डब्लूएचओको तथ्याङ : खानपानकै कारण नेपालीहरू कलिलै उमेरमा रोगी
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पछिल्लो सर्वेक्षणले खानपानकै कारण नेपालीहरू कलिलै उमेरमा रोगी हुन थालेको देखाएको छ।
नेपालमा नसर्ने रोगसम्बन्धी जोखिम तत्त्वको सर्वेक्षण, २०१९ अनुसार नेपालीले दैनिक गर्ने भोजन पर्याप्त पोषणयुक्त छैन। त्यस्तै शारीरिक क्रियाकलापमा पनि कमी देखिएको छ।
परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार चुरोटभन्दा खैनी र गुट्खा खानेको संख्या बढेको छ। सर्वेक्षणअनुसार खराब आहारविहारकै कारण स्वास्थ्य जोखिम बढेको छ।
सबैभन्दा बढी प्रदेश ५ मा सुर्तीजन्य पदार्थका अम्मली फेला परेका छन्। त्यसपछि सुदूरपश्चिम क्षेत्रमा धूमपान गर्नेहरू देखिएका छन्। सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या प्रदेश ५ मा ३६.६ प्रतिशत छ।
सुदूरपश्चिममा भने ३३.८ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गर्छन्। प्रदेश २ र कर्णालीमा सुर्तीजन्य पदार्थ सेवन गर्नेहरू समान २९.७ प्रतिशत देखिएका छन्। गण्डकीमा २५.९ प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइएको छ। प्रदेश १ मा २२.८ र प्रदेश ३ मा २२.२ प्रतिशत धूमपानका अम्मली रहेको प्रतिवेदनमा उल्लेख छ।
डा. धिमालले १७–१८ वर्षदेखि सुर्तीजन्य पदार्थ सेवन गर्ने प्रवृत्ति देखिएको बताए। सर्वेक्षणअनुसार अम्मलीले सुर्तीजन्य पदार्थका लागि मासिक १ हजार ५० रुपैयाँ खर्च गर्छन्। मादक पदार्थ सेवन गर्नेको संख्या झन्डै ६८ प्रतिशत रहेको परिषद्ले जनाएको छ। सर्वेक्षण १५ देखि ६९ वर्ष उमेर समूहका ५ हजार ५ सय ९३ वयस्कमा गरिएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठले वयस्कहरू निष्क्रिय र अल्छी हुँदै गएको बताए। डब्लूएचओका नेपाल प्रतिनिधि डा. जोस भेन्डेलरले नसर्ने रोगको जोखिमबाट बच्न आहारविहार र जीवनशैली परिवर्तन गर्न सुझाव दिए। उनले भने, ‘कलिलै उमेरमा धूमपानको अम्मलीमा लाग्ने प्रवृत्तिले रोगको जोखिम बढाएको छ।’आजको अन्नपुर्णमा समाचार छ ।