Connect with us
Kapilvast Forest

चन्द्रागिरि केबलकारमा फसेका यात्रुको उद्धार

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौँ- चन्द्रागिरि हिल्स प्रालिबाट सञ्चालित केबलकार एक्कासि बन्द भएपछि यात्रु अलपत्र परे । बुधबार दिउँसो १ः४० बजे केबलकारको विद्युतीय आपूर्ति प्रणालीमा समस्या आई चलिरहेका केबलकार बन्द भएपछि यात्रु आत्तिए ।

यस घटनामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चार सयभन्दा बढी यात्रु केबलकारको डिब्बाभित्रै करिब एक घण्टा अड्किनुभएको थियो । अध्यक्ष तिमिल्सिना भाइ र परिवारसहित घुमघामका लागि चन्द्रागिरि पुग्नुभएको र सोही क्रममा केबलकार बन्द भएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । परिवारसहित छुट्टी मनाउन चन्द्रागिरि पुग्नुभएका तिमिल्सिनाको परिवार बिहीबार फर्किने कार्यक्रम छ ।

केबलकार बन्द भएपछि बीचमा अलपत्र परेका यात्रुलाई जेनेरेटरबाट वैकल्पिक ऊर्जा प्रवाह गरी स्टेसनसम्म पु-याउने प्रयास गरिएको थियो तर आन्तरिक विद्युत् प्रणालीले काम नगरेपछि झन्डै एक घण्टा यात्रु बीचमा अड्किएका थिए । झन्डै एक घण्टाको प्रयासपछि वैकल्पिक ऊर्जाबाट केबलकार विस्तारै सञ्चालन गरी स्टेसनसम्म पु-याइयो तर त्यसपछि पनि पुनः केबलकार बन्द भयो ।

केबलकार नचलेपछि चन्द्रागिरिको डाँडामा पुगेका यात्रुलाई सकुशल उद्धार गर्न एक सयभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । चिकित्सक तथा नर्ससहित उद्धार टोली परिचालन गरिएको छ । केबलकार नचल्दा चन्द्रागिरिको डाँडामा ४३६ यात्रु फसेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी दिनेशराज मैनालीले चन्द्रागिरिको डाँडामा फसेका यात्रुलाई मकवानपुरको चित्लाङ हुँदै उद्धार गरिएको जानकारी दिनुभयो ।

केबलकारको माथिल्लो स्थानमा रहेका बालबालिका तथा वृद्ध यात्रुलाई वैकल्पिक ऊर्जाबाट विस्तारै केबलकार सञ्चालन गरी तल्लो स्टेसनसम्म ल्याइएको थियो । नेपाल विद्युत् प्राधिकरणले उक्त क्षेत्रमा बुधबार विद्युत् आपूर्ति नियमित रहेको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले त्यस क्षेत्रमा विद्युत् आपूर्तिमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले प्राधिकरणका कारण त्यस्तो समस्या नआएको दाबी गर्दै यसरी आन्तरिक रूपमा आइपर्ने समस्याका लागि कम्पनीहरू नै जिम्मेवार हुने बताउनुभयो ।

चन्द्रागिरि हिल्सका महाप्रबन्धक सञ्जीव थापाले केबलकार पूर्ण रूपमा स्वाचालित भएकाले कतिपय अवस्थामा सामान्य प्राविधिक समस्या देखिए पनि बन्द हुने गरेको बताउनुभयो । थापाले भन्नुभयो, आज केही बेर केबलकार बन्द भएको हो, वर्षा भइरहेकाले टावरसम्म पुगेर प्राविधिक समस्या बुझ्न केही समय मात्र लागेको हो । उहाँले केबलकारमा त्यस्तो कुनै गम्भीर प्राविधिक समस्या नभएको दाबी गर्नुभयो ।

केबलकारमा यसअघि पनि प्राविधिक समस्या आउने र बन्द हुँदा यात्रु केबलकारमा अलपत्र पर्ने गरेका छन् । यसअघि २०७८ चैत १६ गते पनि प्राविधिक समस्या आएर केबलरकार बन्द भएपछि पाँच बालबालिकासहित ३७ जना यात्रुको झन्डै तीन घण्टापछि उद्धार गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu