Connect with us
Kapilvast Forest

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

काठमाडौं-काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन्।सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिए।

उनका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोधपुछ तथा बधाई दिएका हुन्।फोन गर्ने मानिसहरू धेरैले फोहोरको गुनासो गरेको उनले बताए।‘फोन गरेकामध्ये ८० प्रतिशत मानिसहरूले फोहोरमैलासम्बन्धी गुनासो राख्नुभएको छ’, ढकालले भने ,‘उहाँहरू फोहोर कहिले उठ्छ भनेर जिज्ञासा र गुनासो राख्नुहुन्छ। १० प्रतिशत मानिसहरूले बधाई दिनु भएको छ भने बाँकीले ढल, विद्यालय लगायतका विषयमा गुनासा गर्नुभएको छ।’

फोन गर्नेहरूले फोहोरबाहेक कलेजको पर्दा च्यातिएको, घर निर्माण र करसम्बन्धी, विद्यार्थीले होस्टेलमा राम्रो सुविधा नपाएको लगायत विषयमा गुनासो गरेको ढकालले बताए।

यस्तै बाटामा भएका खाल्डाखुल्डी कहिले पुरिने र पिच हुने भन्ने विषयमा समेत जिज्ञासा आएको उनले बताए।यस्तै स्वास्थ्यमा क्षेत्रको असुविधा, कर, क्युआर कोड कसरी लिने जस्ता विषयमा उनीहरूले जानकारी लिन खोजेका छन्।

ढकालले अहिले कार्यालय अवधिमा मात्र कल सेन्टर सञ्चालनमा ल्याइएको बताए। सार्वजनिक बिदाका दिनमा पनि कल सेन्टरमा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए।

‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’ उनले भने, ‘उहाँहरूले आफ्नो समस्या राखेपछि हामीले सम्बन्धित निकायलाई सो समस्या फरवार्ड गरिदिन्छौं।’

कल सेन्टरमा फोन गरेर मात्र नभई इमेल र एसएमएस गरेर पनि महानगरवासीले आफ्नो गुनासो राख्न सक्छन्।अहिले कल सेन्टर सञ्चालनमा आएपनि गुनासोहरू सम्बोधन नगरिसकेको ढकालले जानकारी दिए।

‘कल सेन्टरमा कसैले फोन गर्दा नलाग्ने इत्यादि समस्या भए समस्या रेकर्ड गरेर पनि राख्न सक्नुहुन्छ,’ कल सेन्टरमा काम गरिरहेकी गुनलक्ष्मी गजुरेलले भनिन्,‘त्यसो भएको खण्डमा रेकर्ड भएको समस्यालाई हामीले सुनेर गुनासो सम्बोधन गर्न सम्बन्धित निकायलाई फरवार्ड गर्नेछौं।’

कल सेन्टर सञ्चालनमा आएको दुई दिन मात्र भएका कारण गुनासो सुन्ने काम मात्र भइरहेको उनले बताए।राष्ट्रिय सभा गृहबाट सञ्चालित कल सेन्टरमा हाल तीन जना कार्यरत छन्। अहिले कल सेन्टरमा एकैपटक १५० जनाले फोन गर्न सक्ने क्षमताको सफ्टवेयर भएको ढकालले बताए।

काठमाडौं महानगरको पहिलो कार्यपालिका बैठकले एक साताभित्र कल सेन्टर सञ्चालनमा ल्याउन गरेको निर्णय कार्यान्वयन गर्दै सोमबारदेखि राष्ट्रिय सभा गृहमा कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

यस्तै महानगरले पूर्वाधार एम्बुलेन्स पनि सञ्चालनमा ल्याइएको ढकालले बताए।महानगरको मातहतमा भएका दुई वटा गाडीलाई पूर्वाधार एम्बुलेन्स बनाइएको छ,’ ढकालले भने, ‘पूर्वाधार एम्बुलेन्समा दुई इन्जिनियर सहित ४ जना मजदुरहरूको टोली तयारी अवस्थामा छन्।’

कुनै ठाउँबाट फोन आएपछि दुई जना इन्जिनियरको टोली सम्बन्धित ठाउँमा पुग्छ। निरीक्षण गरेपछि के-के काम गर्नु पर्ने हो उनीहरूले योजना बनाउँछन्।सोहीअनुसार काम गर्न उनीहरूले सिफारिस गर्छन्।‘टेन्डर निकालेर गर्नुपर्ने ठूला कामहरू भने सोही अनुरूप हुन्छ’ ढकालले भने,‘फुटपाथका खाल्डाखुल्डी पुर्नेजस्ता साना काम पूर्वाधार एम्बुलेन्समा भएको टोलीले नै गर्छ।’

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu