Connect with us
Kapilvast Forest

त्रिविका अनुसन्धान केन्द्रलाई बजेट

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

काठमाडौँ-वर्षौंदेखि अनुसन्धानबाट विमुख हुँदै आएका त्रिभुवन विश्वविद्यालयका अनुसन्धान केन्द्रहरू यस पटकबाट नयाँ अनुसन्धानमा केन्द्रित हुन पाउने भएका छन् । अनुसन्धान केन्द्रका साथै विश्वविद्यालयका प्राध्यापकहरू पनि अब अनुसन्धानमा क्रियाशील हुन पाउने अवस्थाको सिर्जना हुँदैछ ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममार्फत विश्वविद्यालयका कामविहीन अवस्थामा रहेका चारवटा अनुसन्धान केन्द्रलाई अनुसन्धान गर्ने प्रयोजनका लागि अलग्गै बजेटको सुनिश्चितता गरेपछि यस खालको अवस्थाको सिर्जना भएको हो ।

विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा. शिवलाल भुसालले सरकारको निर्णयको स्वागत गर्दै अब अनुसन्धान केन्द्रहरू विभिन्न खालको अनुसन्धानमा केन्द्रित हुने जानकारी दिनुभयो । विश्वविद्यालयका अनुसन्धान केन्द्र रित्तो हुने तर विश्वविद्यालयका प्राध्यापकहरू झोला अनुसन्धान बोकेर हिँड्ने परिस्थिति रहेको भन्दै उहाँले अब त्यसलाई चिर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो ।

सदुपयोग हुन नसकेका अनुसन्धान केन्द्र र प्राध्यापकलाई अनुसन्धानमा क्रियाशील गराएर राज्यलाई अनुसन्धानमा बलियो बनाउने नै आफूहरूको मुख्य लक्ष्य रहेको उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयमा आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा), नेपाल र एसियाली अनुसन्धान केन्द्र (सिनास), व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट) र शिक्षा विकास तथा अनुसन्धान केन्द्र (रिकास्ट) गरी चारवटा अनुसन्धान केन्द्र र ४० वटा केन्द्रीय विभाग छन् ।

जस्तोसुकै अनुसन्धानमा केन्द्रित गराउन खोजे पनि आफूहरूसँग आवश्यक दक्ष जनशक्ति तथा पूर्वाधार रहेकोले समस्या नहुने भुसालको भनाइ छ । विश्वविद्यालयलाई दिने बजेट यकिन भएपछि नयाँ तरिकाले अनुसन्धान केन्द्रहरूलाई अगाडि बढाउने त्रिविको योजना छ । यसअघि त्रिविका पदाधिकारीले सरकारबाट गरिने अनुसन्धानको जिम्मा विश्वविद्यालयलाई दिन आग्रह गरेका थिए । सरकारले यस पटक बजेट दिने प्रतिबद्धता जनाए पनि कति बजेट दिने तथा त्यो बजेट विश्वविद्यालय अनुसन्धान आयोगमार्फत आउने हो वा सीधै विश्वविद्यालयमा प्राप्त हुने हो यकिन हुन बाँकी रहेको विश्वविद्यालयका शिक्षाध्यक्ष भुसालले जानकारी दिनुभयो ।

त्रिविलाई चालू आर्थिक वर्षका लागि अनुसन्धान मात्र गर्ने प्रयोजनका लागि विश्वविद्यालय अनुसन्धान आयोगले नौ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो ।

आयोगले उपलब्ध गराएको उक्त बजेट अनुसन्धानकै प्रयोजनका लागि खर्च गरिएको छ । नयाँ आर्थिक वर्षका लागि सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेटमा विश्वविद्यालय शिक्षालाई अनुसन्धानमा आधारित बनाइने प्रतिबद्धता जनाइएको छ । यसअन्तर्गत त्रिविका अनुसन्धान केन्द्रहरू सेडा, सिनास, रिकास्ट र सेरिडलाई अनुसन्धानको अग्रणी संस्थाका रूपमा विकास गर्न आवश्यक बजेट विनियोजन गरिएको उल्लेख छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu