Connect with us
Kapilvast Forest

अल्मुताइरी काममा फर्कन चाहन्छन्, हामी पुराना कुरा बिर्सिन चाहन्छौँ – महासचिव राई

२०७९, १८ असार शनिबारमा प्रकाशित

नेपाली – फुटबलले पंकजविक्रम नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति असारको पहिलो साता पाएको छ । चुनावमा यो नेतृत्वको एउटा प्रमुख मुद्दा प्रशिक्षक–खेलाडीको विवाद समाधान गरी खेलाडीलाई न्याय दिनु थियो । त्यसैले, नयाँ कार्यसमितिको अन्य निर्णयभन्दा प्रशिक्षकको विषयमा कस्तो निर्णय आउँछ भन्ने सबैको चासोको विषय बनेको थियो । नयाँ कार्यसमितिले प्रशिक्षकको विषयमा पनि एक खालको निर्णय बनाइ सकेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नयाँ कार्यसमितिसँग काम गर्ने चाहना देखाइरहेको अवस्थमा एन्फाले पनि उनलाई पुनः काममा फर्काउने चाहना देखाएको छ । अल्मुताइरीलाई प्रशिक्षक पदबाट हटाउनसक्ने अवस्थामा एन्फा छैन । किनकि पारिश्रमिक पनि व्यवस्थापन गर्ने गरी कतार फुटबलले प्रशिक्षक अल्मुताइरीलाई पठाएको हो ।

अहिले विश्व फुटबलको नजर नै कतारमाथि जोडिएको छ । फिफा विश्वकप २०२२ को आयोजक कतार विश्व फुटबलकै यो समयमा बलियो राष्ट्र हो । यस्तो अवस्थामा नेपाली फुटबलले कतारलाई इन्कार गर्न सक्ने अवस्थामा छैन । न त नेपालका लागि कतारका राजदूतसँग गएर तपाईंहरुले पठाएको प्रशिक्षक फिर्ता लिनुस् भन्न सक्ने अवस्थामा छ । कतार फुटबलले पनि नेपाली फुटबल विकासका लागि करोडौँको लगानी गरेको छ । यस्तोमा कतार फुटबलले दिएको प्रशिक्षक कसरी फिर्ता पठाउने ?

त्यसैले एन्फाले प्रशिक्षकको विषयमा प्रतिवेदनलाई किनारा लगाउँदै खेलाडीलाई स–सम्मान प्रशिक्षणमा बोलाउने र प्रशिक्षकलाई खेलाडीसँग नम्र व्यवहार गराउने अवस्थामा छ । एन्फाका महासचिव किरण राईका अनुसार प्रशिक्षकले आफ्नो आगामी कार्यतालिका बुझाइ सकेका छन् । प्रशिक्षक तीन महिनाको बिदामा भएको र उनी अस्वस्थ पनि भएकाले यो समयमा अन्य कुरा अघि नबढेको उनले बताए ।

‘प्रशिक्षक अल्मुताइरी तीन महिना बिदामा छन् । हामी पुरानो विवादलाई भुल्न चाहन्छौँ । सकारात्मक कुरालाई आत्मसाथ गर्दै नकारात्मक कुरालाई बिर्सिन चाहन्छौँ । प्रतिवेदनको कुरामा पनि केही पुनर्विचार गर्नु पर्नेछ,’ राईले रातोपाटीसँगको कुराकानीमा भने ।

तर, एन्फाले यो विषयमा भने गलत निर्णय नै गरेको छ । यदि अल्मुताइरी प्रशिक्षकका रूपमा एन्फामा फर्केमा स–सम्मान फर्कने भनेका दश जना खेलाडीलाई क्याम्पमा बोलाउने या नबोलाउने भन्ने प्रशिक्षककै हातमा छ । खेलाडी छनोटमा पारदर्शिता देखाउने जिकिर गर्ने एन्फालाई यसले असर पार्ने देखिन्छ । यता प्रशिक्षकले गल्ती स्वीकार नगर्दासम्म खेलाडीहरू क्याम्पमा आउने अवस्था अहिले छैन । एन्फा अध्यक्षसँगै केही पदाधिकारीहरूले बुधबार कतारका राजदूतसँग भेट गरे । त्यसमा पनि प्रशिक्षकको विषयमा कुरा भएको एन्फाका एक पदाधिकारीले बताए ।

यता एन्फाले पहिलो बैठकबाट अर्काे आलोचनात्मक निर्णय गरेको छ । तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पाको पालामा विदेश विभाग प्रमुख पद पाएका नविन पाँडेलाई नयाँ अध्यक्ष पंकज विक्रम नेम्वाङले समर्थन जनाएका थिए । एन्फा निर्वाचनमा नेम्वाङलाई नै समर्थन गरेर चुनावमा लागेका पाँडेलाई एन्फाको पहिलो बैठकबाट विदेश विभाग प्रमुखमा मनोनित गरिएको छ । एन्फाको विधान मिचेर पाँडेलाई नयाँ नेतृत्वले विदेश विभाग प्रमुख बनाएको विषयमा चर्काे आलोचना भइरहे पनि एन्फाले आधिकारिक धारणा राख्दै विधान नमिचेको बताएको थियो । एन्फा विधानको धारा २४ मा निर्वाचित वा मनोनित हुने व्यक्तिको योग्यताको बारेमा उल्लेख छ, ‘धारा २४ को उपधारा ३ को ‘क’मा ‘गैरनेपाली नागरिक एन्फा वा प्रदेश फुटबल संघ वा जिल्ला फुटबल संघमा निर्वाचित वा मनोनित हुन सक्ने छैनन् ।
यसको विषयमा एन्फा महासचिव राईले एन्फाको विदेश विभाग हेर्न विदेशी नागरिकको खाँचो पनि रहने भएकाले मनोनित गरेको बताउँछन् । ‘विधानमा विदेशी व्यक्तिलाई मनोनयन गर्न मिल्दैन भनिएको छैन । त्यसैले नै हामीले पत्र लेखेका हौं । एन्फाको सबै काम नेपालमा मात्र नहुने भएकाले पाँडेलाई भोलेन्टियरको रूपमा राखिएको हो । उहाँले पारिश्रमिक पनि लिनुहुन्न,’ उनले भने ।

राईले साफको उपाध्यक्षका लागि पनि आफूहरुले सिफारिस गर्ने व्यवस्थाका लागि छलफल चलिरहेको बताए । साफको विधानअनुसार चलेमा आफूले कुरा राख्ने र पुरानो व्यक्तिलाई हटाउन मिल्ने भए हटाउन लगाउने बताए । यसअघि एन्फाले साफको उपाध्यक्षमा तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई मनोनयन गरेको थियो ।

‘साफको विधानले दुई महिना पहिला नै मनोनित गर्ने व्यवस्था गरेको छ । मैले साफसँग छलफल गर्नेछु, हटाउन सक्ने भए हटाउन लगाउने छु,’ राईले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu