Connect with us
Kapilvast Forest

रवि लामिछानेलाई दुरुत्साहनको अभियोग लगाउन प्रहरीको राय, ‘भिडियोबाहेक थप प्रमाण पनि जुट्यो’

२०७६, ८ भाद्र आईतवारमा प्रकाशित

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्युरोका एसपी दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिए।

अनुसन्धानका क्रममा सो घटनामा आत्महत्या गर्न दुरुत्साहन गरिएको प्रमाणसमेत पेश गरिएको एसपी रेग्मीले बताए। सरकारी वकिल कार्यालय र अदालतले थप प्रमाण माग गरेमा सोही अनुसार काम अघि बढाइने उनको भनाइ थियो। अनुसन्धानका क्रममा भिडियो बाहेकका प्रमाण जुटे पनि सार्वजनिक गर्न नमिल्ने एसपी रेग्मीले बताए।

एक सातादेखि आफूले निष्पक्ष ढङ्गबाट घटनाको अनुसन्धान गर्दै आएको र  बाह्य दबाब थेग्नु नपरेको जानकारी दिँदै उनले भने,“भीडबाट न्याय खोज्ने परम्परालाई निरुत्साहित गरी न्यायलयबाटै न्याय खोज्ने परम्परा थाल्नुपर्छ।” घटना भएपछि प्रहरी प्रधान कार्यालयले आफूलाई अनुसन्धानका लागि खटाएको र सोही अनुरुप आफ्नो काम सम्पन्न गरेको एसपी रेग्मीको  भनाइ थियो।

रेग्मीले यस मुद्दामा ३ प्रतिवादीमाथि लगाइएको दोष फरक फरक देखिएको भन्दै यसको निर्क्याेल अदालतले गर्ने बताए। सरकारी वकिलले आज जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको जनाएको छ। सो कार्यालयमा बिहान १० बजे नै प्रहरीले प्रमाणसहितको फाइल र अभियुक्तलाई पेश गरेको थियो।

प्रहरीले लामिछानेसहित ३ जनालाई पक्राउपछि दोस्रो पटक माग गरेको समय शनिबार सकिएको थियो। सरकारी वकिलले आजै अदालतमा मुद्दा दर्ता गरेमा अभियुक्तलाई साधारण तारेख, धरौटी वा थुनामा राख्ने भन्ने विषयमा वादी र प्रतिवादीको बहस हुने बताइएको छ। लामिछानेसहित ३ जनालाई साउन ३० गते प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो। उनीहरु पक्राउसँगै समर्थकले रिहाइ गर्नुपर्ने माग गर्दै दिनहुँ यहाँ प्रदर्शन गरिरहेका छन्।

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ। आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ। यसै प्रकारका अन्य ६ वटा मुद्दा उक्त अदालत चितवनमा दर्ता भइसकेका छन्। रासस

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu