Connect with us
Kapilvast Forest

दाङमा कतै चैते धान भित्र्याउन: कतै बर्खे धान रोप्न चटारो

२०७९, २४ असार शुक्रबारमा प्रकाशित

कोही खेतमा धमाधम धान काट्न तल्लीन छन्। कोही धानका भारी पिँठ्यूमा बोकेर घरतर्फ उकालो उक्लिरहेका छन्। मध्य असार ढल्किसके पनि बंगलाचुली गाउँपालिकाका किसानलाई अचेल चैत धान भित्र्याउन निकै चटारो छ। कतै ब्याड राख्दै गरेको दृष्य त कतै मचामच धान काट्ने र भित्र्याउने चटारो।

रोल्पासँग सीमाना जोडिएको दाङको पहाडी भू-भाग बंगलाचुली गाउँपालिका वडा नं. ४ डाबरका किसानलाई चैते धान भित्र्याउने निकै चटारो छ।
मध्य बर्खा भइसक्यो आकाशको भर छैन जतिखेर पनि पानी दर्किन सक्छ,किसान रत्न थापाले भने, ‘खेतमा पाकेको धान समयमै भित्र्याउन नसक्ने हो भने धान सबै खेतमै नोक्सान हुन्छ।

गत चैतमा ब्याड राखेर वैशाखमा थापाले झन्डै ६ कठ्ठा क्षेत्रफलमा चैते धान रोपेका थिए।
तीन महिना पुग्दा नपुग्दै धान खेतमा पहेंलपुर भइसकेको छ। एकातिर समयमै धान नकाटे पानीले नोक्सान गर्छ भने अर्कोतर्फ छिटो धान भित्र्याएर फेरि बर्खे धान रोप्नु छ।

बर्खे धान खेतीका लागि थापाले एउटा गाह्रा ब्याड पनि राखिसकेका छन्।अब यो खेतको चैते धान भित्र्याउना साथ खेत तयार पार्नुपर्छ,थापाले भने, लगत्तै साउनमा बर्खे धान रोप्ने क्रम सुरू हुन्छ र त्यसका लागि लगभग ब्याड तयार भइसकेको छ।

वर्षाको डरले धमाधम धाम काटेर तत्कालै बोकेर घर लैजाने गरेको थापाले बताए।थापाको परिवारले घरमा धान पुर्‍याएर पछि रात दिन नभनी धान झाट्ने (चुट्ने) गर्छन्।बाहिर काटेको धाना राखे पानीले भिजाउने डर हुन्छ, थापाले भने, सबै धानको नलभित्र नअटाउने हुँदा धमाधम झाटेर पराल अलग गर्ने गर्छौं।

थापाका अनुसार यो वर्ष पटक/ पटक वर्षा भएका कारण चैत धान सप्रिएको हुँदा उनी मख्ख छन्।थापालगायत जाँगर चल्ने यहाँका किसानले वर्षमा दुई पटक मुख्य खाद्यान्न बाली मानिने धान बाली लगाउने गर्छन्। बंगलाचुली-४ तल्लो गहतेराका रेश्मा गिरीको परिवारलाई पनि यतिखेर चैत धान भित्र्याउन निकै चटारो छ।उनले केही मानिसहरू लगाएर भए पनि धमाधम धान काटिरहेको बताइन्।

अब हामीजस्ता किसानले यस्तो बेला घाम,पानी र रात-दिन नभनी काम गर्नुपर्छ, उनले भनिन्, ‘पाकेको बाली समयमै भित्र्याउन नसक्ने हो भने बर्बादै हुन्छ र हाम्रो सबै मेहनत खेर गइजान्छ।गिरीका अनुसार पानी परिरहने समय भएका कारण चैते धान भित्र्याउन निकै होसियार बन्नुपर्ने हुन्छ।

काटेको धान खेतमै छोड्यो भने भिजेर काम नलाग्ने हुन्छ, उनले भनिन्, आकाश हेरेर बिदो भएको समयमा हामी धमाधम धान काट्ने र ओसार्नेजस्ता काम गर्ने गर्छौं।गिरीको खेतमा पनि बर्षे धान खेतीको लागि ब्याड लगभग तयारी अवस्थामा छ।

चैत धान काटेर सक्ना साथ फेरि खेत जोत्ने र वर्षे धान रोप्ने क्रम सुरू हुने गिरीले बताइन्। वर्षे धान जत्तिकै चैते धान नफल्ने भए पनि जमिन बाँझै छोड्नुभन्दा दुई पटक धान बालीको उत्पादन लिनुसक्ने हो भने किसानले धेरै फाइदा लिन सक्ने उनले बताइन्।

चैते धानलाई बर्खे धानजस्तो प्रशस्त पानी नभए पनि हुने तर, सिँचाइको सुविधा भए झनै राम्रो उत्पादन लिन सकिने उनले अनुभव साटिन्।
बीच-बीचमा पानी परिरह्यो र सिँचाइको सुविधा भए त गज्जब नै भइगयो नि,गिरीले भनिन्,‘खेत त्यसै छोड्नु राम्रो होइन। किसानले त जाँगर चलाउनुपर्‍यो नि।

कृषि ज्ञान केन्द्र दाङका अनुसार दाङ जिल्लामा दुई हजार पाँच सयभन्दा बढी हेक्टर जमिनमा चैते धान खेती हुने गरेको छ।केन्द्रका अनुसार दाङ जिल्लामा सिँचाइ सुविधा हुने हो भने बर्खे धान खेती हुने अधिकांश ठाउँमा चैते धान खेती सहजै गर्न सकिने अवस्था छ।तर, जिल्लाका अधिकांश किसान बर्खे धान बालीपछि खेत त्यसै बाझै छोड्ने गर्छन्। त्यसको प्रमुख कारण भने सिँचाइको उचित प्रबन्ध नहुनुलाई मान्ने गरिएको छ।

केही वर्ष पहिलेसम्म चैते धान रोप्ने किसानलाई सरकारले प्रोत्साहन स्वरूप धानको बिउ निःशुल्क रूपमा प्रदान गर्दथ्यो।तर, पछिल्लो समय बिउ पनि दिन छोडिएको छ। जसले गर्दा किसान चैत धान खेतीमा उत्साहका साथ लाग्न नसकेका ज्ञान केन्द्रका प्राविधिकले बताए।जिल्लामा चैत धान उत्पादन हुने ठाँउ देउखुरी उपत्यका पनि हो।राप्ती नदीको तटीय क्षेत्रका विभिन्न ठाउँमा चैते धान हुने गर्छ।

रोल्पासँग सीमाना जोडिएको पहाडी भू-भाग बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४ नम्बर वडाका र घोराही उपमहानगरपालिका वडा नं. १ को सुकाखोलामा पनि यो वर्ष किसानले धान खेती गरेका छन्।दाङमा ३९ हजार ९ सय ५ हेक्टर खेती योग्य जमिन छ। त्यसमध्ये ३५ हजार हेक्टर बढी जमिनमा धान खेती हुने गरेको छ।

कृषि ज्ञान केन्द्रले उपलब्ध गराएको तथ्यांक अनुसार दाङको देउखुरी उपत्यका क्षेत्रमा करिब ७१ प्रतिशत धान रोपाइँ भइसकेको छ।पूरै पश्चिम दाङसहित तुलसीपुर–घोराहीलगायत दाङ उपत्यकामा करिब ५० प्रतिशतको हाराहारीमा रोपाइँ बर्खे धानको रोपाइँ सकिएको छ।पछिल्लो समय कृषिमा यान्त्रिकरण बढेको छ। त्यसले खेतीमा सहजता मात्रै थपेको छैन युवा पुस्तालाई पनि आकर्षित गरेको छ। तर, रासायनिक मलको सहज आपूर्ति नहुँदा किसान मलबिना नै धान रोप्न बाध्य पारिएका छन्।अभावको पूर्ति गर्न कतिपय किसानले भारतीय बजारबाट कमसल खालको रासायनिक मल चर्को मूल्य तिरेर ल्याउनु परेको गुनासो गर्ने गरेका छन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu