Connect with us
Kapilvast Forest

१३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधन विद्युतीयमा रूपान्तरण

२०७९, ९ जेष्ठ सोमबारमा प्रकाशित

काठमाडौं – सुन्दर यातायात प्रालिको भगिनी संस्था सुन्दर अटो इन्जिनीयरिङ प्रालि छोटो समयमै १३ सयभन्दा धेरै दुईपांग्रे सवारीसाधनलाई विद्युतीयमा परिणत गर्न सफल भएको छ । वातारणमैत्री सवारीसाधनको प्रयोग बढाउँदै पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले कम्पनीले एक महीनाअघि सवारीसाधनलाई विद्युतीयमा परिणत गर्ने काम थालेको थियो ।

यस अवधिमा कम्पनीले १ हजार ३२८ ओटा विद्युतीय सवारीसाधन तयार गरेको छ । कम्पनीले उपत्यकाभित्रका लागि काठमाडौंको धुम्बाराही र उपत्यका बाहिरका लागि बुटवलको कालिकानगरमा रहेका आफ्नै एसेम्बल प्लान्टबाट मोटरसाइकल र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्दै आएको छ । विदेशबाट पार्टपुर्जा आयात गरी विद्युतीय सवारीसाधन उत्पादन गर्ने उद्देश्यले सुन्दर अटोले करीब १ अर्ब लागतमा २ वर्षपहिले नै बुटवलको कालिकानगरमा एसेम्बल प्लान्ट स्थापना गरेको थियो । पेट्रोलियम पदार्थबाट चल्ने बाइक, स्कुटर र कारलाई समेत विद्युतीयमा रूपान्तरण गर्ने उद्देश्य राखेको कम्पनीले हाललाई दुईपांग्रे सवारीसाधनमा मात्र काम गर्दै आएको छ । केही महीनाभित्रै चारपांग्रे गाडी पनि विद्युतीयमा रूपान्तरण गर्न शुरू गरिने कम्पनीले बताएको छ ।

सुन्दर यातायात प्रालिका सञ्चालक भेषबहादुर थापाले उत्पादन शुरू गरेको छोटो समयमै ठूलो संख्यामा विद्युतीय गाडी उत्पादन गर्न पाउनु कम्पनी र सवारीसाधन प्रयोगकर्ताका लागि पनि उत्साहको विषय भएको बताए । ‘हामीले वैशाख पहिलो सातातिर काम शुरू गरेका थियौं । ठूलो संख्यामा माग आयो । पेट्रोलियमबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा परिणत गर्दा एकपटकको चार्जमा उपत्यकाभित्र ९० देखि १०० किलोमिटरसम्म कुदाउन सकिन्छ,’ उनले भने, ‘योभन्दा बढी दूरीमा चलाउन कि फेरि चार्ज गर्नुपर्छ या त पुनः इन्धनबाटै चलाउनुपर्छ ।’

प्रयोगकर्ताको बढ्दो आकर्षणका कारण कम्पनीलाई थप ऊर्जा मिलेको उनले बताए । विद्युतीयमा परिणत गरिएका कुनै पनि सवारीसाधनमा हालसम्म गुनासो नआएको पनि उनले जानकारी दिए । उकालो–ओरालो जस्तोसुकै बाटोमा समेत सहजै कुदाउन मिल्ने भएकाले प्रयोगकर्ताको आकर्षण बढेको हुन सक्ने कम्पनीले बताएको छ ।

बाइक र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न ७० देखि ८० हजार रुपैयाँसम्म खर्च लाग्ने कम्पनीले बताएको छ । यस्तै ८०० सीसीसम्मको कारलाई विद्युतीयमा रूपान्तरण गर्न १४ लाख रुपैयाँसम्म खर्च लाग्ने सुन्दर अटोका इन्जिनीयर पाण्डव पौडेलले जानकारी दिए ।

कम्पनी आफैले विद्युतीयमा रूपान्तरण गरेका सवारीसाधन दुर्घटनाबाहेक अन्य कारणले बिग्रिएमा ३ वर्षसम्म कम्पनीले नै बनाइदिनेछ । काठमाडौं उपत्यकामा प्रयोगकर्ताबाट उत्साहजनक प्रतिक्रिया आएपछि पछिल्लो समय विराटनगरको ‘पूर्वाञ्चल प्रदूषण मुक्त समाज’ले १ हजार ७०० ओटा बाइक र स्कुटरलाई विद्युतीयमा रूपान्तरण गर्न अर्डर दिएको छ । त्यसका लागि आफ्ना प्राविधिकसहितको टोली र पार्टपुर्जा लिएर विराटनगरमै गएर सेवा दिइने कम्पनीले बताएको छ ।

पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै गएको छ । देशभरि चार्जिङ स्टेशनको संख्या बढ्दै गएकाले पनि विद्युतीय सवारीसाधनको प्रयोगकर्ता आकर्षित भएका हुन् । विद्युत् प्राधिकरण र निजीक्षेत्रका सहित हाल ५०० भन्दा बढी चार्जिङ स्टेशन स्थापना भइसकेका छन् ।

आर्थिक अभियान दैनिकबाट

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu