Connect with us
Kapilvast Forest

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल ?

२०७९, २५ असार शनिबारमा प्रकाशित

काठमाडौं- चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् ।

जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तर त्यसको पुष्टि गर्दै काठमाडौंस्थित चिनियाँ राजदूतावास स्रोतले भन्यो, जिम्मेवारी सम्हालेपछि भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो मुलुकमा भ्रमण, भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने चलन छ । नेपाल त्यो प्रक्रियाको पहिलो देश भएको छ । यसको मतलब चीनले नेपाललाई प्राथमिकतामा राखेको छ भन्ने सन्देश दिन खोजिएको पनि हो ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार पनि चार दिने नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्ने निश्चित भएको छ । साथै, सभामुख अग्नी प्रसाद सापकोटासँग पनि उनको भेटघाट हुनसक्ने बताइएको छ भने अन्य भेटका कार्यक्रम अझैं तय भइसकेका छैनन् ।

विदेश विभाग प्रमुख जियानचाओले नेपालका प्रमुख राजनीतिक दलहरूको कुरा सुन्ने भनिएको छ । ‘सबै पार्टीसँग जुन प्रकारको सम्बन्ध छ त्यसै अनुसार विचार आदान प्रदान गर्न आउन खोजेको भन्ने भएपछि सोही अनुसार तयारी भइरहेको हो,’ दूताबास स्रोत भन्छ, तर, वाम गठबन्धनलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ ।

स्रोतका अनुसार आगामी संघीय निर्वाचनमा मुलुकका दुई ठूला कम्युनिस्ट पार्टीबीच सम्भव भए एकता र नभए वाम गठबन्धन बनाएर जाने वातावरण बनाउनु पनि उनको भ्रमणको उद्देश्य हो । ‘चिनियाँ चासो आगामी निर्वाचनमा दुई कम्युनिस्ट पार्टीबीच वाम गठबन्धन बनाएर जाउन भन्ने हो । त्यसका लागि पहिले पनि केही चरणमा अनौपचारिक संवादहरू भइसकेका छन्,’ स्रोतले भन्यो, ‘जियानचाओले नेपाल भ्रमणका क्रममा त्यसको वातावरण भए नभएको बुझ्ने हुनसक्छ ।

चिनियाँ पक्षले नेपालमा अमेरिकाको प्रभाव बढेको मानेको छ । पछिल्लो पटक अमेरिकी परियोजना एमसीसीबारे नेपालमा चर्को बहस हुँदा चिनियाँ पक्ष आरोप प्रत्यारोपमै उत्रिएको थियो । पछिल्लो पटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई अस्वीकार गर्ने निर्णय नेपाल सरकारले गर्दा पनि चीनले स्वागत गरेको थियो । अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण तयारी चलिरहेको छ ।

त्यसअघि सीपीसीका विदेश विभाग प्रमुख नेपाल आउन लागेका हुन् । चीनका लागि पूर्वराजदूत लिलामणि पौडेल यो भ्रमणलाई चीनले नेपाललाई दिएको प्राथमिकताका रूपमा बुझ्नुपर्ने बताउँछन् ।

यो भ्रमण चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिन्छ भन्ने संकेत हो । नेपालले पनि त्यही हिसाबले हाम्रो चीनसँगको सम्बन्धलाई महत्वपूर्ण सम्बन्धका रूपमा प्राथमिक्तामा राख्नुपर्छ,यसलाई परराष्ट्र मामलाका जानकार पौडेलले अनलाइनखबरसँग भने, हाम्रो छिमेकी हो, लामो समयदेखि सहयोग गर्दै आइरहेको छ । हामीसँग लामो सीमाना जोडिएको छ । ऐतिहासिक सांस्कृतिक सम्बन्ध छ । अहिले पनि सोही हिसाबले प्राथमिकता पनि दिन्छ भनेर भ्रमणमार्फत सन्देश दिन खोजेको देखिन्छ ।

भ्रमणलाई वाम गठबन्धन वा पार्टी एकताका लागि हुन लागेको भनेर बुझ्न जरुरी नरहेको समेत उनले बताए । ‘चिनियाँहरूले पटकपटक भनेका छन्, हामी छिमेकी मुलुकको आन्तरिक मामलामा हस्तक्षेप गर्दैनौँ । नेपालको शान्ति, स्थिरता, समृद्धि र विकास होस् भन्ने चाहान्छौँ, पूर्वराजदूत पौडेल भन्छन्, त्यसैले उहाँको भ्रमणलाई पार्टीसँग जोडेर हेर्न जरुरी छैन ।

जियानचाओ पछिल्लो एक महिनायता नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग निरन्तर सम्पर्कमा रहँदै आएका छन् । जिम्मेवारी सम्हालेको केही समयपछि नै उनले ९ असारमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग र भोलिपल्ट एमाले अध्यक्ष ओलीसँग भिडियो संवाद गरेका थिए । साथै, त्यसको एक हप्तापछि १७ असारमा परराष्ट्रमन्त्री समेत रहेका कांग्रेस नेता नारायण खड्कासँग भिडिओ वार्ता गरेका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu