Connect with us
Kapilvast Forest

दैनिक ४०० मेगावाट विद्युत् खेर

२०७८, ५ कार्तिक शुक्रबारमा प्रकाशित

bidur

काठमाडौं-विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन।

साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म (करिब साढे ७ अर्ब रुपैयाँ बराबर) विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको थियो।

हाल १ हजार ९ सय ७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ। तर, खपत भने १ हजार ४ सय मेगावाटको हाराहारीमा मात्रै रहेको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। केही दिन यताको बाढी र पहिरोका कारण १ सय ५० मेगावाट विद्युत् भने राष्ट्रिय प्रसारणबाट विच्छेद भएको छ।

साँझको समयमा विद्युत्को धेरै माग हुन्छ। रातको समयमा भने ८ सय मेगावाट मात्र माग हुने गरेको छ। यस कारण रातिको समयमा धेरै बिजुली खेर गइरहेको प्राधिकरण बताउँछ।

प्राधिकरणले आन्तरिक खपत बढाउने र भारतमा निर्यात गर्ने योजनालाई पूर्णरूपमा कार्यान्वयन गर्न नसक्दा बिजुली खेर गइरहेको स्वतन्त्र ऊर्जा प्रवद्र्धक संस्था इप्पानका उपाध्यक्ष आशीष गर्ग बताउँछन्। ३ वर्षअघिदेखि नै उत्पादित विद्युत् खेर जानसक्ने भन्दै निजी ऊर्जा प्रवद्र्धकहरूले सचेत गराउँदै आएका थिए। तर, प्राधिकरणले वास्ता नगर्दा अहिले समस्या देखा परेको गर्ग बताउँछन्।

‘माथिल्लो तामाकोसी जोडिएर विद्युत् खेर जान थालेपछि मात्र प्राधिकरण ब्यँुझिएको छ,’ उनले भने, ‘तत्काल न खपत बढ्न सक्छ, न निर्यात नै हुन सक्ने अवस्था छ।’

प्राधिकरणले भारतको विहारमा केही बिजुली निर्यात गरिरहेको छ। विहार सरकारले दैनिक २ सयदेखि २ सय ५० मेगावाटसम्म विद्युत् किनिरहेको प्राधिकरण प्रवक्ता भट्टराई बताउँछन्। बर्खाको समयमा नेपालबाट विद्युत् दिने र हिउँदको समयमा भारतबाट ल्याउने गरी सहमति गर्न विहारसँग प्रस्ताव गरेको प्राधिकरण स्रोत बताउँछ। तर, विहार सरकारले त्यसबारे जवाफ दिएको छैन। विहारले अहिले नेपालबाट आवश्यकताअनुसार मात्र विद्युत् लिइरहेको छ।

नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाका कारण वर्षायाममा नेपालमा विद्युत् उत्पादन धेरै हुने गरेको छ। हिउँदको समयमा एक तिहाइ मात्र उत्पादन हुने गरेको छ। बर्खायाम सकिन लागेकाले विद्युत् खेर जाने समस्या अब विस्तारै कम हुँदै जाने प्राधिकरण स्रोतको भनाइ छ। प्रायःजसो नोभेम्बर १५ बाट नदीहरूको सतह घट्न गई विद्युत् उत्पादनसमेत घट्ने गर्छ।

दक्षिण एसियाली ऊर्जा सम्मेलन सम्पन्न
दक्षिण एसियाली राष्ट्रहरूले ऊर्जाको समान वितरणका लागि सहकार्य गर्ने जनाएका छन्। दक्षिण एसियाली ऊर्जा सम्मेलनको बिहीबार भएको भर्चुअल बैठकमा सहभागीहरूले छिमेकी राष्ट्रहरूमा बढी भएको बिजुली खपत गर्न पूर्वाधार निर्माणका लागि नीतिगत पहल गर्नुपर्नेमा जोड दिएको इप्पानका उपाध्यक्ष गर्गले जानकारी दिए। भारतको विदेश मन्त्रालय, ऊर्जा मन्त्रालय तथा भारत उद्योग परिसंघको आयोजनामा बैठक भएको थियो। अन्नपुर्ण पोष्ट

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu