पुरुष क्रिकेटमा नेपाल पराजित
काठमाडौं – एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेट खेलमा नेपाल बंगलादेशको यू–२३ टोलीसँग पराजित भएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार भएको खेलमा नेपाल बंगलादेशसँग ४४ रनले पराजित भएसँगै नेपालको स्वर्ण जित्ने सपना समाप्त भएको हो ।बंगलादेशले जीतका लागि दिएको १५६ रनको विजयी लक्ष्य पच्छाएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १११ रनमा समेटियो । खराब शुरूआत गरेको नेपालले १४ रनमा ३ विकेट गुमाएको थियो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए भने उपकप्तान दीपेन्द्रसिंह ऐरीले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । अविनाश बोहरा १३ रनमा अविजित रहँदा रोहित पौडेलले ८, ललित राजवंशीले ५ तथा सुसन भारीले २ रन जोडे ।
बंगलादेशका तान्भिर इस्लाम, सौम्या सरकार, सुमोन खान र मेहेदी हसनले समान २/२ विकेट झारे । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो । उसका लागि कप्तान नाजमूल होसेन सान्तो र आफिफ होसेनको ९४ रनको साझेदारी गरेका थिए ।
कप्तान नाजमूलले सर्वाधिक ७५ रनको योगदान दिए । ६० बलको सामना गरेका उनले ४ छक्का र ४ चौकाको मद्दतमा अविजित ७५ रन बनाएका हुन् । आफिफ होसेनले ५२ रन जोडे । बलिङतर्फ नेपालका पारस खड्काले ३ विकेट हात पारे । यस्तै दीपेन्द्रसिंह ऐरीले २ तथा अविनास बोहराले १ विकेट लिए ।
४ खेलमा २ जीत र २ हार व्यहोरेको नेपाल अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । नेपालले ४ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो ।
शुक्रवार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो ।
३ खेल खेलेको बंगलादेश तीनै खेलमा जीत हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ । बंगलादेशले ६ अंक बनाएको छ । समान ६ अंक नै जोडेको श्रीलंका रनरेटका आधारमा अंक तालिकाको दोस्रो स्थानमा छ । जारी प्रतियोगितामा बंगलादेश र श्रीलंका फाइनलमा प्रवेश गरेका छन् । नेपालले अब कास्य पदकका लागि माल्दिभ्ससँग खेल्ने छ ।