Connect with us
Kapilvast Forest

उडान रुकुमको, अवतरण नेपालगन्जमा

२०७८, ८ मंसिर बुधबारमा प्रकाशित

काठमाडौँ — रुकुमका महिलाहरूको अधिकारबारे अध्ययनका लागि काठमाडौं न्युरोडकी लुमन्तीसिद्धि वज्राचार्य र इमाडोलकी आयुशी बम आइतबार काठमाडौं विमानस्थलबाट सल्ले जान नेपाल वायुसेवा निगमको ट्वीनअटर चढे । पहिलो पटक रुकुम जान लागेका उनीहरू जब नेपालगन्ज विमानस्थलमा उत्रिए, झसंगै भए । उनीहरूले सोचेका थिए– ‘रुकुम आइपुगियो ।’ तर त्यो रुकुमको सल्ले विमानस्थल थिएन ।

रुकुम जान काठमाडौं विमानस्थलमा निगमको विमान चढ्ने क्रममा लुमन्तीसिद्धि वज्राचार्यलगायत ।
जहाजबाट ओर्लिएलगत्तै उनीहरूलाई निगमका स्थानीय कर्मचारीद्वारा भनियो, ‘खाना, होटलको व्यवस्था आज यतै गरेका छौं, भोलि बिहानै पहिलो फ्लाइटमा तपाईंहरूलाई रुकुम उडाइदिन्छौं ।’ यो कुरा सुनेपछि लुमन्ती र आयुशी मात्रै होइन, सोही उडानमा नेपालगन्ज आइपुगेका अरू आठ यात्रु पनि तीनछक परे । खासमा उनीहरूको हातमा टिकट र बोर्डिङपास रुकुम सल्लेको थियो । तर निगमको ट्वीनअटरले नेपालगन्जस्थित राँझा विमानस्थलमा ओरालिदियो । जहाज त्यहीं राखेर चालकदलका तीन सदस्य आराम गर्न क्रु–क्याम्पतिर लागे ।

 

कुनै पनि उडानमा यात्रुलाई गन्तव्य र यदि त्यो परिवर्तन गर्नुपर्ने परिस्थिति सिर्जना भएमा पाइलटले एयरहोस्टेसमार्फत जानकारी गराउनुपर्छ । तर उनीहरूलाई उडानका क्रममा त्यस्तो कुनै जानकारी गराइएको थिएन । ‘त्यो हाम्रो काम नै होइन,’ उक्त उडानमा रहेका एक पाइलटले भने, ‘हामी काठमाडौंबाट उड्दा नै नेपालगन्जका लागि उडेका थियौं । हामीले उड्नुअघि हस्ताक्षर गरेर बुझाउने फ्लाइट प्रोग्राममा नेपालगन्ज नै जाने लेखिएको छ ।’ रुकुम जानुपर्ने यात्रुलाई नेपालगन्ज किन लगियो त ? यसमा निगमको आन्तरिक विमानस्थलमा रहेको जहाज तथा चालकदलको व्यवस्थापन हेर्ने अपरेसन शाखा र यात्रु सेवा शाखाबीच समन्वयको अभाव मुख्य कारण देखिएको छ ।

खासमा यो उडानको समय आइतबार बिहान साढे ६ बजेको थियो । रुकुमको सल्ले विमानस्थलको मौसम सफा भएकाले जहाज अवतरणका लागि समस्या थिएन । तर, उक्त बिहान मौसम बिग्रिएका कारण नेपालगन्ज, सुर्खेत, भैरहवा र धनगढी विमानस्थल खुला गरिएका थिएनन् । उडान नियमअनुसार कुनै पनि गन्तव्यका लागि उड्नुअघि पाइलटले नजिकैका दुइटा वैकल्पिक विमानस्थल खुला नभएमा उड्न नपाइने नियम छ । त्यसैले रुकुम जाने जहाजले रुकुम खुला भए पनि यदि कुनै कारणले त्यहाँ अवतरण गर्न नसक्ने परिस्थिति पैदा भएमा नजिकैको अर्को विमानस्थलमा डाइभर्ट हुनुपर्ने हुन्छ । नजिकै वैकल्पिक विमानस्थल खुला नभइदिँदा आइतबारको बिहान उडान रद्द भयो ।

आइतबार साढे १० बजेसम्म पनि वैकल्पिक विमानस्थल नखुलेपछि उक्त उडानका क्याप्टेन पेम्बा शेर्पा र रक्षित मल्लले आरए–१८१ नम्बरको उडान रद्द गरेर घरतर्फ लागे । यदि रुकुम समयमै उडान भइदिएको भए, त्यो जहाज रुकुमबाट नेपालगन्ज पुगेर सिमकोट, जुम्ला र ताल्चा जाने तालिका थियो । तर काठमाडौंबाटै उड्न नपाएपछि चालकदल फर्किनुपरेको थियो । चालकदल नै फर्किएपछि टर्मिनलमा रहेको यात्रु सेवा विभागका कर्मचारीले ‘मौसमकै कारण’ बताएर रुकुम जाने ८ जना यात्रुलाई पनि घर फर्काइदिएका थिए । वायुसेवाले दुर्गम भेगका उडानमा अढाईदेखि तीन घण्टाभन्दा बढी यात्रुले कुर्नुपर्ने अवस्था आइपरेमा सामान्यतया उडान रद्द गर्छन् । पहिलो उडान नभएपछि बिहानी सिफ्टअन्तर्गत यात्रु सेवा विभागका प्रमुख गंगाबहादुर चन्द र जहाज हेर्न अपरेसनतर्फकी इन्चार्ज हेमु पाण्डे र सहयोगी कर्मचारी पनि घरतर्फ लागेका थिए ।

 

मध्याह्न १२ बजेपछि भने भैरहवा, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी विमानस्थलको मौसम क्रमशः सुधार हुँदै गयो । त्यसपछि ती विमानस्थलका लागि तोकिएका उडान सुरु भए । नेपाल वायुसेवा निगमले पनि बिहान रद्द गरेको रुकुमको उडान १ बजे गर्ने निर्णय गर्‍यो । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको निर्देशनअनुसार यात्रु सेवा विभागकी उपनिर्देशक रिना राईले निगमको आन्तरिक विमानस्थल प्रमुख चन्दलाई रुकुमको उडान गर्न भनिन् । हाकिमहरूको निर्देशनअनुसार, घर जाँदै गरेका चन्द नयाँबानेश्वरबाट फर्किएर विमानस्थल पुगे । उनले रुकुम उडान हुने भन्दै फोन गरेर बिहान घर फर्केका यात्रुलाई बोलाउन लगाए । तत्कालै अपरेसन शाखाले बूढानीलकण्ठ बस्ने क्याप्टेन मल्ल र चाबहिल बस्ने क्याप्टेन शेर्पालाई लिन गाडी पठायो ।

बिहानका यात्रुमा दिउँसो दुई जना थपिएर संख्या १० पुग्यो । ३ बजे क्याप्टेन शेर्पा र मल्ल ती यात्रु राखेर उड्ने भए । तर, चालकदलले रुकुम पुगेर नेपालगन्ज फर्कंदा ड्युटी समय १० घण्टा नाघ्ने भएकाले जहाज सोझै नेपालगन्ज लैजाने निर्णय लियो । ‘हामी काठमाडौंबाट सवा १ घण्टामा सल्ले गएर, त्यहाँबाट आधा घण्टाको दूरीमा रहेको नेपालगन्ज फर्कंदा हाम्रो ड्युटी समय १० घण्टा नाघ्ने भयो । अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) ले १० घण्टा बढी उड्न रोकेकाले हामी नेपालगन्ज जाने भयौं,’ नाम नछाप्ने सर्तमा एक क्याप्टेनले कान्तिपुरसँग भने, ‘यात्रुलाई कता जाने नजाने भन्ने हाम्रो काम होइन । त्यो यात्रु सेवा विभाग र मार्केटिङको जब हो ।’ उनले बिहान साढे ६ बजे चालकदलले लग–इन गरेपछि ‘ड्युटी आवर’ को गन्ती सुरु हुने र १० घण्टाभन्दा बढी काम गर्न नपाइने भएकाले हामी सोझै नेपालगन्ज उडेको बताए । तर, नागरिक उड्डयन प्राधिकरणको ‘फ्लाइट अपरेसन्स रिक्वायरमेन्ट–२०२०’ अनुसार कुनै पनि जहाजका कमान्डरले चाहेमा उडान समय १ घण्टासम्म र ड्युटी समय २ घण्टासम्म बढाउन सक्ने व्यवस्था छ ।

निगमका आन्तरिक उडानसँग सम्बद्ध एक अधिकारीका अनुसार उडानको चालकदलले चाहेको भए उक्त उडान रुकुम पुगेर पनि नेपालगन्ज जान सक्थ्यो । ‘रुकुमको मौसम खुला थियो, थप एक घण्टाभित्र नेपालगन्ज नाइट स्टप गर्न सक्थे,’ ती अधिकारीले भने, ‘तर, चालकदलले सुरक्षाको कारण देखाएर १० घण्टाको नियममा अडान लिए ।’ चालकदलले रुकुम जान नमानेपछि यात्रुहरूलाई एक रात नेपालगन्जमा निगमकै खर्चमा होटलमा राखेर त्यही विमानमा तीनै चालकदलले सोमबार बिहान रुकुम पुर्‍याएका थिए ।

निगमको व्यवस्थापकीय कमजोरीका कारण यात्रुहरूले अनावश्यक सास्ती व्यहोर्नुपरेको यो पहिलो घटना भने होइन । दसैंमा यस्तै लापरबाही हुँदा भोजपुरको टिकट काटेका सात यात्रु काठमाडौंमै छुटेका थिए । उनीहरूकै लागि निगमले भोलिपल्ट उडान राख्नुपरेको थियो ।कान्तिपुर 

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu