Connect with us
Kapilvast Forest

सिद्धार्थनगरमा पाँच हजार वृक्षरोपण अभियान

२०७६, २७ श्रावण सोमबारमा प्रकाशित

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले चालु आर्थिक वर्षको भदौभित्रै नगरका विभिन्न वडामा पाँच हजार वृक्षरोपण गर्नका लागि अभियान शुरू गरिएकाे छ ।  नगरमा फराकिला गरिएका सडकका दायाँबायाँ, ६ लेन सडक र दरखसवा मा बन्न लागेको पार्कमा विभिन्न प्रजातिका बिरुवा लगाइने नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘पर्याप्त वर्षा नभएकाले केही ढिलाई भएको छ’, अधिकारीले भन्नुभयो, ‘यद्यपि हामीले अहिले पनि पानीको उचित व्यवस्थापन गरेर वृक्षरोपण गरिरहेका छौं ।’ भदौभित्रै सबै बिरुवा लगाउने गरी तयारी भइरहेको अधिकारीको भनाइ छ ।

नगरपालिकाले सोमबार एक सय पचास वृक्षरोपण गरेको छ । वडा नम्बर–४ र ६ मा वृक्षरोपण गरिएको हो । पहिलो चरणमा गल्लामण्डीको हनुमानकुटी मन्दिरदेखि गौतमबुद्ध विमानस्थल अगाडिसम्म वृक्षरोपण गरिने उपप्रमुख उमा काफ्लेले जानकारी दिनुभयो । ‘विमानस्थल रोड भएकाले यो सडकको दायाँवायाँ नगरपालिकाले ३ सय वृक्षरोपण गर्दै छ’, काप्mलेले भन्नुभयो, ‘वृक्षरोपणपछि यहाँबाट ओहोरदोहोर गर्ने पर्यटक र नगरबासीलाई थप आनन्दित गराउने छ ।’

सोमबार भएको वृक्षरोपणमा समी, स्टोनिया र गुलमहर जातका बिरुवा रोपिएका छन् । ‘हामीले विरुवा छिट्टै हुर्किउन भनेर १ मिटरभन्दा अग्ला विभिन्न जातका विरुवा लगाइरहेका छौं’, प्रमुख प्रशासकीय अधिकृत ख्यामबहादुर थापाले भने, ‘नगरपालिकासँग स्थानीयबासी मिलेर संरक्षणमा लाग्नुभयो भने वर्षभित्रै नगर हरियाली देखिन सुरु गर्नेछ ।’ वडा नं. ४ का अध्यक्ष मुक्तिनाथ यादव (भोला)ले संरक्षणमा नगरपालिकाले विशेष योजना ल्याउने जनाउँदै विरुवा जोगाउन सबै एकजुट हुन आग्रह गरे । उनले यहाँ गौतमबुद्ध विमानस्थल निर्माण अन्तिम चरणमा पुगेकाले निर्माण सम्पन्न पछि पर्यटकको आगमन बढ्ने भएकाले नगरपालिकाले अघि सारेको हरियाली अभियानलाई सार्थकता दिन नगरबासीको सहयोग उल्लेख्य रहने जनाए ।

नगरपालिकाले यसवर्ष रंगशाला रोड, ६ लेन सडकको डिभाइडर, मैत्रीपथ, दरखसवा, काटागाउँ, पक्लिहवा रोड, वडा नम्बर–३ मा बनिरहेको पार्क, सार्वजनिक जमीनमा वृक्षारोपण गर्दैछ । ‘हामीले हुर्किसकेका विरुवा लगाउने भएकाले एक वर्ष राम्रोसँग संरक्षण गर्न सक्यौं भने त्यसपछि पानी हालिरहनु पर्दैन’, वडा नम्बर–३ का अध्यक्ष थानेशवर पौडेलले भन्नुभयो, ‘गाईगोरुले खाने डर पनि हुँदैन र यसका लागि आफ्नो घर अघिको बिरुवा स्थानीयले संरक्षण गर्नु जरुरी हुन्छ ।’

नगरभित्र पर्ने ६ लेनको अधिकांश सडकमा वृक्षरोपण भइसकेको छ । नगरपालिकासहित विभिन्न संघसंस्थाले वृक्षरोपण गरेर संरक्षण गरिरहेका छन् । यस्तै, भित्री सडकमा समेत वृक्षरोपण गरिएको छ । सडक बनाउँदा वृक्षरोपणका लागि ठाउँ बनाइएकाले बिरुवा हुर्किएपछि सडकको सौन्दर्यमा थप वृद्धि हुने देखिन्छ ।

सोमबार भएको वृक्षरोपणमा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, महिला स्वयंसेविका, सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरु तथा स्थानीयको उल्लेख्य उपस्थिति रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu