Connect with us
Kapilvast Forest

६१ वर्षीय रिमबहादुर कक्षा ५ मा पढ्दै !

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

तुलसीपुर- कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति पनि ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उहाँको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।

दाङको बबई गाउँपालिका–५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ । बबई गाउँपालिका–५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दैहुनुहुन्छ । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उहाँले सत्य सावित गर्नुभएको छ ।

रिमबहादुर सानोमा विद्यालय जान पाउनु भएन । विद्यालय जाने उमेरमा उहाँलाई घरको कामले फुर्सद भएन । उहाँले विद्यालयको अनुभूति गर्न पाउनु भएन । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहनुभएको छ । “मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुप-यो”, उहाँले भन्नुभयो, “बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउनुहुन्छ । “अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन”, उहाँले विगत सुनाउनुभयो । रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना हुनुभएको हो । त्यसयता उहाँ नियमितरुपमा विद्यालय गइरहनुभएको छ । उहाँले बिहान र बेलुकाको समयमा घरको काम भ्याउनुहुन्छ । उहाँले दिउँसोको समयको सदुपयोग गरिरहनुभएको छ ।

घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु, रिमबहादुरले भन्नुभयो, “दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।आर्थिक अवस्था कमजोर भएकै कारण उहाँ रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उहाँ बताउनुहुन्छ । रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । “उमेरले पढ्न छेक्दो रहेनछ”, रिमबहादुरले भन्नुभयो, “त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी हुनुहन्छ । श्रीमान्को पढ्ने इच्छामा सहयोग गर्ने उहाँले बताउनुभयो । “पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु, लालमतीले भन्नुभयो । श्रीमान् विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उहाँको भनाइ छ ।

रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो–हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो । यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ, उहाँले भन्नुभयो । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउनुहुन्छ । अहिले विस्तारै सबै बानी परेका छन् । रिमबहादुर नातामा दाइ पर्नुहुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो, प्रधानाध्यापक खत्रीले भन्नुभयो, अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu