Connect with us
Kapilvast Forest

जहाँ विद्यार्थीलाई तार्न खोलामा हेलिन्छन् शिक्षक

२०७९, २ श्रावण सोमबारमा प्रकाशित

बाढीले पुलको एक भाग बगाएपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ को धर्मोदय माध्यमिक विद्यालय बर्खे बिदा हुनुभन्दा अघि नै बन्द भयो।

जेठ अन्तिम साता परेको पानीले यहाँको खारखोलामा ठूलो बाढी आयो। खोलाले धार परिवर्तन गर्‍यो, खेत कटान गरिदियो, पुल बगायो।जेठ २६ र असार ९, १० गते खारखोलामा आएको बाढीले पुललाई क्षति पुर्‍याउँदा स्थानीय बासिन्दाका साथै विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या पारेको थियो।

पालुङटार नगरपालिकाले केही वर्ष अघि तीन पिल्लर राखेर ढलान गरी बनाएको खारखोलाको पुलको एकापट्टी भाग बाढीले बगाएको छ।
धर्मोदय मावि नजिकै रहेको खारखोलाको उक्त पुलमा क्षति पुगेपछि विद्यार्थीलाई शिक्षकहरूले नै बोकेर र हात समाएर तार्नुपरेको थियो।

‘खारखोलामा यसपालि ठूलो बाढी आयो। धार पनि परिवर्तन गर्‍यो, खेत तथा पुल कटान गरेको छ,’ विद्यालयका प्रधानाध्यापक कृष्ण न्यौपानेले सेतोपाटीसँग भने, ‘नजिकै काठको फड्के छ तर मक्किइसक्यो, जीर्ण र जोखिमपूर्ण छ।’

खारखोलाले पुलमा क्षति पुर्‍याएपछि एक साता शिक्षकहरूले विद्यार्थीलाई बिहान र बेलुकी खोला तार्ने काम गरेका थिए। असार १७ गतेदेखि भने विद्यालय बन्द छ। नगरपालिकाले असार १९ गतेदेखि बर्खे बिदा लागू गरे पनि खोला बढेपछि तर्न जोखिमपूर्ण भएको भन्दै विद्यालयले दुई दिन अघि नै विद्यालय बन्द गरेको थियो।

अहिले बर्खे बिदा छ, बिदामा पनि ‘कोचिङ क्लास’ चलाउनुपर्ने तर खोला तर्न नसक्दा विद्यार्थी पढ्न आउन सक्दैनन्,प्रअ न्यौपानेले भने, बाढीले पुल कटान गरेकोले विद्यालय आउजाउ गर्ने वैकल्पिक बाटो छैन।

यो विद्यालयमा १५ वटा टोलका दुई सय ६० विद्यार्थी पढ्छन्। अहिले कक्षा ११ मा विद्यार्थी छैनन्।
विद्यालयमा एक कार्यालय सहयोगी र १६ जना शिक्षक छन्।

खोला तरेर दिनहुँ विद्यार्थी आउजाउ गर्न जोखिमपूर्ण हुने भएपछि कक्षा १२ को पठनपाठन पनि बन्द गरिएको छ। यो बर्खामा अस्थायी पुल भने पनि बन्छ होला भनेर कक्षा १२ का विद्यार्थीलाई पनि बिदा दिएका हौं,उनले भने।

विद्यालय बन्द हुनुअघि शिक्षकहरू करिब एक साता बिहान ९ बजेदेखि नै खारखोलामा लाइन लागेर बस्ने गरेका थिए। साना विद्यार्थीलाई बोकेर र ठूलालाई हात समाएर खोला तारियो उनले भने पुल नभएपछि विद्यार्थी जतासुकैबाट खोलामा पसिदिने गर्न थाले। नियन्त्रण पनि गर्न गाह्रो हुँदै गयो। विद्यार्थी बगाउला भन्ने डर भयो।

खोला तर्ने क्रममा विद्यार्थी र शिक्षकका पोशाक भिज्नेजस्ता समस्या पनि देखिए। ‘कहिलेकाहीँ विद्यार्थी निथुक्क भिज्थे,’ प्रअ न्यौपाने भन्छन्। अब विद्यालय साउन १७ गतेपछि खुल्छ। तर अहिलेसम्म यहाँ पुल मर्मत गर्ने वा अस्थायी पुल बनाउनेबारे कुनै तयारी भएको छैन।

साउन १७ पछि पनि पुल बनेन भने फेरि शिक्षक खोलामा लाइन लागेर बस्दै विद्यार्थी तार्नुपर्छ उनले भने पानी परिरह्यो भने विद्यार्थी विद्यालय आउजाउमा झनै समस्या पर्ने देख्छु।

विद्यालय र स्थानीय बासिन्दाले परिवर्तन भएको खोलाको धार पुरानै अवस्थामा फर्काउन तथा अस्थायी पुल बनाउन पहल गरेका थिए। वडा कार्यालय, नगरपालिका कार्यालय, गण्डकी प्रदेश सरकार लगायतलाई भनिसकिएको प्रअ न्यौपाने बताउँछन्।

‘विद्यालय त अहिले बन्द छ तर स्थानीय आउजाउ गर्न पनि जोखिम यथावत् नै छ,’ उनले भने। बाढीले पुल तथा खेत कटान गरेपछि यहाँको अवस्था अवलोकन गर्न प्रदेश सांसद हरिशरण आचार्य पनि पुगेका थिए। उनले बाढीले कटान गरेका खेत तथा पुल मर्मत गर्न पहल गर्ने बताएका थिए।

गण्डकी प्रदेश सभाका अर्का सांसद प्रकाशचन्द्र दवाडीले पनि पुल मर्मत गर्न प्रदेश सरकारलाई ध्यानाकर्षण गराएका थिए। तर अहिलेसम्म यहाँ पुल मर्मत गर्ने तथा अस्थायी संरचना बनाउनेबारे कुनै ठोस योजना बनिसकेको छैन।

पालुङटार ९ कै चुक्तिखोलामा आएको बाढीले पनि खेत तथा पुल कटान गरेको छ। खोलामा पानीको बहाव बढेपछि त्रिवेणी माविका करिब १५० जना विद्यार्थी जोखिमसाथ विद्यालय जानु परेको थियो।

चुक्तिखोलाले ढुंगेटारी पुलमा क्षति पुर्‍याउँदा मदनेडाँडा माविका विद्यार्थी विद्यालय आउजाउमा समस्यामा थिए। शिक्षक र अभिभावकले विद्यार्थीका हात समाएर खोला तार्नुपर्ने अवस्था थियो। अहिले यी विद्यालयमा पनि बर्खे बिदा छ।

पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले बाढीले कटान गरेका पुलहरू छिट्टै मर्मत गरिने बताए। म हिजो पनि ती ठाउँ हेरेर आएको छु। खोलाले पुल कटान गरेको छ तर पुल यथावत् नै छ। केही थान जाली भरेर खोलालाई पुरानै अवस्थामा फर्काएपछि त्यहाँ विद्यार्थीहरू सहज ढंगले हिड्न सक्छन्, उनले भने, विद्यालय खुल्नुअघि पुल मर्मत कार्य सकिन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu