Connect with us
Kapilvast Forest

पर्वत, म्याग्दी र बागलुङमा बाढी पहिरोः दुईको मृत्यु, तीन बेपत्ता

२०७८, २३ असार बुधबारमा प्रकाशित

pahiro

 

पोखरा,- गण्डकी प्रदेशका पर्वत, म्याग्दी र बागलुङमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । मङ्गलवार रातीदेखि परेको अविरल वर्षापछिको बाढी पहिरोमा परी म्याग्दीका दुई जनाको मृत्यु भएको छ भने पर्वतमा दुई र बागलुङमा एक जना बेपत्ता भएका हुन् ।

म्याग्दीको मङ्गला गाउँपालिका– ५, अर्मनमा खहरेखोलाले घर बगाउँदा गजिन रोका र बिना रोकाको मृत्यु भएको हो । तमबहादुर बुढाको घरमा पसल गरेर बस्ने रोका दम्पत्तिको शव घटनास्थलबाट नजिकै पुरिएको अवस्थामा फेला परेको मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले जानकारी दिनुभयो । ‘दुवै जनाको शव भेटिएको छ, ‘क्षतिको विवरण सङ्कलन भैरहेको छ ।’ म्याग्दीका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामकुमार राईले भन्नुभयो ।

मध्यपहाडी लोकमार्गअन्र्तगत पर्वतको कुश्मा नगरपालिका– ८ दोविल्लास्थित सुन्दरेखोलामा आएको बाढीले गाडी बगाउँदा लोकमार्गमा कार्यरत इन्जिनियर राजाराम आचार्य र सवारीचालक इन्द्र चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढीले पुष्पलाल मध्यपहाडी लोकमार्ग र फलेवास जोड्ने सडकको सँगम स्थलमा रहेका तीन–चारवटा पसल समेत बगाएको छ । लोकमार्गको निर्माण गरिरहेको लामा कन्स्ट्रक्सनमा कार्यरत इन्जिनियर र चालक गाडीसँगै बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले बगाएको गाडी मोदी खोलामा देखिएकाले त्यहाँबाट निकाल्ने प्रयास भइरहेको छ ।

यस्तै बागलुङको ताराखोला गाउँपालिका– ३ हिलमा पहिरोमा पुरिएर एक जना वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । मङ्गलबार रातीको पहिरोमा पुरिएर स्थानीय १८ वर्षीय राजेन्द्र कार्की वेपत्ता भएकाले उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय ताराखोलका प्रहरी प्रमुख लक्ष्मण न्यौपानेले जानकारी दिनुभयो । बाढी पहिरोले पर्वत, बागलुङ, म्याग्दी लगायतका जिल्लाका अधिकांश सडक अवरुद्ध भएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu