराधमा भारतीय सुरक्षा निकायका अधिकारीहरुकै प्रत्यक्ष संलग्नता देखिएको छ ।

जस्तै, दाउद इब्राहिम र छोटा राजन समूहको द्वन्द्वका कारण मारिनुअघि कमलसिंह नेपालीकी श्रीमती बबिताको डेरामा भारतीय प्रहरीको इन्स्पेक्टर बताउने डिके शाहीले खानतलासी गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् । बबिताले बयानमा त्यसबेला नेपाल प्रहरीका एक प्रहरी निरीक्षक पनि कोठा बाहिर आएर बसेको बताएकी थिइन् ।


धर्मेश कुमार (डिके) शाही

सौकात बेगको हत्यामा पनि शाहीको नाम जोडिन्छ । आयोगसमक्ष दिएको बयानमा बेगकी पत्नी नजमाले सीमापारि रहेका स्पेशल टास्क फोर्स (एसटीएफ) का इन्स्पेक्टर शाहीको बेग हत्यामा हात रहेको बताएकी थिइन् ।

यिनै धर्मेश कुमार (डिके) शाहीले कम्तिमा ५० जना आतंकवादी, डकैतीमा संलग्न व्यक्तिलाई मुठभेडमा गोली हानेको र दुईपटक राष्ट्रपतिबाट सम्मान पाएको भारतीय सञ्चारमाध्यम अमर उज्यालाको एक समाचारमा उल्लेख छ । शाहीलाई प्रदेश सरकारले दुई पटक ‘आउट अफ टर्म’ बढुवा दिएको पनि भनिएको छ ।

जमिम शाहको हत्यामा नेपाल प्रहरीकै अधिकृतहरुको संलग्नता देखिएर उनीहरु थुनामा पुगेका छन् । ‘अन्य कतिपय घटनामा पनि प्रहरीकै सहयोगका कारण आरोपी फुत्किएका छन्’, ब्यूरोका एक अधिकृत भन्छन्, ‘यी सबै राज्य प्रायोजित अपराध हुन्, यस्तोमा आरोपीसम्म पुग्न कठिन हुन्छ ।’

जानकारहरुका अनुसार घटनापछि उनीहरुलाई कसरी सुरक्षित ठाउँसम्म पुग्ने भन्नेबारे पहिल्यै बलियो योजना बनाइएको हुन्छ । ‘निश्चित अवधिमा उनीहरु सेल्टरसम्म पुगिसक्छन्, त्यसपछि महिनौंसम्म निस्किँदैनन्’, एक अधिकृत भन्छन् ।

नेपाल प्रहरीका अर्का एक अधिकृत चाहिँ नेपालका मुस्लिम समुदायलाई भारतीय सुरक्षा संयन्त्रले हेर्ने दृष्टिकोण नै गलत भएको बताउँछन् । ‘मुस्लिम भन्ने वित्तिकै गलतरुपमा हेर्ने प्रवृत्ति छ,’ उनी भन्छन्, ‘मारिनु अघि आईएसआई र दाउदसँग जोडेर समाचार आउनु र लगत्तै उनीहरुको हत्या हुनु संयोग मात्र हुनसक्दैन ।’

पछिल्लो समय विगतमा जस्तो सुरक्षाकर्मी आफैं संलग्न नभई पेशेवर अपराधी प्रयोग गरेर व्यक्ति हत्या गर्ने गरिएको छ ।

इस्लामिक संघ नेपालका महासचिव फैजान अहमद हत्या सम्बन्धमा जाँचबुझ गर्न बनेको आयोगको प्रतिवेदनमा मिर्जा, जमिम, युनुस गोली प्रकरणदेखिका श्रृंखलाको प्रकृति, संलग्नता र कारक तत्व मेलखाने किसिमको रहेको उल्लेख छ ।

ती घटनामा गम्भिर सुरक्षा चुहावट देखिएको पनि उल्लेख छ । ‘विगतमा भएका छानबिन आयोगले प्रस्तुत गरेका सुझावहरुलाई इमान्दारिताका साथ पालना गरिएको भए यस्ता आपराधिक घटनाहरु नदोहोरिने तथा घटना भइहाले पनि अनुसन्धान सबल हुने थियो’, राजेन्द्रकुमार भण्डारी नेतृत्वको समितिको प्रतिवेदनमा निष्कर्ष छ ।

यही प्रतिवेदनले ‘नेपालमा भारतको रिसर्च एण्ड एनालाइसिस विङ (रअ) र पाकिस्तानको इन्टर सर्भिस इन्टेलिजेन्स (आईएसआई) को गतिविधिका कारण दुवै देशका अपराधीहरुको सहयोगमा घटना घट्ने गरेको देखिएको’ भनिएको छ । त्यसैले यस्ता घटना हुन नदिन विमानस्थल र अन्य सीमा नाकामा उच्च सतर्कता अपनाउनुपर्ने भनिएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu