Connect with us
Kapilvast Forest

दुबईमा बसेर मेनपावर सञ्चालन: दुबई पुलिसमा जागिर लगाइदिने भन्दै ठगीधन्दा

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

तनँहुका सूर्यबहादुर अधिकारीले १७ वर्ष नेपाली सेनाको जागिर खाए । २०७४ सालमा अवकाश पाएपछि उनी घरमै बसिरहेका थिए । गत वर्ष दुबईमा सेक्युरिटी गार्डको लागि उनलाई प्रस्ताव आयो । साथीभाइको सहयोगले उनी दुबईमा मेनपावर व्यवसाय सञ्चालन गर्दै आएका सूर्यप्रकाश गिरीको सम्पर्कमा पुगे । तलब राम्रो पाउने आश्वासनपछि उनी थप आकर्षित भए ।

दुबईमा रहेका गिरीले काठमाडौंमा रहेकी तबिता गुरूङको नाममा बैंकमा पैसा जम्मा गर्न लगाए । सूर्यबहादुरले डेढ लाख रूपैयाँ तबिताको नाममा जम्मा गरिदिए । उनीसँगै एक अर्का व्यक्तिले दुई लाख रुपैयाँ तबिताको नाममा पैसा जम्मा गरिदिए । तर, उनीहरू दुबई जानु त कता हो आफूले दिएको पैसासमेत फिर्ता पाएका छैनन् । पैसा फिर्ता माग्दा गिरीले धम्की दिने गरेको उनीहरुको भनाइ छ ।

सूर्यबहादुरका अनुसार गिरीले उनलाई धम्कीसहित भने, म दुबईमा छु, मलाई कसले के गर्न सक्छ ? तेरो पैसा दिन त दिन्छु, तर अहिले होइन, पाँच वर्षपछि ।यतिमात्र नभएर उनले अनावश्यक गाली समेत दिने गरेको सूर्यबहादुरको भनाइ छ ।

भिजिट भिसामा दुबई बोलाएर काम लगाइदिने भन्दै गिरीले सूर्यबहादुरसँग मात्र नभएर धेरै नेपालीसँग ठगी गर्ने गरेको पाइएको छ । गिरीबाट त्यसरी ठगिएकाहरु अहिले सूर्यबहादुरको सम्पर्कमा आएका छन् । उनीहरु सबै जनाले वैदेशिक रोजगार विभागमा गिरीविरुद्ध मुद्दा हाल्ने तयारी गरेका छन् ।

दुबईमा बसेर नेपालमा प्रतिनिधिमार्फत ठगी गर्दै आएका अर्का व्यक्ति हुन्, बर्दियाका २६ वर्षीय योगेश परियार । उनले नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका भूतपूर्व, भगौडा तथा पेन्सन खाइरहेका व्यक्तिलाई दुबईमा भिजिट भिसामा बोलाउने गरेको पाइएको हो । उनले दुबईमा दुबई पुलिस, रोयल गार्ड, एडी पुलिस लगायतमा जागिर लगाइदिने र महिनाको लाखौं कमाउन सकिने भन्दै लैजाने गरेको सूर्यबहादुरले बताए ।

योगेशले सूर्यबहादुरलाई मासिक ४ हजार दिनार तलब हुने र त्यसका लागि ५ लाख रूपैयाँ खर्च लाग्ने भन्दै दुबई लैजान खोजे । त्यसका लागि उनले सिधै गिरीको नेपालस्थित खातामा ५ लाख हालिदिए । उनीसँगै उनका साथी राजकुमार मोक्तानले पनि ५÷५ लाखका दरले उनको खातामा जम्मा गरिदिए ।

?

पाँच लाख पैसा दिएपछि टिकट र भिसा आउँछ भन्यो । हामीले पैसा जम्मा गरिदियौं । हाम्रो टिकट ३ जुन २०२२ को थियो । तर, एयसपोर्टबाटै फर्काइदियो,सूर्यबहादुरले रातोपाटीसँग भने । उनले यसरी कयौं नेपालीलाई फसाउँदै आएको र उनलाई राज्यले कारवाही गर्न नसकेको सूर्यबहादुरको गुनासो छ । योगेश, उनकी पत्नी र आमासमेत यो धन्दामा रहेको सूर्यबहादुरको भनाइ छ ।

‘छोरा बुहारीले दुबईबाट नेपालीलाई राम्रो काम छ, भिजिट भिसामा आउनुहोस्, भन्ने । अनि नेपालमा बसेर आमाको खातामा पैसा हाल्न लगाउने गर्दा रहेछन्,’ सूर्यबहादुरले भने । उनले भिजिट भिसामा दुबई बोलाउनेको नक्कली भिसा र टिकट पनि नक्कली नै बनाउने गरेका छन् । भिसा र टिकट नै नक्कली हुँदा सूर्यबहादुर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएका थिए ।

उनीमात्र नभएर दिलमाया रानाभाटले पनि तबिता गुरूङको नाममा एक लाख ५० हजार पैसा जम्मा गरिन् । तर, उनी न दुबई जान पाएकी छन् न त उनको पैसा नै फिर्ता दिएको छ ।

दिपकचन्द्र अधिकारी, गोपी सुनार, कमल कार्की, प्रेमराज सिग्देल, राजकुमार मुक्तान लगायतका १४ जनाबाट उनले यसरी नै लाखौं रुपैयाँ उठाएका थिए ।

?

कतिपय दुबईमै अलपत्र

गिरीले भिजिट भिसामा लगेका कतिपय नेपालीलाई दुबईमै अलपत्र परेका छन् । तनहुँका ज्ञानेन्द्र खत्रीका अनुसार भिजिट भिसामा दुबई लगेका धेरै नेपालीलाई गिरीले उतै अलपत्र पारेका हुन् ।
उनीहरुलाई न काम दिएको छ, न नेपाल फर्काउँछ । दुबई पुगेकाहरुको बिजोग बनाएको छ,खत्रीले भने ।

दुबईमा बसेर गिरीसँगै संगिता भुजेल नाम गरेकी महिला समेत ठगी कार्यमा संलग्न रहेको खत्रीको भनाइ छ । ‘दुवै जना विगत लामो समयदेखि दुबईमा बसेर ठगी गर्दै आएका हुन् । नेपालमा तबिताको नाममा पैसा हाल्न लगाउने अनि भिजिट भिसामा लैजाने भनेर ठगी गरिरहेका छन्, खत्रीले भने ।

वैदेशिक रोजगारीमा पठाउने बहानामा ठगीको धन्दा बढ्दो

वैदेशिक रोजगारीमा पठाउने बहानामा नेपालमै बसेर ठगी गरेका कतिपय घटना छन् । जुन दिनप्रतिदिन बढ्दो क्रममा छन् । तर, विदेशमा बसेर नेपालमा ठगी गर्नेको संख्या पनि उत्तिकै छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार जेठ मसान्तसम्ममा एक हजार १८१ ठगीका उजुरी दर्ता भएका छन् । जसमा ५८ करोड ८३ लाख ३९ हजार ५४८ रुपैयाँ दाबी गरिएको छ । ३०९ उजुरीमा मिलापत्र गरिएको छ भने ७२ मुद्दा अदालतमा दर्ता गरिएको विभागले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लगायतका प्रहरी ईकाईमा वैदेशिक रोजगारीको सिलसिलामा ठगी भएका तर वैदेशिक रोजगार ठगी गरेको प्रमाणित नभएका उजुरीलाई ठगीको उजुरी अनुसार अनुसन्धान तथा कारवाही भइरहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu