Connect with us
Kapilvast Forest

कांग्रेस प्रतिपक्षमा

२०७९, ११ पुष सोमबारमा प्रकाशित

राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा आफ्नो दाबी नछोडेपछि नेपाली कांग्रेस सङ्घ र सातै प्रदेशमा प्रतिपक्षमा पुगेको छ। पाँचदलीय गठबन्धन निर्माण भएपछि सङ्घीय सरकारसँगै प्रदेशमा पनि सरकार गठन गर्न सफल भएको कांग्रेस अब संसद्को प्रतिपक्षी दल बन्ने भएको हो।

संसद्को पहिलो दल कांग्रेसले नयाँ सरकार गठनका क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदमा दाबी नछोडेपछि सत्ताबाट प्रतिपक्षमा पुगेको छ। यससँगै कांग्रेसले सङ्घ र प्रदेशका दुई दर्जनभन्दा बढी महत्त्वपूर्ण पद गुमाएको छ। प्रतिनिधि सभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक गरी २७५ सदस्य रहेकोमा कांग्रेसले प्रत्यक्षमा ५७ सहित ८९ सिट जितेको थियो। कांग्रेससँगै नेकपा (एकीकृत समाजवादी) पनि अर्को निर्णय नगरेसम्म प्रतिपक्षमै हुनेछ। चार सिटसहित लोकतान्त्रिक समाजवादी पार्टी पनि प्रतिपक्षमा बस्नेछ। एक सिट रहेको राष्ट्रिय जनमोर्चाले सरकारलाई समर्थन गर्ने–नगर्ने निर्णय गरेको छैन। त्यस्तै एक सिट रहेको नेपाल मजदुर किसान पार्टी पनि प्रतिपक्षमै रहने छ। पाँच जना स्वतन्त्र सांसदमध्ये दुई जनाले सरकारलाई समर्थन गर्ने–नगर्ने विषयमा निर्णय सार्वजनिक गर्नुभएको छैन।

सङ्घमा माओवादी–एमालेसहितका राजनीतिक दलहरूबीच नयाँ गठबन्धन बनेपछि कांग्रेसले सातै प्रदेशमा सरकार गठन गर्ने मौका गुमाएको छ। प्रदेश एक र मधेशमा अन्य दललाई पनि साथ लिएर मात्रै सरकार गठन गर्नसक्ने अङ्कगणितमा रहेको कांग्रेसले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि सरकार गठन गर्न सक्ने छैन। यी पाँच प्रदेशमा माओवादीबिना कांग्रेस वा एमालेले एक्लै सरकार गठन गर्न सक्दैनन्। चुनावी गठबन्धनमा १० वर्षसम्म गठबन्धनलाई अघि लैजाने घोषणा गरेका सभापति देउवाले सरकारको नेतृत्वमा दाबी नछोड्दा राष्ट्रपति पद, सरकारमा सहभागिता, संसद्को नेतृत्व र प्रदेश सरकार गुमाउन पुग्नुभएको हो।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद जीवन परियारले सभापति देउवाबाट निर्णयमा ठूलो गल्ती भएको बताउनुभयो। उहाँले पाँचदलीय गठबन्धनभित्रै सहमति गरेर राष्ट्रपति र प्रधानमन्त्री पदको बाँडफाँट टुङ्ग्याउनुपर्नेमा त्यो हुन नसक्नु गल्ती भएको बताउनुभयो। सङ्घीय सरकारसँगै प्रदेश सरकारहरू गुमाउँदा पार्टीको घोषणापत्र कार्यान्वयन गर्न नसकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “सभापतिजीको निर्णयमा गम्भीर गल्ती भयो। निर्णय गर्दा पदाधिकारीहरूसँग छलफल गर्नुपर्ने थियो तर त्यो नभएपछि गठबन्धन तोडियो। सत्ता पनि गुम्यो।”

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu