Connect with us
Kapilvast Forest

भुटानी शरणार्थी नेता डा. भम्पा राईको निधन

२०७९, ५ असार आईतवारमा प्रकाशित

 

बिर्तामोड – भुटानी शरणाथी नेता डा.भम्पा राईको निधन भएको छ । ७५ वर्षीय राईको आइतबार बिहान २ बजेर ४० मिनेटमा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

 

पाँच दिन अघि हर्नियाको शल्यक्रिया गरेका राईको शनिबार दिउँसो ३ बजेतिर मुटुको चाल कम भएको थियो । तत्काल दमकस्थित लाइफालाइन अस्पताल भर्ना गरिए पनि चिकित्सकहरुले त्यहाँबाट विराटनगर रिफर गरेका थिए । उपचारकै क्रममा उनको बिहान निधन भएको राईकी भाञ्जी गौरी राईले पुष्टि गरिन् । राईको स्वास्थ्यमा समस्या देखिएपछि दमकबासी चिकित्सक डा. बेदनिधी खतिवडाले शनिबार अपराह्न विराटनगर अस्पताल पुऱ्याएका थिए ।

 

तीस वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका राई दमकमा एक्लै बस्दै आएका थिए । दुई वर्षअघि पत्नि उर्मिलाको निधन भएपछि उनी दमकस्थित डेरामा एक्लै बस्दै आएका हुन् । राई पेट सम्बन्धी गम्भीर रोगबाट पीडित थिए । तीन वर्षअघि आन्द्रा फुटेर रगत बग्दा महिनौं दिनसम्म थलिएका उनको तीन वटा शल्याक्रिया गरिएको थियो । पेटको शल्यक्रियापछि निकै लगेका राई पछिल्लो एक वर्ष हर्नियाबाटसमेत पीडित थिए । निकै दु:ख दिन थालेपछि पाँच दिनअघि गत मंगलबार दमकस्थित लाइफलाइन अस्पतालमा उनले हर्नियाको समेत शल्यक्रिया गराएका थिए ।

राईको पार्थिव शरीरको आइतबार नै किरात संस्कारअनुसार दमक नजिकैको पाडाजुँगीस्थित रतुवामाई वृक्षारोपणको जंगलमा अत्येष्टि गरिने जनाइएको छ ।

२९ वर्षदेखि दमक ८ स्थित खगेन्द्र गुरागाईंको घरमा डेरा बस्दै आएका राईलाई दमक नगरपालिकाले नि:शुल्क आवासको व्यवस्था गरिदिएको थियो । दमक ५ स्थित खेम भण्डारीको घरको भुइँ तलामा तीन वटा कोठा र किचनसहितको फ्ल्याटको व्यवस्था गरिएको थियो । उक्त फ्ल्याटमा राई गत जेठ १३ देखि बस्न थालेका थिए ।

 

भुटानी राजाका निजी डाक्टर रहेका राई सन् १९९१ मा भुटानबाट नेपाली भाषीलाई लखेट्दा उनी आफ्नै इच्छाले नेपाल आएका थिए । ३० वर्षअघि शरणार्थी हैसियतमा झापा आउँदा राईले श्रीमतीसँगै बुबाआमालाई पनि साथै ल्याएका थिए । आमा विष्णुमायाको ०५४ र बुबा आइतराजको ०६४ सालमा निधन भएको थियो । नि:सन्तान राईका लागि कुनै बेला एक लाखभन्दा बढी भुटानी शरणार्थीको गास, बास र आवासको व्यवस्थापनका लागि नेपाल सरकार तथा दातृ निकायको सहयोगका लागि पहल गरेका थिए ।

 

 

सन् ९० को दशकमा दक्षिणी भुटानबाट नेपालीभाषी ल्होत्साम्पा लखेटिन थालेपछि तिनै नेपालीभाषीका पछि लागेर स्वेच्छिक रुपमा निर्वासनमा आएका चिकित्सक राई दक्षिणी भुटानको साम्चीमा जन्मे–हुर्केका थिए । सन् १९९१ मध्यदेखि उनी झापाको दमकबासी बनेका हुन् । दमकमा स्वास्थ्य क्लिनिक खोलेर भुटानी शरणार्थी तथा स्थानीयका लागि नि:शुल्क स्वास्थ्य सेवा दिँदै आएका राईका बुबाआमा, श्रीमती र बहिनीसमेतको शरणार्थी हैसियतमा झापामै निधन भएको थियो ।

‘मलाई जे लाग्छ, अरुलाई नलाग्ला । म लखेटिएर, खेदिएर आएको मानिस होइन । मेरो व्यक्तिगतभन्दा पनि मेरो जातिको, मेरो रगतको कुरा थियो यो । उनीहरु आँखैसामू लखेटिएको अवस्था छ, म भने कसरी ‘रोयल सर्जन’ भनेर बसिरहनु ?’,राईले हालैको कान्तिपुरसँगको अन्तर्वार्तामा भनेका थिए—‘म एउटा व्यक्तिभन्दा मेरो जातिको कुरा ठूलो हो । मेरा बुबाआमा, बहिनी, श्रीमती शरणार्थी भएरै मरे । म पनि कि आफ्नै माटोमा कि तर यो शरण भूमिमा मर्नेछु ।’

 

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu