Connect with us
Kapilvast Forest

विश्वविद्यालयका प्रमाणपत्र थन्क्याएर केरा खेतीबाट कमाउँदै लक्षीराम

२०७९, २२ असार बुधबारमा प्रकाशित

उनी कलेजमा पढाउँथेँ। कमाइ राम्रै थियो। तै पनि लक्षीराम आचार्यलाई चित्त बुझेन। उनले खेतीमा आँखा लगाए।दुई जना साथीसँग कुरा गरे। कुरा मिल्यो। तीन जना मिलेर कैलालीको गेटामा १० बिघा जमिन भाडामा लिए। यो कुरा हो २०७२ सालको।लक्षीरामले कृषिकर्ममा पर्याप्त सम्भावना देखेका थिए। अदुवा र मुसुरो खेतीमा राम्रो सम्भावना देखे। केरा खेतीमा उनको विशेष रूचि थियो। तराई क्षेत्र भएकाले केरा खेती सहज पनि हुन्थ्यो।

उनीहरूले केरा खेती रोजे। पहिलो वर्ष पूरै दस बिघामा केरा लगाए। विडम्बना! सबै केरा बिक्री भएन। जम्मा ९३ हजार रूपैयाँको मात्रै बिक्यो।नाफाको के कुरा, लगानी नै उठेन,’ लक्षीरामले भने, ‘भारतबाट आउने केरा नेपालको उत्पादनभन्दा सस्तो भइदिनाले हामीहरू समस्यामा पर्‍यौं।’जँघार पसेपछि खुट्टा कमाउने कुरा आएन। केरा खेती गर्ने अरू पनि धेरै किसान थिए। लक्षीरामले किसानहरूलाई संगठित गरे। एक दिन अत्तरियामा भेलागराएर कैलाली र कञ्चनपुरका केरा किसानहरूको संघर्ष समिति बनाए। भन्सार कार्यालय, क्वारेन्टिन कार्यालय, जिल्ला प्रशासन कार्यालय र प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाए।

मुख्य माग थियो- भारतीय केरा आयात व्यवस्थापन गर्नुपर्ने र स्थानीय उत्पादनको बजारीकरण गर्नुपर्ने।यही माग राखेर आन्दोलनमा पनि उत्रे।लक्षीरामले भने, ‘हामीले एक ट्रक केरा गड्डाचौकी नाकामा फाल्यौं। भारतबाट गुणस्तर नजाँची नक्कली प्रमाणपत्रका आधारमा केरा भित्रिँदो रहेछ। यस्तो प्रवृत्तिरोक्न माग गर्‍यौं।’आन्दोलनको परिणामस्वरूप भारतबाट भित्रिने केरामा सरकारले कडाइ गर्‍यो। यसबाट स्थानीय उत्पादनको बजार बढ्यो। नेपाली किसानहरूलाई फाइदा हुन थाल्यो।

लक्षीरामको व्यावसायिक कृषिकर्मबाट अन्य किसानहरू पनि प्रभावित छन्। स्थानीय किसान सुरेन्द्र चौधरीका अनुसार लक्षीरामको नेतृत्वमाभएकोआन्दोलनले किसानका केही समस्या समाधान गर्न सहयोग पुग्यो। खास गरी केरा खेती गर्ने किसानलाई फाइदा भयो। किसान पनि थपिए।लक्षीरामका अनुसार कैलाली र कञ्चनपुरमा आन्दोलनअघि केरा खेती गर्ने आठ सय किसान थिए। आन्दोलनपछि दुई सयजति थपिए। लक्षीरामका दुई जना साथी पनि आ-आफ्ना ठाउँमा खेती गर्ने भनेर अलग भए।

साथीहरूले आफैं खेती थालेपछि लक्षीरामले गोटामा भाडामा लिएको जमिन छाडे। आफ्नो गाउँ गोदावरीको बढैयामा सरे। त्यहाँ १२ बिघा जमिनमा खेती गरे।
कृषिबाट अथाह कमाउन सकिँदैन। तर स्वरोजगार भइन्छ। मेरो काम देखेर एक सय युवा कृषिमा आएका छन्। पढे-लेखेकाहरू पनि छन्,’ लक्षीराम भन्छन्, ‘नेपाली उपभोक्तालाई स्वदेशकै कृषि उपज खुवाउनु पर्छ भन्ने मेरो मान्यता छ।’हालसम्ममा कृषिमा आफ्नो लगानी एक करोड रूपैयाँभन्दा बढी पुगेको उनी बताउँछन्। केरा खेतीबाट प्रतिबिघा तीन लाख रूपैयाँसम्म फाइदा भएको उनले बताए।

अहिलेको हिसाबअनुसार एउटा बोटबाट पाँच सयदेखि हजार रूपैयाँसम्म आम्दानी हुन्छ। एउटा बोटमा फल निकाल्दासम्म २५० रूपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘खर्च कटाएर जे बच्छ त्यही फाइदा हो। अझै पनि भारतीय केरासँग प्रतिस्पर्धा गर्नु पर्छ, राम्रो फाइदा लिन सकिएको छैन।’

खेतीमा सरकारको सहयोग छैन, बिचौलियाको बिगबिगी छ। भारतीय केराले नेपाली बजार ओगटेको छ। आफ्नो उत्पादनले बजार नपाएर घाटा बेहोर्नुपरेको अनुभव पनि उनीसँग छ।सरकारलाई चासो छैन। दलालले दोब्बर–तेब्बर नाफा लिन्छ। सरकारले मूल्य निर्धारण गर्दैन,’ उनी भन्छन्, ‘बेलाबेला हुने विपदले क्षति पुर्‍याउँछ र घाटा हुन्छ।’भारतबाट केरा आयातमा कडाइ गर्ने हो भने नेपाली उत्पादनले बजार पाउने र धेरै युवा स्वरोगार हुन सक्ने उनलाई लागेको छ।

व्यावसायिक खेतीका लागि लक्षीरामले ‘युगीन बहुउद्देश्यीय कृषि फर्म’ दर्ता गरेका छन्। यसैमार्फत बाख्रा र कुखुरा पाल्ने तयारी गरेका छन्।लक्षीरामका अनुसार उनले दस वर्षअघि त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र र समाजशास्त्रमा स्नातकोत्तर गरेका हुन्। त्यहीँबाट विद्यावारिधि गरे। उनी भन्छन्, ‘मैले नेपाली राजनीतिको अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेँ। हाल सार्वजनिक प्रशासन (पब्लिक एड्मिनिस्ट्रेसन) पढ्दै छु।’

उनी आफ्नो पढाइको क्षेत्रमै केही गर्न सक्थे। तर प्रमाणपत्र एकातिर राखेर कृषि किन रोजे?३७ वर्षीय लक्षिरामको पारिवारिक पेसा कृषि नै हो। आमाबुबाले भैंसी र बाख्रा पालेका थिए। खेतबारी थियो। थोरैतिनो बेच्न पुग्ने गरी अन्न फल्थ्यो। कैलालीको पहाडी क्षेत्रको एउटा प्राथमिक विद्यालयबाट पढाइ सुरू गरेका हुन् उनले। करिब २५ वर्षअघि छोराछोरी अघि लगाएर उनका आमाबा कैलालीको कुचैनी बसाइ सरे। उनले यहीँको अमर माध्यमिक विद्यालयबाट ८ कक्षाको पढाइ पूरा गरे।

यसपछि भने उनी यसै भारत हानिए। चण्डीगढको एउटा घरमा श्रमिक भएर एक वर्ष बिताए। फेरि के सोचेर घर फर्के। अनि पढाइ सुरू गरे। एसएलसी परीक्षामा अनुत्तीर्ण भए। आंशिक परीक्षा दिनु पर्ने भयो। उनी फेरि भारत गएर चौकीदारी गरे। यस पटकको श्रम लाभदायक भयो।त्यो समय सम्झिँदै लक्षीरामले भने, ‘त्यहाँ केही कमाइ भयो। घर फर्केर एक कट्ठा जमिन किनेँ।’

उनका बुबा छोराले राम्ररी पढोस् र राम्रो जागिर गरोस् भन्ने चाहन्थे। लक्षीरामको रूचि भने राजनीतितिर थियो। एसएलसीपछि बाह्र कक्षा पनि पूरा भयो। बाबुछोराको कुरा भने मिलेन।बुबा राजनीति नगर भन्ने, म बाह्र कक्षा पास भएर राजनीतिमा लाग्छु भन्ने। बुबाले मलाई आर्थिक सहयोग रोक्नुभयो। आफैं कमाएर पढ्नुपर्ने भयो,’ उनले भने।

लक्षीराम फेरि भारत गए। त्यहाँको एउटा स्कुलमा काम गर्ने उनका भिनाजुले भारू पाँच हजार दिए। त्यही पैसा लिएर नेपाल फर्के। ती दिन सम्झिँदै उनले भने, ‘सत्ताइस सयमा एउटा साइकल किनेँ। बाँकी पैसाले कलेज भर्ना भएँ। गौरीफन्टाबाट साइकलमा ल्वाङ, सुकमेल इत्यादि ल्याएर धनगढीमा बेच्न थालेँ।

उनले ट्युसन पनि पढाए। उनको खर्च जेनतेन चल्थ्यो। पढाइसँगै राजनीतिमा लागे। २०६२/६३ सालको जनआन्दोलनमा कैलालीमा सक्रिय भए। त्यस बेला जेल पनि परे। कलेज भर्ना भएपछि उनको पढाइ भने रोकिएन।

यसरी अहिले कृषि पेसामा छन्।यसमा लाग्नुको कारण प्रष्ट पार्दै लक्षीरामले भने, ‘हाम्रो समाजमा पढेलेखेकाले खेती गर्नु हुँदैन भन्ने धारणा छ। म यो धारणा परिवर्तन गर्न चाहन्छु। पढेलेखेकाले कृषि पेसा त्याग्ने प्रवृत्तिको विपक्षमा छु म। शिक्षित व्यक्ति कृषिमा आउनुपर्छ भन्ने सफल दृष्टान्त स्थापित गर्न चाहन्छु।’सुदूरपश्चिमको तराईका जिल्ला कैलाली र कञ्चनपुरमा ठूलो मात्रामा केरा खेती हुन्छ। यहाँ लक्षीरामजस्ता धेरै युवाहरू केरा खेतीमा आबद्ध छन्। भारतीय केरा विस्थापित गरेर नेपाली उत्पादनले आत्मनिर्भर बन्ने उनीहरूको धोको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu