शिक्षक नारायण खनालको “मेलै सिकाउन नसकेको गणित” कविता
कान्छा !
तिमी सानो छँदा तिम्रा हात छोपेर
धर्का तान्दै अंक लेख्न सिकाएँ मैले ?
अंकको पर्याय मान सिकाउन
फूल ,गुच्छा ,मुसा र बिरालाका चित्र बनाइदिन्थें
तारा र फूलहरूले
तिम्रा अंकहरूलाई पुरस्कृत गर्थें
कान्छा !
तिमीलाई सहजै सिकाउन सकिन्थ्यो गणित जोड, घटाउ,गुणन, भाग मात्रै होइन विजगणित,ज्यामिति त्रिकोणमिति,
सम्भाव्यता निरन्तरता र टेस्टहरू
सजिलै सिक्थ्यौ
कति बारूद छ
कान्छो
भन्नुहुन्थ्यो ,सरहरूले
स्नातकोत्तर सम्म नै
प्रथम श्रेणीमा पासगरेर,
आफ्नो सरको इज्जत
राखिदिएकोमा बधाई तथा धन्यवाद छ
कान्छा!
तर कान्छा आजभोलि
तिमी लखर ,लखर हिंडेको देख्छु
मरू भेट्न उतै जाँदै छौ रे
तिम्रा प्रमाणपत्रको चाङ बोकेर
तिम्रो आमाले
आँसुको झरना बगाउँदै
नोकरीको भिख माग्दै
भौंतारिरहेको देखेर
म लज्जित छु
कान्छा !
प्रश्न गर्दै छु आफैसँग किन ?
मैले सिकाईको गणितले
जीवन जीविकामा सहयोग गर्न सकेन
गणितका अंकहरू त
जोडिए तर प्रगति जोडिएन
कान्छा !
प्रगति गुणन हुँदै,
जानुपर्नेमा खुसी भाग लागेर
शुन्य पर्यायहुंदैछ
कान्छा !
संसारका गणित शिक्षकले
समाजको प्रगतिमा
कस्ता गणितीय शुत्र सिकाए
कुन्नि तर
मेरा गणितका शुत्रले
अल्फा,बेटा र गामालाई त खुसी दिए होलान् तर
वास्तविक जीवनमा
प्रमाणपत्र बाहेक
केही दिन सकेनन् कान्छा !
श्रमिकको गाँस,बाँस र कपास
खोजीदिन विरामिको
अौषधिको चक्कि बनिदिन
मेरो गणितले सिकाउन सकेन कान्छा !
न त मेरो गणितले खुसी नाप्न,
सुख अनन्त बनाउन र प्रेम तौलन सक्यो
न घृणालाई खुम्च्याउन सक्यो
न अपराधीको अपराधीक मानसिकता
शुन्यले गुणा गर्न सिकाउन सक्यो
तर कान्छा ! लोभि ,पापी र ब्यभिचारीले
आफ्ना कृयाकलाप गुणन गर्न जाने
तर मैले घटाएर शुन्य पार्न सकिन कान्छा !
जीवन जिउने गतिलो
शुत्र सिकाउन सकेको भए
मेरा सबै विद्यार्थीले
सुखको जीवन जिउँदा हुन
राष्ट्रको समृद्धिमा सरिक हुँदा हुन
मेरो गणितले दु:खका
आँसुको आयतन निकाल्न र खुसीको
क्षेत्रफलबढाउन सिकाउन सकेन
प्रगति र दुर्गतिका
रेखा प्रतिच्छेदन हुने र समानान्तर हुने
शुत्र दिन सकेन विजगणितका अमुर्त शुत्र
चेतना र संघर्षमा
सामाजिक प्रगतिमा नैतिक शिक्षामा,
अनुशासनमा सधै अमुर्त रहे कान्छा !
ज्यामितिमा रचना त सिकाएँ
तर राष्ट्रको प्रगति गर्ने र स्वाभिमानको
शिर ठाडो पार्ने जुक्ति
लगाउने शुत्र सिकाउन सकिन कान्छा !
ट्रुथ टेबल सिकाएँ
तर झुटो समाजलाई
सत्यको रापले सेक्ने
शुत्र दिन सकिन कान्छा !
केवल गणितीय शुत्र र गणितको निम्ति
गणित त सिकाएँ
तर सेवा र श्रमको महत्त्व निकाल्ने
जनताको न्यायिक राज्य स्थापना गर्न
आम जनतालाई एकताको मालामा गाँस्ने,
मानवियता फुलाउँदै जाने र आत्मियता
जोड्दै जाने शुत्र सिकाउन सकिन कान्छा !
एक्स र वाइका मानहरू
प्रतिस्थापन गर्न त सिकाएँ
तर असत्यलाई सत्यले अन्यायलाई
न्यायले दुखलाई
सुखले र गुलामीपनलाई
स्वाभिमानले प्रतिस्थापन गर्न
सिकाउन सकिन कान्छा !
गणितको इतिहास सँगै
मानव जातिको जीवन फुलाउन
राष्ट्रको मुहार फेर्ने
श्री वृद्धिको शुत्र दिन
दुख घटाउन र सुख जोड्न सिकाउन सकिन कान्छा !
जीवन समृद्धिको, मानवीयताको
समानताको र न्यायको रथ उचालेर
आकाशमा उड्न सिकाउन सकिन कान्छा !
गणित ,गणितको निम्ति सिकाएँ
तर जीवनको निम्ति सिकाउन सकिन कान्छा !
जीवनको निम्ति सिकाउन सकिन
जनता र राष्ट्रको उन्नतिका निम्ति सिकाउन सकिन ।