Connect with us
Kapilvast Forest

धुमधामसँग मनाइयो पञ्चदान

२०७९, २१ श्रावण शनिबारमा प्रकाशित

ललितपुर- बौद्धमार्गीहरूले यल (पाटन) पञ्चदान वा पञ्जरो शुक्रबार धुमधामसँग मनाएका छन् । श्रावण शुक्ल अष्टमीका दिन भिक्षादान दिएर यो पर्व मनाएका छन्। नेपाल संवत् ७९९ देखि सुरु भएको यस पर्व बौद्धमार्गी नेवारमा यो चाड उदास उदाय्)शाक्य, बज्राचार्यहरूमा प्रख्यात छ ।

बज्राचार्य र शाक्यमा व्रतबन्ध र चूडाकर्म गरिसकेका सबैले कम्तीमा पनि सात घरबाट भिक्षा लिनुपर्छ भन्ने मान्यता रहिआएको संस्कृतिविद् डा. चुन्डा बज्राचार्यले जानकारी दिनुभयो। उहाँले प्राचीनकालदेखि नै काठमाडौँ विशेष गरी बौद्ध तथा हिन्दुधर्म र संस्कृतिका लागि उर्वर रहिआएको प्रस्ट पार्नुभयो ।

लिच्छविकालका अभिलेखमा बौद्धधर्म र यससँग सम्बन्धित जात्रा, पर्व र दान परम्पराको प्रसङ्ग पाइने बताउनुभयो। डा.बज्राचार्य भन्नुहुन्छ, नेपालको धर्म र संस्कृति वैदिक ग्रन्थ र लौकिक अनुश्रुतिमा आधारित छन्।

नेवार लोकपरम्परामा प्रचलित आख्यानमा पञ्चदानको पनि वर्णन पाइन्छ। पञ्चदान पर्वका मुख्य देवता दीपंकरलाई मानिन्छ । बौद्धमार्गी नेवारले पञ्चदान महिमा मनन गर्दै दीपंकरको भव्य पूजा गर्छन् ।

नेपाल भाषामा पञ्जराँ भनिने पञ्चदानको अर्थ पाँचवटा वस्तुको दान दिने नभई पुण्यदान अर्थात् पुण्यजा वा पिण्डजा भन्ने बुझिने डा. बज्राचार्यले बताउनुभयो।दिपंकरले पाटनमा दान लिएको सम्झनामा मनाइने यस पर्वमा पञ्चदानका मुख्य वस्तुहरू धान, पैसा, नुन, अन्न मिठाई आदि दिने गर्छ।

पञ्जराको मुख्य अर्थ खीर भएकाले यस दिन नेवार जातिले खीर पकाएर पिण्डपात्रमा राखी बुद्धलाई चढाउने र सबैलाई खुवाउने चलन छ। यसरी पञ्जराँ मनाउने दिनको अघिल्लो दिन अर्थात् द्वादशीका दिन बौद्धमार्गीले आफ्नो घर, छिमेक वा आफ्नो जिम्मामा रहेका भगवान्, सुनले लेखेका ग्रन्थहरू, अन्य सम्बन्धित सामग्री वहावहीमा प्रदर्शनका लागि राख्छन् ।

यसमा पञ्चदानमा दिने सामग्री पनि प्रदर्शन गरिन्छ । द्वापरयुगमा दीपङ्कर तथागतले वाराणसीमा भिक्षाटन गरेको दिनको सम्झनामा ललितपुरमा श्रावण शुक्ल अष्टमीका दिनमा पञ्चदान गर्ने परम्परा रहिआएको विश्वास पनि जनमानसमा देखिन्छ।

लिच्छविकालीन अभिलेख्य साक्ष्यअनुसार विभिन्न राजाले बौद्ध विहार र भिक्षु सङ्घहरूलाई सम्यक् दान र नवदान दिएको पाइन्छ। मल्लकालमा आएर बौद्धधर्मले अत्यधिक मात्रामा फुल्ने र फल्ने अवसर पायो।

काठमाडौँ उपत्यकामा यत्रतत्र फैलिएका चैत्य र विहारले यसै तथ्यलाई प्रमाणित गर्छन् । जीवनको सार्थकतालाई कामना गर्दै परलोक प्राप्त गर्ने उद्देश्यले दान गरिन्छ। भक्तपुर, काठमाडौँ, ललितपुर र अन्य स्थानमा फरक–फरक तरिकाले पञ्चदान मनाइने संस्कृतिविद् हरिराम जोशीले बताउनुभयो । भक्तपुरमा पञ्चबुद्ध प्रदर्शनी गरेर, साँखुमा खड्गयोगिनीलाई सहरमा ल्याएर र पनौतीमा नमरा बुद्ध भगवान्को खट जात्रा गरेर मनाइन्छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu