Connect with us
Kapilvast Forest

‘हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा’

२०७८, १७ पुष शनिबारमा प्रकाशित

काठमाडौं – हिमालय क्षेत्रका हिमनदीको क्षेत्रफल र आयतन घट्ने क्रममा रहेको तथ्य जलवायु परिवर्तनसम्बन्धी अध्ययनको एक प्रतिवेदनले सार्वजनिक गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले इसिमोडलगायत संस्थाको सहयोगमा गरेको अध्ययन प्रतिवेदन हिजाे काठमाण्डाैमा सार्वजनिक गरिएको छ ।

नेपालको हिमाली क्षेत्रमा जमेर रहेका पानीका स्रोत र यसको तल्लो तटीय क्षेत्रमा जलवायु परिवर्तनको असर बुझ्न अध्ययन गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

हिमाली क्षेत्रको भौगोलिक अवस्था, उत्तर–दक्षिणमा छोटो दूरीमा उचाइ परिवर्तनको कारणले तापक्रम र वर्षाको भिन्नतामा उच्च परिवर्तन देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपालमा सन् १९७७ देखि २०१० सम्म करिब २४ प्रतिशतले हिमनदीको क्षेत्रफल घटेको यसअघिको एक अध्ययन प्रतिवेदनको निष्कर्षलाई पनि पछिल्लो अध्ययनले सार्वजनिक गरेको छ । सन् १९७० देखि २००७ सम्म नेपालको खुम्बु क्षेत्रमा पर्ने इम्जा र ल्होत्से हिमनदीको उचाइ घटेको तथ्य पनि अध्ययनले सार्वजनिक गरेको छ ।

हिमतालको तीव्र विकासले हिमताल विस्फाेटबाट हुने बाढीको जोखिम बढेको छ । कोशी, गण्डकी र कर्णाली जलाधारमा सम्भावित खतरनाक ४७ वटा हिमताल पहिचान गरिएका छन् । यसमध्ये २१ वटा नेपालको उच्च हिमाली क्षेत्रमा, २५ वटा तिब्बतमा र एउटा भारतमा पर्ने अध्ययन प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म नेपाल हिमशृङ्खलाबाट ३५ वटा हिमताल विस्फाेटन भएको विभिन्न स्रोतमा उल्लेख गरिएको तथ्यलाई पनि अध्ययन बाहिर ल्याएको छ ।

अध्ययन कार्यदलका संयोजक मोहनबहादुर चन्द सन् १९६३ मा कञ्चनजङ्घा क्षेत्रमा हिमताल फुटेको तथ्य स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाकाबाट पुष्टि भएको बताउनुहुन्छ । यसको अभिलेख भने कतै नभएको र यो विषय सञ्चारमाध्यममा पनि नआएको उहाँले कार्यक्रममा सुनाउनुभयो ।

कार्यक्रममा पूर्ववातावरण सचिव भएर काम गरिसक्नुभएका कृष्ण ज्ञवालीले यस्ता विषयमा छलफल गर्ने वातावरण परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा गठन गरिए पनि त्यसको बैठक नै कम बस्ने गरेको जानकारी गराउनुभयो । परिषद्को बोझिलो संरचना भएकाले कमै बैठक बस्ने गरेकोसमेत उहाँको अनुभव छ ।

वन तथा वातावरण मन्त्रालयका उपसचिव डा अरुणप्रकाश भट्टले पछिल्लो समय मेलम्चीमा आएको बाढी, मनाङको हिमपहिरो र सुदूरपश्चिम प्रदेशमा बेमौसममा पानी परि धानबाली नष्ट भएको घटना जलवायु परिवर्तनको प्रभाव भएको बताउनुभयो । विकसित राष्ट्रले कार्बन उत्सर्जन गर्दा आएको यो समस्या समाधानमा पनि तिनै देशले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । सन् २०११ को अध्ययन अनुसार नेपालले ०.०५६ प्रतिशतमात्र कार्बन उत्सर्जन गर्छ ।

पालिकाले जलवायु परिवर्तनसम्बन्धी अध्ययन जनचेतना जगाउन छुट्याउने बजेट रकमान्तर गरी विकास निर्माणमै लगाइने गरिँदा पनि समस्याका बारेमा जनतालाई जागरुक गराउन नसकिएकाले यसतर्फ ध्यान दिनुपर्ने उहाँकाे भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu